काठमाडौं- नेपालमा बजार, वित्तीय पहुँच र डिजिटल सेवाको विस्तार भए पनि त्यसलाई नयाँ ज्ञान, प्रविधि र उच्च मूल्यका उत्पादनमा बदल्ने क्षमता अझै कमजोर देखिएको छ। विश्व बौद्धिक सम्पत्ति संगठन (डब्ल्यूआईपीओ) को ग्लोबल इनोभेसन इन्डेक्स २०२६ मा नेपाल १३९ अर्थतन्त्रमा १०४औँ स्थानमा छ। अघिल्लो वर्ष नेपाल १०७औँ स्थानमा थियो।
नेपालको कमजोर पक्ष बजारभन्दा बढी अनुसन्धान र व्यवसायसँग जोडिएको नवप्रवर्तन प्रणाली देखिन्छ। डब्ल्यूआईपीओले नवप्रवर्तन मापन गर्दा संस्थागत व्यवस्था, मानव पुँजी तथा अनुसन्धान, पूर्वाधार, बजारको अवस्था, व्यावसायिक क्षमता, ज्ञान तथा प्रविधिको उत्पादन र सिर्जनात्मक उत्पादनलाई आधार बनाउँछ।
नेपालको बजार पक्ष भने तुलनात्मक रूपमा बलियो छ। डब्ल्यूआईपीओको २०२५ को विस्तृत प्रोफाइलमा बजारको परिपक्वता ६१औँ स्थानमा थियो, जबकि मानव पुँजी तथा अनुसन्धान १२७औँ र व्यावसायिक क्षमता १२४औँ स्थानमा थियो। ज्ञान तथा प्रविधिको उत्पादन ९८औँ स्थानमा थियो। यसले नेपालमा बजार र वित्तीय पहुँच विस्तार भए पनि त्यसलाई अनुसन्धान तथा प्रविधि विकाससँग जोड्ने क्षमता कमजोर रहेको देखाउँछ।
डब्ल्यूआईपीओको पछिल्लो विश्लेषणले पनि नवप्रवर्तनमा अगाडि बढेका अर्थतन्त्रमा बजार वा उत्पादनको विस्तार मात्र नभइ अनुसन्धान, व्यावसायिक अनुसन्धान तथा विकास, बौद्धिक सम्पत्ति र विश्वविद्यालय तथा उद्योगबीचको सम्बन्ध महत्वपूर्ण रहेको देखाएको छ। भारत, भियतनाम, इन्डोनेसिया, फिलिपिन्स र मोरक्कोजस्ता अर्थतन्त्रले बजार, निर्यात, डिजिटल सेवा र उद्यममा बनाएका क्षमतालाई अनुसन्धान र प्रविधि उत्पादनसँग जोड्दै लगेका छन्।
नेपालमा अनुसन्धानमा हुने लगानीको तथ्यांक नै कमजोर छ। विश्व बैंकमा उपलब्ध युनेस्कोको तथ्यांकअनुसार नेपालले अनुसन्धान तथा विकासमा कुल गार्हस्थ्य उत्पादनको ०.३० प्रतिशत खर्च गरेको पछिल्लो तथ्यांक सन् २०१० को हो। त्यसपछिको व्यवस्थित तथ्यांक नै नभएको बताइएको छ।
डब्ल्यूआईपीओले नवप्रवर्तन सूचकमा तथ्यांकको उपलब्धता र गुणस्तरमा प्रश्न उठाएको छ। २०२६ को सूचकांकका ८० प्रतिशतभन्दा बढी तथ्यांक २०२४ देखि २०२६ बीचका भए पनि देशअनुसार केही सूचकमा पुराना तथ्यांक प्रयोग भएका छन्।
अनुसन्धानको कमजोर आधार पेटेन्ट र ज्ञान उत्पादनमा पनि देखिन्छ। डब्ल्यूआईपीओको नेपाल प्रोफाइलमा सन् २०१७ मा नेपालबाट उत्पत्तिका पेटेन्टको संख्या २० मात्रै देखिन्छ। सो सूचकमा नेपाल ९८औँ स्थानमा थियो। यही प्रोफाइलमा वैज्ञानिक तथा प्राविधिक लेखको सूचक भने ५५औँ स्थानमा थियो। यसले नेपालमा ज्ञान उत्पादन हुँदै नभएको होइन, तर त्यसलाई पेटेन्ट, प्रविधि र व्यावसायिक उत्पादनमा रूपान्तरण गर्ने क्षमता कमजोर रहेको संकेत गर्छ।
विश्वविद्यालय र उद्योगबीचको सम्बन्ध पनि यही समस्याको अर्को पाटो हो। डब्ल्यूआईपीओको २०२५ प्रोफाइलमा विश्वविद्यालय-उद्योग अनुसन्धान तथा विकास सहकार्यको सूचकमा नेपाल १०५औँ स्थानमा थियो। सार्वजनिक अनुसन्धान र उद्योगबीचको सहप्रकाशनको सूचक भने ५४औँ स्थानमा थियो। यसको अर्थ अनुसन्धान र उद्योगबीच केही सम्बन्ध भए पनि त्यसलाई व्यापक व्यावसायिक नवप्रवर्तनमा बदल्ने संरचना पर्याप्त बलियो छैन।
यता नेपालको सूचना प्रविधि सेवा निर्यातले भने फरक तस्वीर देखाएको छ। उद्योगको अनुमानअनुसार सन् २०२५ मा नेपालको सूचना प्रविधि सेवा निर्यात १ अर्ब अमेरिकी डलर नाघेको थियो। तर यो सरकारी रूपमा पूर्ण अभिलेख भएको तथ्यांक होइन। नेपाल सफ्टवेयर तथा आईटी सेवा संघले उक्त रकमलाई उद्योगको अनुमान भनेको छ र नेपाल राष्ट्र बैंकको प्रणालीमा सूचना प्रविधि सेवाबाट आएको रकम र व्यक्तिगत विप्रेषण छुट्याउन कठिनाइ रहेको जनाएको छ।
यसबीच डिजिटल वित्तीय पहुँच पनि विस्तार भइरहेको छ। विश्व बैंकको २०२४ को वित्तीय पहुँचसम्बन्धी तथ्यांकले नेपालमा डिजिटल भुक्तानीको प्रयोग बढेको देखाउँछ। विश्व बैंकका अनुसार आर्थिक वर्ष २०२५ सम्म विद्युतीय भुक्तानी कारोबारको संख्या १५ करोड ९४ लाख पुगेको थियो, जुन आर्थिक वर्ष २०२० मा करिब २ करोड ४९ लाख थियो।
स्टार्टप क्षेत्रमा पनि यही अन्तर देखिन्छ। नेपाल राष्ट्र बैंकको कोशी प्रदेशसम्बन्धी अध्ययनमा १६० स्टार्टप उद्यमको विश्लेषण गर्दा ५४ प्रतिशतले वस्तु तथा सेवामा, ४१ प्रतिशतले उत्पादन प्रक्रियामा र ५ प्रतिशतले वितरणमा नवप्रवर्तन गरेको बताएका थिए। यी उद्यममा कुल २ अर्ब ५६ करोड रुपैयाँ लगानी भएको थियो। तर अध्ययनमा ४०.६ प्रतिशत उद्यमले मात्रै सरकारी अनुदान वा सुविधा पाएको उल्लेख छ।
नेपालको अहिलेको अवस्था त्यसैले बजार नभएको अर्थतन्त्रको भन्दा बजार र ज्ञान उत्पादनबीचको कमजोर सम्बन्ध भएको अर्थतन्त्रको जस्तो देखिने विश्लेषण गरिएको छ। डब्ल्यूआईपीओको २०२६ को विश्लेषणले नवप्रवर्तनमा अगाडि बढेका अर्थतन्त्रका लागि अनुसन्धान, व्यवसाय, वित्त, सीप, संस्था र बजारबीचको सम्बन्ध बलियो हुनु आवश्यक रहेको देखाएको छ।