काठमाडौं- मलेसियाले विदेशी श्रमिकको भर्ती प्रक्रियालाई नयाँ व्यवस्थामा लैजाँदै पुरानो बायोमेडिकल दर्ताअन्तर्गत रहेका श्रमिकको बाँकी मेडिकल प्रक्रिया ३१ अक्टोबर २०२६ भित्र पूरा गर्न निर्देशन दिएको छ।
मलेसियाको विदेशी श्रमिक व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) सञ्चालन गर्दै आएको बेस्टिनेट एसडीएन बीएचडीले जारी गरेको सूचनाअनुसार पुरानो व्यवस्थाअन्तर्गतका मेडिकल केस संक्रमणकालीन प्रक्रियामार्फत टुंग्याउनुपर्नेछ।
मेडिकल सेन्टरहरूले बाँकी रहेका श्रमिकको पहिचान, बायोमेट्रिक दर्ता, स्वास्थ्य परीक्षण, प्रयोगशाला परीक्षण, पुनः परीक्षण र मेडिकल रेकर्ड सच्याउने काम पूरा गर्नुपर्नेछ।
नयाँ व्यवस्थामा जाँदैमा पुराना मेडिकल रेकर्ड स्वतः रद्द नहुने पनि सूचनामा स्पष्ट गरिएको छ। मेडिकल सेन्टरलाई विद्यमान रेकर्ड तथा कागजात सुरक्षित राख्न र संक्रमणका कारण अनावश्यक रूपमा पुनः दर्ता वा पुनः मेडिकल नगर्न भनिएको छ।
पुनः दर्ता र मेडिकल वा थप शुल्क आवश्यक पर्ने अवस्था आएमा आधिकारिक संक्रमणकालीन निर्देशनअनुसार मात्रै त्यस्तो प्रक्रिया अघि बढाउनुपर्नेछ।
नेपाल सरकारको स्वीकृति भने निर्णायक
मलेसियाले मेडिकल र एफडब्लूसीएमएसको संक्रमण प्रक्रिया अघि बढाए पनि नेपालबाट श्रमिक पठाउने विषयमा नेपाल सरकारको स्वीकृति र कानूनी प्रक्रिया भने यथावत् रहनेछ।
एफडब्लूसीएमएसमा नेपालका सीमित म्यानपावर कम्पनीलाई ‘प्रिन्सिपल’ र ‘सपोर्टिङ’ एजेन्सीका रूपमा राखिएको विषयमा नेपालले असहमति जनाउँदै आएको छ। नेपाल सरकारले २५ मुख्य संस्थाको आबद्धतामाथि छानबिन अघि बढाउनुका साथै २५० संस्थासँग सम्बन्धित नयाँ पूर्वस्वीकृति रोकिएको जनाएको थियो।
पछिल्लो समय नेपालले एफडब्लूसीएमएसमा सूचीकृत नेपाली म्यानपावर कम्पनी हटाउन मलेसियालाई आग्रहसमेत गरेको छ। सीमित कम्पनीमार्फत मात्र श्रमिक भर्ती गर्ने संरचना स्वीकार नगर्ने नेपालको अडान छ। पुराना श्रमिकको मेडिकल प्रक्रिया टुंग्याउने मलेसियाको निर्देशनले मात्र नेपालबाट नयाँ श्रमिक पठाउने बाटो खुल्ने छैन। नयाँ मागपत्र प्रमाणीकरण, पूर्वस्वीकृति र भर्तीका लागि नेपाल सरकारको निर्णय आवश्यक पर्नेछ।