बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

विदेशबाट दसैँमा घर फर्कँदै हुनुहुन्छ? कुन सामान कति ल्याउन पाइन्छ?

बुधबार, असोज २१ २०८३
विदेशबाट दसैँमा घर फर्कँदै हुनुहुन्छ? कुन सामान कति ल्याउन पाइन्छ?

भारतबाट विवाहलगायतका सामाजिक कार्यमा आउने यात्रुले आफ्नो स्वप्रयोजनका लागि ल्याउने गहना आफू फर्कँदा फिर्ता लैजाने सर्तमा भन्सार कार्यालयमा घोषणा गरी ल्याउन सक्नेछ।

काठमाडौं- दसैँका लागि विदेशबाट नेपाल फर्कनेको संख्या बढिरहेको छ। यात्रु बढेसँगै अहिले काठमाडौंलाई आधार बनाएर उडान गर्दै आएका हवाई कम्पनीहरूले पनि उडान संख्या बढाएका छन्।

वैदेशिक रोजगारीमा गएका अथवा विदेशमा बसोबस गर्ने नेपाली चाडपर्व मनाउन स्वदेश फर्किँदा विभिन्न सरसामान ल्याउने गर्छन्। विदेशबाट नेपाल फर्कनेले केही सामान भन्सार छुटमा ल्याउन पाउँछन्। केही सामान भन्सार तिरेर ल्याउन पाउँछन्।

विमानस्थल कार्यालयले मोबाइल तथा ल्यापटपलगायतका इलेक्ट्रोनिक सामान आयातमा कडाइ गरिरहेको छ।

विदेशबाट आउनेको साथमा एकभन्दा बढी (नयाँ वा प्रयोग गरिएको) मोबाइल रहेमा पनि भन्सार तिराइरहेको छ। पुरानोको भन्सार तिरेर नयाँको भन्सार नतिरी ल्याउने दिने व्यवस्था पनि छ। यसको अर्थ नेपाल आउँदा प्रयोगमा रहेको वा नयाँ जुन भएपनि एकभन्दा बढी मोबाइल साथमा रहेको अवस्थामा कर तिर्नुपर्ने हुन्छ।

विदेशबाट फर्केका नेपाली यात्रुका लागि महसुल छुट हुने वस्तु

- आफूले प्रयोग गरेको लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना वस्तु

- औषधि उपचार गराइ फर्केका बिरामीले ल्याएका औषधि

- शारीरिकरूपमा अशक्त यात्रुले सहाराको रूपमा प्रयोग गरेका वस्तु

सुनको हकमा

- पहिलो ५० ग्रामसम्म प्रचलित दरअनुसार लाग्ने महसुल।

- ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्म प्रचलित दरअनुसार लाग्ने महसुलको अतिरिक्त थप तीन प्रतिशत।

सुनको गहनाको हकमा

- पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्रामसम्म सुनका गहनामा कुनै महसुल लाग्ने छैन।

- त्यसबाहेक थप ५० ग्रामसम्म सुनका गहनामा प्रचलित दरअनुसार महसुल लाग्नेछ।

- थप ५० ग्रामसम्म सुनका गहनामा प्रचलित दर अनुसार लाग्ने महसुलको अतिरिक्त थप तीन प्रतिशत महसुल लाग्नेछ ।

चाँदीको हकमा

- पाँच सय ग्रामसम्मको चाँदीमा प्रचलित दरअनुसार महसुल लाग्नेछ।

चाँदीको गहनाको हकमा

- पाँच सय ग्रामसम्म चाँदीका गहनामा कुनै महसुल लाग्ने छैन।

- त्यस परिमाणभन्दा बढी थप पाँच सय ग्रामसम्म चाँदीको गहनामा प्रचलित दरअनुसार महसुल लाग्नेछ।

नयाँ व्यवस्थाअनुसार सुनमा लाग्दै आएको १० प्रतिशत भन्सार महसुललाई वृद्धि गरी २० प्रतिशत पुर्‍याइएको छ। यस्तै चाँदीमा पनि २० प्रतिशत भन्सार दर कायम गरिएको छ।

ल्याउन पाइनेभन्दा बढी परिमाणमा सुन तथा सुनका गहना र चाँदी तथा चाँदीका गहना ल्याएमा बढी भएको परिमाण जफत गरिने व्यवस्था छ।

यात्रुले ल्याउने सुन तथा सुनका गहना र चाँदी तथा चाँदीका गहनामा महसुल लिने प्रयोजनको लागि मूल्य कायम गर्दा भन्सार अधिकृतले अन्तर्राष्ट्रिय बजार मूल्यसमेतलाई आधार लिइ भन्सार मूल्य कायम गर्न सक्नेछ।

विदेशी यात्रुले आफ्नो साथमा ल्याउन पाउने पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्रामसम्म सुनको गहना र एक सय ग्रामसम्म चाँदीका गहनाभन्दा बढी निजी प्रयोगका सुन तथा चाँदीका गहना पछि फिर्ता लैजाने गरी भन्सार कार्यालयमा घोषणा गरेमा त्यस्तो गहना परीक्षण गरी सो गहनाको मूल्यको २० प्रतिशत रकम धरौटी राखी ल्याउन दिइनेछ।

त्यसरी ल्याएको गहना निज यात्रु फर्कँदा भन्सार कार्यालयमा परीक्षण गराइ त्यस्तो गहना ल्याउँदा राखेको धरौटी रकम फिर्ता लैजान सक्नेछ। त्यसरी परीक्षण गर्दा घोषणा गरेभन्दा फरक गुणस्तर तथा परिमाण भएको प्रमाणित भएमा भन्सारसम्बन्धी प्रचलित कानूनबमोजिम कारबाही हुनेछ।

तर भारतबाट विवाहलगायतका सामाजिक कार्यमा आउने यात्रुले आफ्नो स्वप्रयोजनका लागि ल्याउने गहना आफू फर्कँदा फिर्ता लैजाने सर्तमा भन्सार कार्यालयमा घोषणा गरी ल्याउन सक्नेछ।

कुनै विदेशी यात्रु वा गैरआवासीय नेपाली वा स्थायी आवासीय अनुमतिप्राप्त गरी विदेशमा बसोबास गरेका नेपालीले तोकिएको परिमाणभन्दा बढी सुन तथा चाँदीका गहना ल्याइ भन्सार कार्यालयमा ट्रान्जिटमा डिपोजिट राख्न घोषणा गरेमा भन्सार कार्यालयले त्यस्ता गहना सुरक्षित साथ राखी सोको निस्सा सम्बन्धित यात्रुलाई दिनु पर्नेछ। त्यस्तो यात्रु नेपालबाट फिर्ता जाँदा निजले डिपोजिट राखेको गहना भन्सार कार्यालयले फिर्ता दिनु पर्नेछ।

यसैगरी आफूले प्रयोग गरेको ट्याबलेट वा ल्यापटप वा डेस्कटप कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा र मोबाइल फोन एक/एक थान ल्याउँदा भन्सार लाग्ने छैन। तर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गइ लगातार कम्तीमा छ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ मोबाइल फोन ल्याएमा सोबापत लाग्ने महसुलसमेत पूरै छुट हुनेछ।

यसैगरी श्रम स्वीकृति लिइ वैदेशिक रोजगारमा गइ लगातार कम्तीमा १२ महिना काम गरी फर्केका नेपाली नागरिकले ल्याएको ६५ इञ्चसम्मको टेलिभिजन एक थानबापत लाग्ने महसुलसमेत पूरै छुट हुनेछ।

यसैगरी पेसागत यात्रुले प्रयोग गरी ल्याएको आफ्नो पेसासँग सम्बन्धित वस्तुहरू एक/एक थान (जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीको लागि फुटबल, भलिबल, व्याडमिन्टन सेट, क्रिकेट सेट, गायक तथा संगीतकारको लागि गितार, हार्मोनियम, तबला जस्ता वस्तुमा महसुल लाग्ने छैन।  

यसैगरी सात किलोग्रामसम्म खाद्य परिकार र मदिरा एक लिटरसम्मको बोतलमा कुनै महसुल लाग्दैन।


प्रकाशित : बुधबार, असोज २१ २०८३१५:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend