बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बाढीपहिरो र हिमपातपश्चात अवरुद्ध छन् सडक, लेतेदेखि कोरला नाकासम्म झन्डै पाँचसय कन्टेनर रोकिए

बुधबार, असोज २१ २०८३
बाढीपहिरो र हिमपातपश्चात अवरुद्ध छन् सडक, लेतेदेखि कोरला नाकासम्म झन्डै पाँचसय कन्टेनर रोकिए

बेनी-जोमसोम सडक अवरुद्ध रहेकै अवस्थामा कोरला नाकाबाट भने केही मालवस्तु बोकेका कन्टेनर जोमसोम ल्याइएको छ।

मुस्ताङ- मुस्ताङको लेतेदेखि कोरला नाकासम्म झन्डै पाँचसयको संख्यामा कन्टेनर सडकमा लामबद्ध रुपमा रोकिएको अवस्थामा रहेको पाइएको छ।

यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो र हिमपातले सडक अवरुद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न ठाँउमा रोकिएका हुन्। भारी वर्षाबाट अवरुद्ध म्याग्दीको पोखरेबगर, कुनौटे र बैसरीलगायतका स्थानमा सडक मर्मत भइरहेको छ।

उक्त सडक सञ्चालनका लागि अझै एक साता लाग्ने त्यस सडक आयोजनाका प्राविधिकहरूले जनाएका छन्। उक्त सडक सञ्चालनमा नआउँदा ७० बढी कन्टेनर र सय बढी विद्युतीय सवारीसाधन जोमसोमस्थित बसपार्कमा राखिएको छ।

बेनी-जोमसोम सडक अवरुद्ध रहेकै अवस्थामा कोरला नाकाबाट भने केही मालवस्तु बोकेका कन्टेनर जोमसोम ल्याइएको छ। कालीगण्डकी करिडोर सडक आयोजनाले जोमसोम-कोरला खण्डमा अवरुद्ध सडक मर्मत गरेपछि मुस्ताङ भन्सार बन्दरगाहमा रोकिएका ती केही मालवस्तुवाहक कन्टेनर जोमसोम ल्याइएको हो।

यसअघि बाढी पहिरोबाट नाका क्षेत्रमा विद्युत् र इन्टरनेटको समस्या कारण चीनबाट ल्याइएका सामानको भन्सार जाँचपास हुन नसक्दा सयौँको संख्यामा ती कन्टेनर रोकिएका थिए।

भारी वर्षापछिको बाढी, पहिरो र नदी कटानले म्याग्दी खण्डका दर्जनौँ स्थानमा विद्युत् पोल क्षतिमा हुँदा एक सातादेखि मुस्ताङमा केन्द्रीय ३३ केभी विद्युत् प्रसारण लाइन र इन्टरनेट सेवा अवरुद्ध थियो। त्यसबाट उपल्लो मुस्ताङ भन्सार कार्यालयको नियमित सेवा प्रभावित हुँदै आएको थियो।

कोरला नाकामै रोकिएका कन्टेनर चालक गोविन्द गुरुङले कोरला नाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका करिब ३०० कन्टेनर तथा २०० बढी विद्युतीय सवारीसाधन भन्सार जाँचपासका लागि अहिले पनि रोकिएको बताए।

चीनबाट कोरला नाका हुँदै पैठारी गरी नेपाल भित्र्याइएको दसैँतिहार लक्षित मालवस्तु समयमै गन्तव्यमा पुर्‍याउन नसक्दा व्यपारीमात्र होइन उपभोक्तासमेत इच्छाइएको सामग्री खरिद गर्नबाट वञ्चित हुनु परेको छ। त्यसबाट नेपाली बजारसमेत आर्थिक रुपमा चलायमान हुन सकेको छैन। रासस


प्रकाशित : बुधबार, असोज २१ २०८३१३:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend