महोत्तरी- मधेश आँप, लिची र केरासहितका फलफूल उत्पादनको उर्वर ठाउँ मानिन्छ। यहाँ ती फलफूलखेतीले खासै गति लिएको छैन। जिल्लामा आँप र लिचीका बगैँचा बर्सेनि केही बढेका देखिए पनि उत्पादनले भने उत्साह दिन नसकेको किसानको गुनासो छ।
'बगैँचा त बढेका छन्, तर उत्पादन बढेन', बर्दिबास-५ चेरुका किसान होतराज घिमिरे भन्छन्, 'खासगरी विभिन्न रोगब्याध, सुक्खा र वर्ष बिराउने क्रमले आँप र लिचीको उत्पादन बढ्न नसकेको हो, आफ्ना करिब २०० आँपका रुखमा पछिल्ला तीन वर्षयता झन्झन् उत्पादन घटेको छ।'
मधेशमा फलको राजा मानिने आँपखेती यसपालि जिल्लामा पाँच हजार हेक्टरको सेरोफेरोमा पुगेको जिल्लास्थित कृषि ज्ञान केन्द्र कार्यालयको तथ्यांक छ। यो गत वर्षभन्दा ५०० हेक्टरले बढी हो। आव २०८२/८३ मा जिल्लामा आँपखेती चार हजार ५६० हेक्टरमा रहेको कार्यालयको तथ्यांक छ। बितेको सिजनको सो वर्ष आँप २९ हजार ७०० मेट्रिकटन उत्पादन भएको थियो। जुन आव २०८०/८१ भन्दा निकै कम हो।
आव २०८०/८१ मा ४ हजार ५०० हेक्टरमा रहेको आँप बगैँचाबाट ४७ हजार २५० मेट्रिकटन उत्पादन भएको थियो। आव २०८१/८२ मा भने माथिका दुवै वर्षभन्दा निकै कम उत्पादन भएको तथ्यांक छ। सो वर्ष ४ हजार ५०० हेक्टरमै रहेको बगैँचाबाट १३ हजार ४६० मेट्रिकटन मात्र आँप उत्पादन भएको तथ्यांकले देखाएको छ।
वर्ष-वर्षमा आँप उत्पादनमा यति धेरै फरक पर्नुमा ‘अफइयर’ (वर्ष बिराउने), सुक्खाखडेरी र मधुवा (आँपको फूलमा लाग्ने डढुवा रोग)को प्रकोप मुख्य कारण भएको बागवानी विज्ञसमेत रहेका कृषि ज्ञान केन्द्र कार्यालय जलेश्वरका सूचना अधिकारी अविरलकुमार महतोको भनाइ छ।
आँपमा प्रत्येक दुईतीन वर्षमा ‘अफइयर’ हुनेहुँदा सो वर्ष उत्पादन घट्ने गरेको महतोले स्पष्ट पारे। मधेशको माटो र हावापानी आँपका लागि अनुकूल भए पनि बजारको अनिश्चितताले यो खेती महोत्तरीमा खासै बढ्न नसकेको विज्ञहरु स्वीकार गर्छन्। मधेशमा आँप रोप्ने समय असारदेखि असोजसम्म र पछि फागुन उपयुक्त मानिन्छ। यसपालि चालु आवको अन्त्यसम्म पाँच हजार हेक्टरको सेरोफेरोमा आँपखेती पुग्ने कार्यालयको अनुमान छ।
यसैगरी मधेशको अर्को प्रसिद्ध फल लिचीका बगैँचा पनि जिल्लामा सामान्य रूपमा बढ्दो छ। आव २०८०/८१ मा १०५ हेक्टरमा मात्र रहेको लिची सो वर्ष १ हजार ५० मेट्रिकटन उत्पादन भएको थियो। सोलगत्तै पछिको आव २०८१/८२ मा खेती १२० हेक्टर र आव २०८२/८३ मा १४० हेक्टर पुगेको कार्यालयले जनाएको छ। यी दुई वर्षमा उत्पादन क्रमशः एक हजार २२५ र १ हजार ४५० मेट्रिकटन पुगेको तथ्यांक रहेको महतोले स्पष्ट पारे।
चालु आवमा लिची केही बढेर २०० हेक्टरमा पुग्ने कार्यालयको अड्कल छ। थोरथोरै बढेको क्षेत्रफलमा उत्पादन पनि केही बढेको देखिए पनि रुखको अनुपातमा उत्पादन कमै भएको विज्ञको भनाइ छ।
त्यसैगरी, बजारैपिच्छे केराको बजार सदाबहार जमे पनि महोत्तरीमा केराखेती खासै बढेको छैन। बरु तीन वर्षअघिभन्दा अहिले केराखेती घटेको छ। आव २०८०/८१ मा ३०० हेक्टरमा रहेको केराखेती २०८१/८२ मा २८० हेक्टरमा झरेको तथ्यांक मा देखिन्छ। आव २०८२/८३ मा भने अलिकति बढेर २९० हेक्टरमा पुगेको खेती यसपालि ४०० हेक्टरको हाराहारी पुग्ने बागवानी विज्ञ महतोले बताए।
केराको उत्पादन आव २०८०/८१ मा ४ हजार ७२९, आव २०८१/८२ मा ४ हजार ४८० र आव २०८२/८३ मा ४ हजार ४९५ मेट्रिकटन उत्पादन भएको महतोले तथ्यांक केलाउँदै स्पष्ट पारे। मधेशका प्रत्येकजसो चाडबाडमा अनिवार्यजस्तै मानिएको केरा यहाँका सबैजसो बजारमा दिनहुँ बिक्री हुन्छ। यो सबै केरा अन्य जिल्ला र भारततिरबाट समेत आउने फलफूल व्यापारी नै बताउँछन्। केराका लागि पनि यहाँको माटो, हावापानी अनुकूल भए पनि यस आधारमा खेती भने नबढेको देखिन्छ।
आँप, लिची र केराको यो व्यावसायिक खेतीको तथ्यांक हो। मधेशमा थोरै जग्गा हुनेले पनि घरकरेसामै एकदुईवटा आँप, लिची र एकाध झाङ केरा लगाएका बाक्लै देखिन्छ। आफ्नो घरको प्रयोजनका लागि यसरी आँप, लिची र केरा लगाउने किसान भने आम रूपमै पाइने गरेको महतो बताउँछन्।
जिल्लामा ७१ हजार हेक्टर खेतीयोग्य जग्गा रहेको कार्यालयको तथ्यांक छ। यसबाहेक अन्य बाली राम्ररी नहुर्कने पाखा/ढड्यान ठाउँमा पनि सामान्य मेहनत र सम्भारमा आँप, लिची र केरा हुर्काउन सकिन्छ।
मधेशको माटो र हावापानी यी फल खेतीका लागि अनुकूल भए पनि यसबाट जीवनयापन र राम्रो आर्जनको भरोसा जगाउन नसकिँदा खेती अपेक्षित बढ्न नसकेको कृषि क्षेत्रकै सरकारी सेवाको सहसचिबबाट अवकाश लिएका बागवानीविज्ञ भंगाहा-५ सीतापुरका रामबहादुर भुजेलको विगत अनुभव छ। रासस