बाजुरा- बूढीगंगा नगरपालिका-१० का भोलाराम जैसीले विगत तीन वर्षदेखि ड्रागन फ्रुटखेती गर्दै आएका छन्। परम्परागत खेतीभन्दा फरक र बजारमा राम्रो सम्भावना देखेपछि उनले उक्त खेतीलाई आम्दानीको प्रमुख माध्यम बनाएका हुन्।
गाउँमै आफ्नो जमिन र स्थानीय स्रोतसाधनको उपयोग गर्दै त्यस फलबाट आम्दानी लिन सकिन्छ भन्ने उनले उदाहरण प्रस्तुत गरेका छन्। विसं २०६८ देखि २०७४ सम्म मार्तडीमा होटल व्यवसाय गरेका जैसी त्यसपछि गाउँ फर्किए।
गाउँ फर्किएपछि ‘हिमानी बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फर्म’ दर्ता गरेर कुखुरापालनसँगै तरकारीखेती सुरु गरे। केही वर्ष कृषि तथा पशुपालनमा लागेपछि फरक र नयाँ प्रकारको व्यावसायिक खेती गर्ने सोच आएपछि उनी ड्रागन फ्रुट खेतीतर्फ आकर्षित भए। 'केही नयाँ फरक गर्नुपर्छ भन्ने सोच आयो,' जैसीले भने, 'कृषि ज्ञान केन्द्रका तत्कालीन प्रमुख मीनप्रसाद जैसीको सुझावमा अनुदानमा ड्रागन फ्रुटखेती सुरु गरेँ।'
सुरुमा परीक्षणका रूपमा केही बिरुवा लगाएर उक्त खेती सुरु गरेका जैसीले उत्पादन राम्रो हुन थालेपछि त्यसलाई विस्तार गरेका हुन्। हाल उनले पाँच रोपनीमा ड्रागन फ्रुटका १ हजार ४०० बिरुवा लगाएका छन्।
ड्रागन फ्रुटका बिरुवाले दुई वर्षमै फल दिन थालेपछि जैसीको उत्साह थपिएको छ। गतवर्ष करिब ६ क्विन्टल ड्रागन फ्रुट बिक्री गरेका उनले यस वर्ष भने उत्पादन बढेको बताए। 'जेठ महिनादेखि फल्न सुरु हुन्छ र असोजसम्म यसको सिजन हुन्छ,' उनले भने, 'गत वर्ष करिब ६ क्विन्टल बिक्री भएको थियो। यस वर्ष हालसम्म १५ क्विन्टल बिक्री गरिसकेको छु। अझै केही पाक्ने क्रममा छ।'
जैसीका अनुसार ड्रागन फ्रुटको बिक्रीबाट वार्षिक ५ देखि ६ लाख रूपैयाँसम्म आम्दानी भएको छ। उत्पादित फल बिक्रीका लागि बजारको समस्या नरहेको उनको भनाइ छ। उनले मार्तडी बजारसँगै अछामको साँफेबगरसम्म पुर्याएर बिक्री गर्दै आएका छन्।
उत्पादन बढ्दै गएमा आम्दानी बढाउन सकिने उनको भनाइ छ। जैसीका अनुसार राम्रो मलजल र व्यवस्थापन गर्न सके एउटा बोटले २५ वर्षसम्म उत्पादन दिन सक्छ। 'ड्रागनखेतीमा सुरुमा केही लगानी र मेहनत चाहिन्छ,' उनले भने, 'तर अन्य बालीजस्तो धेरै सिँचाइ आवश्यक पर्दैन। गाईवस्तुको मल प्रयोग गर्न सकिन्छ र समय-समयमा काँटछाँट गरे पुग्छ।'
जैसीको ड्रागन फ्रुटखेती अहिले बाजुरामा कृषि सम्भावनाको एउटा उदाहरण बनेको छ। जिल्लामै ठूलो क्षेत्रफलमा खेती गर्ने उनी पहिलो कृषक हुन्। अन्य स्थानमा केही वर्षअघि खेती सुरु भए पनि व्यावसायिक हुन सकेको छैन।
बाजुरामा कृषियोग्य जमिन भए पनि परम्परागत बालीबाट मात्र पर्याप्त आम्दानी गर्न कठिन हुने अवस्था छ। यहाँ करिब ८० प्रतिशत खेतीयोग्य जमिनमा हालसम्म सिँचाइ सुविधा पुगेको छैन। वर्षभरि लगाएको खेतीले ६ महिना पनि खान पुग्दैन।
कृषि ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०७९/८० मा जैसीसहित जिल्लाका चार किसानलाई ५० प्रतिशत लागत साझेदारीमा ड्रागनखेती सुरुवात गरिएको थियो।
केन्द्रका बागवानी विकास अधिकृत सृष्टि ढुंगानाका अनुसार १०० देखि १ हजार ५०० मिटर उचाइसम्म ड्रागनखेती हुन्छ। 'नयाँ बाली भएकाले यहाँ थोरै किसान मात्रै व्यावसायिक खेतीमा हुनुहुन्छ,' उनले भने, 'जिल्लामा ड्रागन फ्रुटको सम्भावना प्रशस्त रहेको छ। मेहनतका साथ लाग्न सके राम्रो आम्दानी गर्न सकिन्छ।' रासस