बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

मालढुंगा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बुधबार, असोज २१ २०८३
मालढुंगा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

सुरुमा सम्पर्कविच्छेद नै भए पनि अहिले भने वैकल्पिक मार्गबाट आवतजावत भइरहेको छ।

बागलुङ- यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएको बागलुङ र पर्वत जोड्ने मालढुंगा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ।

सडक डिभिजन कार्यालय पोखराले पुल दसैँअघि नै सञ्चालनमा ल्याउने तयारीका साथ मर्मतको काम द्रुतगतिमा गरिरहेको छ भने हाललाई बागलुङ बजार पुग्न वैकल्पिक मार्ग प्रयोगको व्यवस्था मिलाएको छ।

चाडबाडअघिको आवागमनका साथै पर्यटकीय गतिविधिलाई लक्षित गरी मालढुंगा पुलको विकल्पमा मालढुंगा-बेनी हुँदै बागलुङ र पर्वतको फलेवास-जैमिनीघाट हुँदै बागलुुङ मार्ग प्रयोग भइरहेको छ। ११४ मिटर लामो पुलको पहुँचमार्गको झन्डै ३० मिटर सडकमा क्षति पुगेपछि १० दिनदेखि दुई जिल्लाबीचको सम्पर्क सहज बन्न सकेको छैन। सुरुमा सम्पर्कविच्छेद नै भए पनि अहिले भने वैकल्पिक मार्गबाट आवतजावत भइरहेको छ।

यसबाट मध्यपहाडी लोकमार्ग हुँदै बागलुङ, रुकुम, रोल्पाको सम्पर्क सूत्र पनि टुटेको छ। सडक डिभिजन कार्यालय पोखराले पुल मर्मतकार्य चौबिसै घण्टा गरिएकाले अबका केही दिनमै पुल सञ्चालनमा आउने जनाएको छ।

बाढीले क्षति पुर्‍याएको बागलुङ र पर्वत जोड्ने मालढुंगा पुलको अवस्था अवलोकन गर्न पुगेका नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङको पर्यटन र आयातनिर्यातका लागि पुल छिट्टै सञ्चालनमा ल्याउनुपर्ने हाललाई भने बागलुङ पुग्ने वैकल्पिक मार्गका बारेमा पर्यटक र यात्रुलाई जानकारी दिनुपर्ने बताए।

उनले भने, 'मालढुंगा पुल राष्ट्रिय महत्वका रूपमा रहेको छ। उक्त पुल जतिसक्दो चाँडै सञ्चालनमा ल्याउनुपर्छ। कामको प्रगति पनि राम्रै भइरहेकाले चाँडै नै निर्माण हुने पनि देखिएको छ। यसका साथै वैकल्पिक मार्गलाई पनि थप चलायमान बनाउन सकिएमा यसबाट यस क्षेत्रको पर्यटन र आयात-निर्यात सहज बन्नेछ।'

यो एउटा पुलमात्रै नभएर बागलुङलाई राष्ट्रिय राजमार्गमा जोड्ने सेतु नै रहेको र भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोर तथा पहाडलाई छिचोलेको मध्यपहाडी लोकमार्गकै संगमस्थल रहेको ढकालको भनाइ थियो।

सडक डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले बागलुङ आउने मुख्य नाकाका रूपमा रहेको मालढुंगा पुल ठप्प भएपछि वैकल्पिक मार्ग प्रयोग हुँदै आएको जानकारी दिँदै सुवेदीले भने, 'दसैँअघि नै पुल सञ्चालनमा आउँछ, बागलुङसहित रुकुमपश्चिमसम्मका यात्रुले सहज यात्रा गर्न सक्नेछन्।'

पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत र बागलुङ जोड्ने कालीगण्डकीमाथिको मालढुंगा मोटरेबल पुल मर्मतकार्य जियोब्याग र जियोग्रेड प्रविधिमा चौबिसै घण्टा भइरहेको सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर अमर अधिकारीले जानकारी दिए।

अधिकारीले चाडबाडसमेत नजिकिँदै गएको तथा बागलुङमा खाद्यान्न, ग्यासलगायत उपभोग्य सामानको अभावसमेत देखिन थालेकाले चौबिसै घण्टा काम गरेर भए पनि छिटो पुल सञ्चालनमा ल्याउने प्रयास गरिएको जानकारी दिए।

बागलुङका पर्यटन व्यवसायी अर्जुन चोखालका अनुसार बागलुङ बजारमा ग्यास, पेट्रोलियम पदार्थ र खाद्यन्न वैकल्पिक मार्गबाट नियमित आयात भइरहेको छ। उनले वैकल्पिक मार्गको प्रयोगबारे स्थानीय, पर्यटक र अन्य यात्रुलाई पनि जानकारी दिइएको बताए। रासस


प्रकाशित : बुधबार, असोज २१ २०८३११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend