बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

रेमिट्यान्सपछि आप्रवासनको अर्को अर्थतन्त्र : विदेशिएका नेपालीले खोल्दैछन् निर्यात बजार

बुधबार, असोज २१ २०८३
रेमिट्यान्सपछि आप्रवासनको अर्को अर्थतन्त्र : विदेशिएका नेपालीले खोल्दैछन् निर्यात बजार

विदेशिएका नेपालीबाट बनेको यस्तो बजार सञ्जाल धेरै हदसम्म व्यक्तिगत सम्बन्धमा टिकेको छ। त्यसलाई व्यवस्थित रूपमा निर्यात रणनीतिसँग जोड्ने काम भने अझै संस्थागत हुन सकेको देखिँदैन।

काठमाडौं- विदेशिने नेपालीलाई प्रायः रेमिट्यान्स, श्रम अभाव वा ‘ब्रेन ड्रेन’सँग जोडेर हेरिन्छ तर एसियाली विकास बैंक (एडीबी)को सहयोगमा भएको नयाँ अध्ययनले आप्रवासनको अर्को पक्ष देखाएको छ। विदेशमा रहेका नेपालीले पैसा पठाउनेमात्र होइन नेपाली वस्तु तथा सेवाका लागि विदेशी बजार खोज्न, पहिलो ग्राहक जोड्न र व्यापारिक सम्बन्ध विस्तार गर्न पनि भूमिका खेलिरहेका छन्।

सावतीले गरेको अध्ययनले नेपालबाट वस्तु तथा सेवा निर्यात अपेक्षित रूपमा विस्तार हुन नसक्नुका कारण र सम्भावनाको अध्ययन गरेको हो। यसका लागि करिब ५० निर्यातमुखी कम्पनीको सर्वेक्षण, निजी क्षेत्रसँगका अन्तर्वार्ता र विभिन्न केस अध्ययन समेटिएका छन्।

अध्ययनका अनुसार विदेशमा रहेका नेपाली समुदायले अचार, मसला, घिउ, चिया, कफी, छुर्पीलगायत नेपाली उत्पादनका लागि प्रारम्भिक बजार बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। सुरुमा विदेशमा रहेका नेपालीकै उपभोगबाट बनेको माग विस्तारै स्थानीय विदेशी उपभोक्तासम्म पुगेको देखिन्छ।

यसको एउटा उल्लेखनीय उदाहरण छुर्पी हो। नेपालमा परम्परागत रूपमा खाइने छुर्पी अमेरिकामा ‘डग च्यु’ अर्थात् कुकुरलाई चपाउन दिइने खाद्य पदार्थका रूपमा बजार बनाउन सफल भएको अध्ययनले उल्लेख गरेको छ। प्रतिवेदनका अनुसार यसको बजार विस्तारमा सरकारी व्यापार प्रवर्द्धन संयन्त्रभन्दा नेपाली उद्यमी, गैरआवासीय नेपाली र व्यक्तिगत व्यापारिक सम्बन्धको भूमिका बढी देखिएको छ।

यस्तै प्रभाव सेवा निर्यातमा पनि देखिन्छ। विशेषगरी सूचना प्रविधि (आईटी) क्षेत्रमा विदेशमा रहेका नेपालीको व्यक्तिगत सम्पर्क र डायस्पोरा सञ्जालले ग्राहक जोड्न मद्दत गरेको अध्ययनले देखाएको छ।

नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनीज (नासआईटी) का प्रतिनिधिसँगको अन्तर्वार्तालाई उद्धृत गर्दै प्रतिवेदनले व्यवसायदेखि आईटी सेवा निर्यातको ठूलो हिस्सा विदेशमा रहेका नेपाली र व्यक्तिगत सम्बन्धमार्फत प्राप्त हुने जनाएको छ।

प्रतिनिधिको अनुमानअनुसार यस्तो कारोबारको ९० प्रतिशतभन्दा बढी हिस्सा व्यक्तिगत सम्पर्क र डायस्पोरा सञ्जालसँग जोडिएको हुन सक्छ। प्रतिवेदनले भने यो उद्योग क्षेत्रको अनुमान मात्र भएको र आधिकारिक सरकारी तथ्यांक नभएको स्पष्ट पारेको छ।

प्रतिवेदनमा समेटिएको एउटा आईटी कम्पनीको केस अध्ययनले पनि यही प्रवृत्ति देखाउँछ। चार वर्षअघि स्थापना भएको उक्त कम्पनीले अमेरिकामा रहेको व्यक्तिगत सम्बन्धमार्फत पहिलो विदेशी ग्राहक पाएको थियो। त्यसपछि कम्पनी वार्षिक करिब ५० प्रतिशतको दरले विस्तार हुँदै अहिले करिब १२५ जनालाई रोजगारी दिइरहेको प्रतिवेदनमा उल्लेख छ।

विदेशमा रहेका नेपालीले ग्राहक वा बजार मात्र जोडिरहेका छैनन्। उनीहरूले विदेशी उपभोक्ताको रुचि, गुणस्तरको अपेक्षा, प्याकेजिङ, ब्रान्डिङ र व्यवसाय सञ्चालनसम्बन्धी अनुभव पनि नेपालसम्म ल्याइरहेका छन्। यसले नेपाली कम्पनीलाई विदेशी बजारको माग बुझ्न र आफ्ना उत्पादन परिमार्जन गर्न सहयोग पुगेको अध्ययनको निष्कर्ष छ।

तर आप्रवासनको यो पक्षसँगै अर्को समस्या पनि छ। विदेशिने क्रमले उत्पादन र पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको अभाव बढाएको, कर्मचारी टिकाइराख्न कठिन भएको र सेवाको गुणस्तरमा असर परेको अध्ययनले औँल्याएको छ।

विशेषगरी पर्यटन व्यवसायीहरूले तालिमप्राप्त कर्मचारी विदेशिने क्रम बढ्दा होटल तथा पर्यटन उद्योग आफैले तयार पारेको जनशक्ति गुमाइरहेको गुनासो गरेका छन्। उनीहरूको भनाइमा उद्योगले कर्मचारीलाई तालिम दिन्छ तर दक्ष भएपछि तीमध्ये धेरै विदेशिन्छन्।

आप्रवासनले नेपालको श्रम बजारमा दबाब बढाएको छ तर विदेशमा बनेका नेपालीका सम्बन्ध र सञ्जालले नेपाली उत्पादन तथा सेवाका लागि नयाँ बजार पनि खोलिरहेका छन्।

विदेशिएका नेपालीबाट बनेको यस्तो बजार सञ्जाल धेरै हदसम्म व्यक्तिगत सम्बन्धमा टिकेको छ। त्यसलाई व्यवस्थित रूपमा निर्यात रणनीतिसँग जोड्ने काम भने अझै संस्थागत हुन सकेको देखिँदैन।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा एडीबीका राष्ट्रिय निर्देशक अर्नो कोस्वाले पनि नेपालका लागि ऊर्जा र आईटी जस्ता सेवा क्षेत्रसँगै विशिष्ट उत्पादनहरू निर्यातको उच्च सम्भावना भएका क्षेत्र भएको बताए।

नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको प्रतिवेदन सार्वजनिक तथा छलफल कार्यक्रममा बोल्दै उनले प्राविधिक सीप, प्रविधि र व्यावसायिक वातावरणमा सुधार गरेरमात्र यस्ता उच्च सम्भावना भएका क्षेत्रबाट पूर्ण लाभ लिन सकिने उल्लेख गरे। दिगो आर्थिक विकास तथा रोजगारी सिर्जनाका लागि बलियो निर्यातका लागि सहयता गर्ने एडीबीको घोषित नीति रहेको उनले बताए। 


प्रकाशित : बुधबार, असोज २१ २०८३०७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend