काठमाडौं- विश्वका उत्कृष्ट विश्वविद्यालयको सूचीमा एसियाको उपस्थिति अहिलेसम्मकै बलियो बनेको छ। टाइम्स हायर एजुकेसनको सन् २०२७ को विश्व विश्वविद्यालय वरियतामा पहिलोपटक तीन एसियाली विश्वविद्यालय शीर्ष १५ मा परेका छन्। चीनको सिङ्घुवा विश्वविद्यालय ११औँ, पेकिङ विश्वविद्यालय १३औँ र सिंगापुरको नेसनल युनिभर्सिटी अफ सिंगापुर १५औँ स्थानमा छन्।
यो परिवर्तनको अर्को महत्वपूर्ण संकेत सिङ्घुवा विश्वविद्यालय हो। ११औँ स्थानमा पुगेको सिङ्घुवाले स्विट्जरल्यान्डको इटीएच जुरिचलाई पछि पारेको छ। वरियताको २३ वर्षे इतिहासमा पहिलोपटक कुनै चिनियाँ विश्वविद्यालय महादेशीय युरोपका सबै विश्वविद्यालयभन्दा माथि परेको हो।
तर यसलाई पश्चिमी विश्वविद्यालयको पतन भनेर बुझ्नु हतार हुनेछ। २०२७ को सूचीमा अक्सफोर्ड लगातार ११औँ वर्ष पहिलो स्थानमा छ। एमआईटी दोस्रो तथा प्रिन्सटन र स्ट्यानफोर्ड संयुक्त तेस्रो स्थानमा छन्। शीर्ष १० मा अमेरिका र बेलायतकै विश्वविद्यालयको प्रभुत्व छ।
तर शीर्ष २०० को सूचीमा फेरबदल भएको छ। अमेरिकाका ५३ विश्वविद्यालय शीर्ष २०० मा छन्, जुन गत वर्षभन्दा दुई कम हो। बेलायतका विश्वविद्यालय २५ छन्। अर्कोतर्फ चीनका १७ विश्वविद्यालय शीर्ष २०० मा परेका छन्। चीनको संख्या गत वर्षसम्म १३ थिए।
चीनका १७ मध्ये ७१ प्रतिशत विश्वविद्यालयको स्थान अघिल्लो वर्षभन्दा माथि गएको छ। चिनियाँ विश्वविद्यालयहरूले अधिकांश सूचकमा सुधार गरेका छन्। यद्यपि अनुसन्धान क्षमता र अन्तर्राष्ट्रिय सहकार्यमा भने उनीहरूका लागि चुनौती कायमै छ।
एसियाको उकालो चीनमा मात्र सीमित छैन। सिंगापुरको एनएसयू १५औँ स्थानमा पुगेको छ भने सिंगापुरकै नानयाङ टेक्नोलोजिकल युनिभर्सिटी २८औँ स्थानमा उक्लिएको छ। मलेसियाको युनिभर्सिटी अफ मलाया पहिलोपटक शीर्ष २०० मा प्रवेश गरेको छ। इन्डोनेसिया, थाइल्यान्ड, काजकिस्तान र कतारका विश्वविद्यालयले पनि आफ्नो स्थान सुधार गरेका छन्।
यसको पछाडि विश्वविद्यालयको पुरानो प्रतिष्ठाभन्दा फरक लगानी रहेको छ।
उच्च शिक्षाका अध्येता तथा बेलायतको युनिभर्सिटी अफ ब्रिस्टलका प्राध्यापक साइमन मार्जिन्सनका अनुसार अनुसन्धानमा विश्वस्तरीय प्रदर्शन टिकाइराख्न ठूलो, विशेषगरी सार्वजनिक लगानी आवश्यक हुन्छ। उनका अनुसार उक्लिरहेका उच्च शिक्षा प्रणालीहरूमा सरकारी लगानी निरन्तर बढिरहेको छ।
यो वरियता विश्वविद्यालयको नाम वा इतिहासमा मात्र आधारित छैन। शिक्षण वातावरण, अनुसन्धानको वातावरण, अनुसन्धानको गुणस्तर, उद्योगसँगको सम्बन्ध र अन्तर्राष्ट्रिय पहुँचसहित १७ वटा सूचकका आधारमा विश्वविद्यालयको मूल्यांकन गरिन्छ। यसैले वरियतामा आएको परिवर्तनलाई विश्वविद्यालयको प्रतिष्ठाको मात्र होइन, अनुसन्धान र ज्ञान उत्पादनमा भइरहेको प्रतिस्पर्धाको संकेतका रूपमा पनि हेर्न सकिन्छ। यहीँबाट अहिलेको परिवर्तनको ठूलो अर्थ देखिन्छ।
कृत्रिम बुद्धिमत्ता, सेमिकन्डक्टर, क्वान्टम प्रविधि, जैवप्रविधि र हरित प्रविधिजस्ता क्षेत्रमा विश्व प्रतिस्पर्धा तीव्र भइरहेका बेला अनुसन्धान गर्ने विश्वविद्यालयको क्षमता आर्थिक र प्राविधिक शक्तिसँग जोडिँदै गएको छ। त्यसैले विश्वविद्यालयको वरियता अब विद्यार्थीले कहाँ पढ्ने भन्ने प्रश्नमा मात्र सीमित छैन। कुन देशले प्रतिभा तान्न, अनुसन्धान गर्न र नयाँ प्रविधि विकास गर्न सक्छ भन्ने प्रतिस्पर्धाको एउटा संकेत पनि हो।
अहिलेको तथ्यले एउटा कुरा स्पष्ट देखाउँछ कि पश्चिमी विश्वविद्यालयको पुरानो प्रभुत्व तत्काल सकिएको छैन तर त्यसलाई चुनौती दिने एसियाली विश्वविद्यालयहरूको क्षमता भने तीव्र रूपमा बढिरहेको छ। टाइम्सकै तथ्यअनुसार अमेरिका र बेलायत अझै समग्र प्रदर्शनमा अगाडि छन्, तर एसियाली विश्वविद्यालयहरूको स्कोर बढ्ने गति तीव्र छ।
विश्वविद्यालयको नक्सा बदलिन थालेको छ। ज्ञानको शक्ति पनि अब एसियातर्फ संक्रमण भइसकेको कतिपयले विश्लेषण गरेका छन्।
दुई शताब्दीदेखि विश्वको ज्ञान, अनुसन्धान र उच्च शिक्षाको केन्द्र मानिँदै आएका अमेरिका र युरोपका विश्वविद्यालयहरूलाई अहिले एसियाली विश्वविद्यालयहरूले कडा चुनौती दिन थालेको यो संकेतले केवल विश्वविद्यालय वरियताको खेलका रूपमा हेर्न नमिल्ने कतिपयको विश्लेषण छ। यो २१औँ शताब्दीको ज्ञान अर्थतन्त्रको नयाँ भूगोल निर्माण भइरहेको उनीहरूको बुझाइ छ।
विश्व आर्थिक मञ्चले आर्थिक शक्ति जसरी विस्तारै पूर्वतर्फ सर्दै गएको छ, त्यसैगरी ज्ञान र अनुसन्धानको शक्ति केन्द्र पनि एसियातर्फ विस्तार हुँदै गएको देखिएको उल्लेख गरेको छ।