काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत वाणिज्य बैंकमध्ये सेयर मूल्यका आधारमा पाँच बैंक अगाडि छन्। दोस्रो बजारमा महँगो मूल्यमा कारोबार भइरहेका यी बैंकहरूको वित्तीय अवस्था भने एकरूप छैन।
केही बैंक नाफा, खराब कर्जा र लाभांश क्षमतामा बलिया देखिएका छन् भने केही बैंकले वित्तीय दबाब सामना गरिरहेका छन्।
सेयर मूल्यका आधारमा सबैभन्दा महँगो वाणिज्य बैंक एभरेष्ट बैंक रहेको छ। बैंकको सेयर मूल्य करिब ७१४ रुपैयाँ छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म एभरेष्ट बैंकले ५ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
एभरेष्ट बैंकको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ९५ पैसा रहेको छ भने खराब कर्जा ०.४९ प्रतिशतमा सीमित छ। वितरणयोग्य नाफाका आधारमा बैंकको लाभांश क्षमता ३८.३२ प्रतिशत रहेको छ। यी सूचकहरूले एभरेष्ट बैंकको वित्तीय अवस्था तुलनात्मक रूपमा बलियो रहेको देखाउँछन्।
महँगो सेयर मूल्य भएका बैंकको सूचीमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल दोस्रोमा छ। बैंकको सेयर मूल्य करिब ६५० देखि ६७८ रुपैयाँको हाराहारीमा रहेको छ।
चौथो त्रैमाससम्म बैंकको खराब कर्जा २.०३ प्रतिशत रहेको छ। बैंकको लाभांश वितरण क्षमता करिब १९.०४ प्रतिशत रहेको छ। तुलनात्मक रूपमा सानो निक्षेप तथा कर्जा आकार भए पनि बैंकको उच्च नेटवर्थ र वित्तीय अनुशासनका कारण दोस्रो बजारमा यसको सेयर मूल्य अन्य वाणिज्य बैंकको तुलनामा उच्च रहँदै आएको छ।
नबिल बैंकको सेयर मूल्य करिब ५३९ रुपैयाँ रहेको छ। नाफाका आधारमा भने नबिल बैंक वाणिज्य बैंकहरूमध्ये अगाडी छ। बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ७ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको छ।
बैंकको जगेडा कोषमा ३९ अर्ब ८५ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफाका आधारमा लाभांश क्षमता १९.१० प्रतिशत रहेको छ। उच्च नाफा र बलियो जगेडा कोषका कारण नबिल बैंकको वित्तीय अवस्था सुदृढ देखिन्छ।
सिद्धार्थ बैंकको सेयर मूल्य पछिल्लो समय बढेर करिब ४५६ रुपैयाँ ८० पैसा पुगेको छ। बैंकले चालु वर्ष २० प्रतिशत लाभांश घोषणा गरेपछि दोस्रो बजारमा यसको सेयरप्रति लगानीकर्ताको आकर्षण बढेको देखिएको छ। बैंकले डिजिटल सेवा तथा व्यवसाय विस्तारमा जोड दिँदै आएको छ भने पछिल्ला वित्तीय सूचकहरूमा पनि क्रमिक सुधार देखिएको छ।
महँगो सेयर मूल्य भएका पाँच वाणिज्य बैंकको सूचीमा एनआईसी एशिया बैंक पनि परेको छ। बैंकको सेयर मूल्य करिब ३९८ रुपैयाँ रहेको छ। तर सेयर मूल्य उच्च भए पनि बैंक अहिले वित्तीय दबाबमा देखिन्छ। आक्रामक कर्जा विस्तारपछि निष्क्रिय कर्जा बढ्दा बैंकको खराब कर्जा उच्च विन्दुमा पुगेको छ।
प्रोभिजनिङ तथा नियामकीय समायोजनको भारका कारण बैंकको वितरणयोग्य नाफा १४ अर्ब ८६ करोड रुपैयाँले ऋणात्मक रहेको छ। यसका कारण चालु वर्ष सेयरधनीलाई लाभांश वितरण गर्न नसक्ने अवस्था देखिएको छ। बैंकको प्रतिसेयर आम्दानी पनि घटेर १ रुपैयाँ २२ पैसामा सीमित भएको छ।
यसरी हेर्दा दोस्रो बजारमा सेयर मूल्यका आधारमा महँगो रहेका वाणिज्य बैंकहरूको वित्तीय अवस्था भने समान छैन। एभरेष्ट र नबिलजस्ता बैंक नाफा, खराब कर्जा तथा लाभांश क्षमतामा बलिया देखिएका छन् भने स्ट्याण्डर्ड चार्टर्ड र सिद्धार्थ बैंकका आफ्नै विशिष्ट वित्तीय पक्ष छन्।
अर्कोतर्फ, एनआईसी एशिया बैंकले उच्च निष्क्रिय कर्जा र ऋणात्मक वितरणयोग्य नाफाका कारण वित्तीय चुनौती सामना गरिरहेको छ। त्यसैले सेयरको बजार मूल्य मात्रै हेरेर बैंकको वित्तीय अवस्था मूल्यांकन गर्नुभन्दा नाफा, प्रतिसेयर आम्दानी, खराब कर्जा, वितरणयोग्य नाफा र जगेडा कोषजस्ता सूचकलाई समेत सँगै हेर्नुपर्ने देखिन्छ।