लन्डन- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं उद्यमी विदुषी राणाले बेलायत भ्रमणका क्रममा त्यहाँका राजनीतिज्ञ, व्यवसायी तथा नेपाली समुदायका प्रतिनिधिसँग भेट गर्दै बाढी तथा पहिरोपछि नेपालको पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरेकी छिन्।
राणाले बेलायती संसद्को तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयल, हाउस अफ लर्ड्सका सदस्य, लन्डनका उपमेयर, बेलायती राजनीतिज्ञ तथा व्यवसायीसँग भेट गरी नेपालमा भएको प्राकृतिक विपत्तिपछि पुनर्निर्माणका लागि थप अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएकी हुन्।
हाउस अफ कमन्सका सभामुख होयलसँगको भेटमा राणाले दुई शताब्दीभन्दा लामो नेपाल–बेलायत सम्बन्धको चर्चा गर्दै बाढीपछि बेलायतले गरेको मानवीय सहयोगप्रति आभार व्यक्त गरिन्। नेपाल सरकार अब पुनर्निर्माणमा केन्द्रित भएकाले बेलायत सरकारबाट थप सहयोग आवश्यक रहेको उनले बताइन्।
भारतीय मूलका बेलायती व्यवसायी तथा हाउस अफ लर्ड्सका सदस्य लर्ड बिलिमोरियासँगको भेटमा उनले नेपाल सरकारले आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेको भन्दै नेपालमा बेलायती लगानी बढाउन आग्रह गरिन्।
राणाले हाउस अफ लर्ड्सका लर्ड पोपट, ब्यारोनेस बर्मा, पूर्वप्रधानमन्त्री ऋषि सुनकका पूर्वराजनीतिक सल्लाहकार तथा कन्जरभेटिभ पार्टीका अन्तर्राष्ट्रिय प्रमुख अमित जोगिया, व्यापार तथा विकास हेर्ने लन्डनका उपमेयर होवार्ड डबरलगायतसँग पनि भेट गरेकी छिन्।
गत अगस्ट २६ मा रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै राणाले पुनर्निर्माणमा नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशतसम्म खर्च हुने अवस्था रहेकाले अन्तर्राष्ट्रिय समुदायको सहयोग अपरिहार्य रहेको बताइन्।
बेलायतको संसद्को हाउस अफ कमन्स र हाउस अफ लर्ड्समा नेपालको विपद्का विषयमा आवाज उठाएकोमा उनले बेलायती सरकार, जनता तथा सांसदहरूप्रति आभार व्यक्त गरिन्। बेलायती विदेशमन्त्री एड मिलिब्याण्डसहित सांसदहरू मोनिका हार्डिङ, क्यालम एन्डरसन र वेन्डी मोर्टनले नेपालको विपद्का विषयमा उठाएका विषयप्रति पनि उनले धन्यवाद व्यक्त गरिन्।
हाउस अफ लर्ड्समा लर्ड बिलिमोरिया, लर्ड क्यामोयस, लर्ड पोपट, लर्ड ल्यान्कास्टर, लर्ड वुड र ब्यारोनेस स्टुअर्टलगायतले प्रभावित नेपाली परिवारलाई सहयोग, मानसरोवर–कैलाश यात्रुको सुरक्षा, आपत्कालीन खाद्य तथा औषधि सहायता र पूर्वसूचना प्रणालीका विषयमा उठाएका चासो नेपालका लागि महत्वपूर्ण रहेको राणाले बताइन्।
हालै संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली तथा साना टापु राष्ट्रका तर्फबाट जलवायु न्यायको विषय उठाएको सन्दर्भ जोड्दै उनले विपद् पूर्वतयारीमा लगानी, तथ्यांक आदानप्रदान र अनुसन्धानका क्षेत्रमा नेपाल–बेलायत सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिइन्।
दुई देशबीचको लामो समयदेखिको सम्बन्धलाई थप मजबुत बनाउँदै संकटको अवस्थामा अनुसन्धानकर्ता, राजनीतिज्ञ र नागरिक समाजलाई एकजुट भएर काम गर्न पनि उनले आह्वान गरिन्।