बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

कुलेखानी आयोजना निरीक्षणमा ऊर्जामन्त्री, बाँध सुरक्षित रहेको भन्दै सर्वसाधारणलाई ढुक्क रहन आग्रह

शनिबार, असोज १७ २०८३
कुलेखानी आयोजना निरीक्षणमा ऊर्जामन्त्री, बाँध सुरक्षित रहेको भन्दै सर्वसाधारणलाई ढुक्क रहन आग्रह

सरकार ऊर्जा सुरक्षालाई प्राथमिकतामा राखेर नियमित तथा गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो।

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पछिल्लो समयको भीषण वर्षाका कारण जोखिममा रहेको भनिएको कुलेखानी जलविद्युत आयोजनाको बाँध क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

निरीक्षणपश्चात मन्त्री श्रेष्ठले बाँध पूर्ण रूपमा सुरक्षित र स्थिर रहेको भन्दै सर्वसाधारणलाई ढुक्क रहन आग्रह गरे।

असोज ८ देखि १२ गतेसम्मको अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतहले सतर्कता तह पार गरेपछि यसको सुरक्षा र तल्लो तटीय क्षेत्रमा पर्ने प्रभावबारे चासो बढेको थियो। सोही सन्दर्भमा शनिबार स्थलगत निरीक्षणका लागि पुगेका मन्त्री श्रेष्ठले बाँधको भौतिक अवस्थाको जानकारी लिएका हुन्।

निरीक्षणका क्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहितको प्राविधिक टोलीले मन्त्री श्रेष्ठलाई बाँधको हालको अवस्था र बाढीको समयमा अपनाइएको सावधानीबारे ब्रिफिङ गराएको थियो। मन्त्री श्रेष्ठले विषम परिस्थितिमा प्राधिकरणले २४ सै घण्टा निगरानी राख्दै कुशल व्यवस्थापन गरेको भन्दै प्रशंसा गरे।

यसअघिको बाढीका कारण देशका विभिन्न जलविद्युत आयोजना तथा प्रसारणलाइनमा क्षति पुगेपछि ऊर्जा प्रणालीमा केही दबाब सिर्जना भएको थियो। तर कुलेखानीको जलाशयमा पानीको राम्रो सञ्चिति भएकाले यसले आगामी सुक्खा याममा विद्युत आपूर्ति व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास मन्त्री श्रेष्ठले व्यक्त गरे।

सरकार ऊर्जा सुरक्षालाई प्राथमिकतामा राखेर नियमित तथा गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो। 

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले कुलेखानीलाई नेपाली विद्युत प्रणालीको ‘मेरुदण्ड’ को संज्ञा दिँदै यसले ’पिकिङ’ (माग उच्च भएको समय) को माग धान्न महत्वपूर्ण भूमिका खेल्ने बताए। हाल बाँधको अवस्था पूर्णतः सामान्य रहेको र प्रणाली सुरक्षित रहेको उनले स्पष्ट पारे।


प्रकाशित : शनिबार, असोज १७ २०८३१२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend