बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

प्रयोग नभए पनि विद्युतीय उपकरण जोडिराख्दा विद्युत खपत हुन्छ, मितव्ययी बनौँ : ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १६ २०८३
प्रयोग नभए पनि विद्युतीय उपकरण जोडिराख्दा विद्युत खपत हुन्छ, मितव्ययी बनौँ : ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ

नेपालमा विद्युत उपभोक्ताको संख्या करिब ६० देखि ६५ लाख रहेको उल्लेख गर्दै प्रत्येक घरमा हुने सानो परिमाणको अनावश्यक विद्युत् खपतले समग्र विद्युत प्रणालीमा ठूलो प्रभाव पार्न सक्ने उनले बताए।

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले घर तथा कार्यालयमा प्रयोग नभए पनि विद्युतीय उपकरण स्ट्यान्डबाइमा राख्दा वा चार्जर प्लगमै जोडेर छोड्दा कुल विद्युत खपतको ५ देखि २० प्रतिशतसम्म अनावश्यक रूपमा खर्च हुनसक्ने अध्ययनले देखाएको दाबी गरेका छन्।

मन्त्री श्रेष्ठले प्रयोगमा नरहेका विद्युतीय उपकरणबाट निरन्तर हुने यस्तो खपतलाई ‘एनर्जी भ्याम्पायर’ वा ‘फ्यान्टम इनर्जी’ भन्ने गरिएको उल्लेख गर्दै विद्युतको मितव्ययी प्रयोग गर्न आग्रह गरे।

‘किन बत्ती छैन?’ भनेर हामीले गुनासाहरू पनि पाइरहेका छौँ। त्यसैले जनचेतनाका रूपमा विद्युतको सदुपयोग गरौँ भन्ने मेरो आग्रह हो। खेर गइरहेको विद्युत् किन खेर जान दिने? त्यसले ट्रान्सफर्मरमा अनावश्यक लोड बढाउँछ। भोलि ट्रान्सफर्मर पड्कियो वा त्यहाँ विद्युत् आपूर्तिमा समस्या आयो भने त्यसको असर उपभोक्तालाई नै पर्छ। त्यसैले मैले विनम्रतापूर्वक विद्युत्को मितव्ययी र सदुपयोग गर्न आग्रह गरेको हुँ' उनले भने। 

नेपालमा विद्युत उपभोक्ताको संख्या करिब ६० देखि ६५ लाख रहेको उल्लेख गर्दै प्रत्येक घरमा हुने सानो परिमाणको अनावश्यक विद्युत् खपतले समग्र विद्युत प्रणालीमा ठूलो प्रभाव पार्न सक्ने उनले बताए।

‘यसबारे धेरै अध्ययनहरू भएका छन्। यस्तो अवस्थालाई ‘एनर्जी भ्याम्पायर’ वा ‘फ्यान्टम एनर्जी’ भन्ने गरिन्छ। उदाहरणका लागि, अहिले हाम्रो विद्युत् ग्राहकको संख्या करिब ६०/६५ लाख छ। हरेक घरमा मल्टिप्लग छन्। मल्टिप्लगमा चार्जर जोडेर छोड्ने, टिभी स्ट्यान्डबाइमा राख्ने लगायतका कारणले मात्रै पनि ५ देखि २० प्रतिशतसम्म विद्युत् खपत हुने अध्ययनहरू छन्। यसलाई ‘एनर्जी भ्याम्पायर’ अथवा ‘फ्यान्टम एनर्जी’ भनिन्छ। यसबारे खोजेर पनि हेर्न सकिन्छ। मैले कसैलाई ‘यो नचलाउनुहोस्’ भनेको होइन। हाम्रो उद्देश्य ट्रान्सफर्मरको लोडलाई केही कम गर्नु हो' उनले भने। 

विद्युतको अनावश्यक खपत घटाउँदा ट्रान्सफर्मरमा पर्ने अतिरिक्त भार कम गर्न र आपूर्ति व्यवस्थापन सहज बनाउन सहयोग पुग्ने बताउँदै उनले विद्युत आपूर्तिमा समस्या हुँदा उपभोक्ताले नै त्यसको असर भोग्नुपर्ने भएकाले जनचेतनामार्फत विद्युतको सदुपयोगमा जोड दिनुपर्ने बताए।

मन्त्री श्रेष्ठले विद्युतको मितव्ययी प्रयोग आम नागरिकमा मात्र सीमित नराखी सरकारी कार्यालयमा समेत लागू गर्नुपर्ने बताए।

उनका अनुसार राति कार्यालय बन्द भएपछि अनावश्यक बत्ती तथा विद्युतीय उपकरण बन्द गर्ने विषयमा स्थानीय, प्रदेश र संघीय सरकारका प्रशासनिक निकायसँग समन्वय भइरहेको छ।

'विद्युतको सदुपयोग गर्न कुनै समस्या छैन। तर खेर जाने विद्युत् किन खेर जान दिने ? दुईवटा बाढीले ऊर्जा क्षेत्रमा ठूलो असर गरेको छ। एउटा बाढीको प्रभाव निकै ठूलो थियो भने अर्कोको असरबाट हामी अहिले पनि पुनःस्थापनाको क्रममा छौँ। त्यसैले विद्युत्को मितव्ययी र सदुपयोगका लागि मैले आग्रह गरेको हुँ' उनले भने।

पछिल्ला बाढीका कारण ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको र विद्युतको मागसमेत बढिरहेको अवस्थामा अनावश्यक खपत नियन्त्रण गर्नुपर्ने बताउँदै मन्त्री श्रेष्ठले दुईवटा बाढीले ऊर्जा क्षेत्रमा पारेको प्रभावबाट पुनःस्थापनाको काम जारी रहेकाले आगामी जाडोयाममा विद्युतको मितव्ययी प्रयोगमा थप संवेदनशील हुन उनले आम नागरिक तथा सरकारी निकायलाई आग्रह गरेका छन्।


प्रकाशित : शुक्रबार, असोज १६ २०८३१३:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend