काठमाडौं- पूर्वाञ्चल विश्वविद्यालयले एआई, डेटा साइन्स र साइबर सुरक्षाका नयाँ पाठ्यक्रम सञ्चालनदेखि गोठगाउँमा १०० शय्याको मातृ-शिशु अस्पताल निर्माण सम्पन्न गर्नेसम्मका योजना अघि बढाएको छ।
विश्वविद्यालयको ४३औँ सभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम पारित गर्दै शैक्षिक कार्यक्रमलाई प्रविधिसँग जोड्ने र चिकित्सा शिक्षाको विस्तार गर्ने योजना अघि सारेको हो।
विश्वविद्यालयका अनुसार एआई, डाटा साइन्स र साइबर सुरक्षाजस्ता क्षेत्रमा नयाँ तथा विशिष्टीकृत पाठ्यक्रम तयार गरी सञ्चालन गरिनेछ। चिकित्साशास्त्र र इन्जिनियरिङतर्फ पनि विशिष्टीकृत पाठ्यक्रम विकास गर्ने योजना छ।
विश्वविद्यालयले आफ्ना प्रशासनिक तथा शैक्षिक सेवासमेत एउटै डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने तयारी गरेको छ। यसबाट विद्यार्थी तथा सेवाग्राहीलाई विश्वविद्यालयका विभिन्न सेवा लिन सहज बनाउने लक्ष्य राखिएको छ।
चिकित्सा शिक्षातर्फ गोठगाउँ परिसरमा निर्माणाधीन १०० शय्याको मातृ-शिशु अस्पताललाई आगामी वर्ष सम्पन्न गर्ने योजना छ। त्यसका लागि कोशी अस्पतालसँगको सहकार्यमा चिकित्सा शिक्षाको गुणस्तर सुधार गर्ने कार्यक्रमसमेत अघि बढाइएको छ।
विश्वविद्यालयले गोठगाउँमा रहेको ८०५ बिघा जग्गामा गुरुयोजनाअनुसार एकीकृत भौतिक संरचना विकास गर्ने जनाएको छ। त्यहाँ शैक्षिक तथा अन्य आवश्यक पूर्वाधार क्रमशः विस्तार गर्ने योजना छ।
त्यस्तै, जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणसम्बन्धी विशेष अनुसन्धान केन्द्र स्थापना गर्ने विश्वविद्यालयको योजना छ। विदेशी विश्वविद्यालयसँग संयुक्त डिग्री तथा विद्यार्थी आदान-प्रदान कार्यक्रम सञ्चालन गर्ने र पछाडि परेका वर्गका विद्यार्थीका लागि छात्रवृत्तिको पहुँच विस्तार गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ।
विश्वविद्यालयको सभाले आगामी वर्षका लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट पनि स्वीकृत गरेको छ। रजिस्ट्रार प्राडा पन्ना बहादुर थापाले प्रस्तुत गरेको आय-व्यय विवरण तथा नीति तथा कार्यक्रम सभाले सर्वसम्मतिले पारित गरेको हो।
सभामा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले बदलिँदो प्रविधि र विश्वव्यापीकरणको मागअनुसार उच्च शिक्षालाई रूपान्तरण गर्नुपर्ने बताएका थिए। विश्वविद्यालयले विद्यार्थीलाई रोजगारी खोज्ने जनशक्तिमा मात्र सीमित नराखी रोजगारी सिर्जना गर्न सक्ने उद्यमशील जनशक्तिका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो।
उनले पारित नीति तथा कार्यक्रम कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना, जिम्मेवारी र समयसीमा निर्धारण गर्न निर्देशन दिए।सभाले कार्यकारी परिषद्का लागि तीन वर्षका लागि तीन जनालाई मनोनयनसमेत गरेको छ। डीनबाट चिकित्साशास्त्र संकायकी डीन प्रा.डा. परिचा उपाध्याय ढुंगेल र कला, कानून तथा शिक्षाशास्त्र संकायका डीन प्रा.डा. कृष्णप्रसाद पाण्डे तथा शिक्षकबाट पू.वि. स्कुल अफ म्यानेजमेन्ट, विराटनगरमा कार्यरत प्राध्यापक मोहनबहादुर बस्नेत मनोनीत भएका छन्।