बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बाढीपहिरोपछि उद्धारदेखि पूर्वाधार मर्मतसम्म सरकारको संयन्त्र परिचालन

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज १३ २०८३
बाढीपहिरोपछि उद्धारदेखि पूर्वाधार मर्मतसम्म सरकारको संयन्त्र परिचालन

मुस्ताङ, मनाङ, पाल्पा, बागलुङ र म्याग्दीलगायत पहाडी तथा हिमाली जिल्लामा पनि बाढीपहिरोको असर परेको छ। ती क्षेत्रका प्रभावित नागरिकका लागि स्थानीय तहसँग समन्वय गरी राहत तथा अस्थायी बसोबासको व्यवस्था मिलाइएको सरकारले जनाएको छ।

काठमाडौं- अविरल वर्षासँगै आएको बाढी, पहिरो, डुबान र अन्य मौसमजन्य घटनाबाट प्रभावित नागरिकको उद्धार तथा सुरक्षित व्यवस्थापनसँगै क्षतिग्रस्त सडक, विद्युत् र दूरसञ्चार सेवा पुनः सञ्चालन गर्न सरकारले विभिन्न संयन्त्र परिचालन गरेको जानकारी गराएको छ। 

असोज ८ गतेदेखि भएका ५१३ वटा मनसुनजन्य घटनामा देशभर २७ जनाको मृत्यु भएको छ भने सात जना घाइते र चार जना सम्पर्कविहीन छन्। घटनाबाट १ हजार ६५ परिवार प्रभावित भएका छन्। २२५ घर पूर्ण र १३७ घरमा आंशिक क्षति पुगेको छ।

सरकारका अनुसार बाढीपहिरोबाट क्षति पुगेका १४७ सडक तथा राजमार्गमध्ये १२५ स्थानमा मर्मतपछि यातायात सञ्चालनमा ल्याइएको छ। बाँकी सडकखण्ड खुलाउन पनि सडक विभागलगायतका सरकारी संयन्त्र परिचालन भइरहेका छन्।

पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ। नारायणी–मुग्लिन सडकखण्डको सिमलतालनजिक भासिएको सडकसमेत मर्मतपछि एकतर्फी सञ्चालनमा आएको छ।

बिपी राजमार्गअन्तर्गत मात्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेंसी, कटुन्जे र चौकीडाँडालगायत स्थानमा पहिरो तथा डाइभर्सन बगेपछि अवरुद्ध सडक खुलाउने काम भइरहेको छ। थप क्षति नभएमा ती स्थानमा बुधबार साँझसम्म यातायात सञ्चालनमा ल्याउने सरकारी आकलन छ।

कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम तथा पाल्पा, बागलुङ र नवलपरासी खण्डका विभिन्न स्थानमा पहिरो खसेको, सडक भासिएको र पुलको एप्रोच बगेको छ। पहिरो पन्छाउने काम जारी रहेकाले पूरै सडक सञ्चालनमा आउन तीन दिनभन्दा बढी लाग्ने प्रारम्भिक आकलन गरिएको छ।

भालुवाङ–चकचके–लिवाङ सडकमा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको छ। बेसिसहर–चामे सडकको मनाङस्थित नासों गाउँपालिका, खोत्रोलगायत स्थानमा पनि पहिरो हटाउने काम भइरहेको छ। पूरै सडक सञ्चालनमा आउन तीन दिन लाग्ने अनुमान छ।

त्रिभुवन राजपथमा पहिरो पन्छाएर सुरक्षा सतर्कतासहित यातायात सञ्चालनमा ल्याइएको छ। सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा २१ स्थानमा पहिरो खसे पनि सडक खुलाउने काम तीव्र पारिएको सरकारले जनाएको छ।

विद्युत् आपूर्ति पुनः सञ्चालनमा

बाढीका कारण कालीगण्डकी, मर्स्याङ्दी र सेती–मादी कोरिडोरलगायत राष्ट्रिय प्रसारण लाइनबाट १ हजार १३.२ मेगावाट विद्युत् आपूर्ति अवरुद्ध भएको थियो। तीमध्ये सेती–मादी कोरिडोरका २६२ मेगावाट र मर्स्याङ्दी कोरिडोरका १९० मेगावाट क्षमताका जलविद्युत् केन्द्र पुनः सञ्चालनमा आएका छन्।

बाढीका कारण अवरुद्ध १४४ मेगावाटको कालीगण्डकी जलविद्युत् केन्द्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। क्षतिग्रस्त राहुघाट जलविद्युत् आयोजनालाई पुनः सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ।

कुस्मा–दाना प्रसारण लाइनमा क्षति पुगेपछि सातवटा जलविद्युत् केन्द्रबाट उत्पादित १९० मेगावाट विद्युत् प्रसारण हुन सकेको छैन। राहुघाट सवस्टेसनसँग जोडिएको ४० मेगावाटको राहुघाट जलविद्युत् केन्द्रबाहेक १२७ मेगावाट उत्पादन भने सञ्चालनमा आउन सक्ने अवस्थामा रहेको सरकारले जनाएको छ।

कालीगण्डकी कोरिडोरअन्तर्गत २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना–कुस्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण पनि प्राप्त भएको छ।

दूरसञ्चार सेवा पनि पुनः जोडिँदै

बाढीपहिरोका कारण अवरुद्ध दूरसञ्चार सेवा पुनः सञ्चालनका लागि पनि काम भइरहेको छ। नेपाल टेलिकमका १ हजार १३२ टावरको नेटवर्क विच्छेद भएकामा ७८२ वटा पुनः सञ्चालनमा ल्याइएको छ। एनसेलका १६२ नेटवर्क विच्छेद भएकामा १०५ वटा मर्मत गरी सञ्चालनमा ल्याइएको छ।

डुबानमा परेका बस्तीका बासिन्दा सुरक्षित स्थानमा

सरकारले डुबानमा परेका बस्तीका बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने काम पनि अघि बढाएको छ।

नारायणी नदीको बाढीका कारण डुबानमा परेको सुस्ताका बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। चितवनको देवघाट, बाह्रघरेलगायत तटीय क्षेत्रका बासिन्दालाई पनि स्थानान्तरण गरिएको छ।

सप्तकोशी नदीमा पानीको बहाव बढेपछि तिलाठी कोइलाडी गाउँपालिकाका डुबान प्रभावित ५०० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ। सर्लाहीको लखनदेई खोलामा आएको बाढीले भाडसर खुटौनाको बस्ती डुबाएको छ भने रौतहटमा लालबकैया र बागमती नदीका तटीय क्षेत्र प्रभावित भएका छन्।

तिनाउ नदी किनारका मझुवा, प्रगतिनगर, हात्तीसुँढ र युद्धनगरलगायत डुबान प्रभावित बस्तीबाट सुरक्षाकर्मीले करिब २०० घरपरिवारका १ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेका थिए।

मुस्ताङ, मनाङ, पाल्पा, बागलुङ र म्याग्दीलगायत पहाडी तथा हिमाली जिल्लामा पनि बाढीपहिरोको असर परेको छ। ती क्षेत्रका प्रभावित नागरिकका लागि स्थानीय तहसँग समन्वय गरी राहत तथा अस्थायी बसोबासको व्यवस्था मिलाइएको सरकारले जनाएको छ।

 


प्रकाशित : मंगलबार, असोज १३ २०८३११:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend