सिन्धुपाल्चोक- निरन्तरको वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि जिल्लाका सबै राजमार्ग तथा सडकमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सूचना जारी गर्दै असोज १० गतेसम्म बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म जिल्लाका सबै राजमार्ग तथा सडकमा सवारी आवागमन बन्द रहने जनाएको छ।
नेपाल मौसम विज्ञान विभागका अनुसार असोज ८ देखि ११ गतेसम्म बागमती प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना छ।
जिल्लाका सबै स्थानमा भारी वर्षाबाट हुन सक्ने बाढी, पहिरोको जोखिम आकलनपछि राति सवारी आवागमन रोक्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
उक्त कार्यालयले आपत्कालीन अवस्था परेमा मौसम विज्ञान विभागको हटलाइन ११५५, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ। रासस