मुस्ताङ- मुस्ताङ भन्सार कार्यालयले २० दिनमा २ अर्ब ५४ करोड ९३ लाख रूपैयाँ राजस्व संकलन गरेको छ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी-केरुङ नाका पूर्णरुपमा बन्द भएपछि नेपाल-चीन उत्तरी कोरला नाका हुँदै पैठारी गरिएका मालवस्तुबापत २० दिनमा उक्त राजस्व जम्मा भएको हो। रसुवाको भोटेकोशी बाढीपछि अधिकांश मालवस्तु कन्टेनर तथा विद्युतीय सवारी (ईभी) गाडी र कन्टेनर रसुवागढी-केरुङ नाकाबाट रुट परिवर्तन भइ कोरला नाका हुँदै नेपाल भित्रिएका हुन्।
कोरला नाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार भदौ १० गतेपछि कोरला नाकाबाट भित्रिएका ५६४ कन्टेनर र एक हजार ९० विद्युतीय सवारी (ईभी) गाडीको भन्सार जाँचपास भएको जानकारी दिए।
केरुङनाकाबाट रुट परिवर्तन भएका र कोरलानाकाबाट नियमित पैठारी हुने मालवस्तुबाट अहिलेसम्मकै छोटो समयमा धेरै राजस्व जम्मा भएको भन्सार प्रमुख चुडालले बताए। नेपाल-चीनतर्फका प्रमुख व्यापारी नाका रसुवागढी र तातोपानी नाका पूर्णरुपमा बन्द अवस्थामा छ। यस्तो अवस्थामा चीनबाट पैठारी गरिने एकमात्रै वैकल्पिक मार्गका रुपमा कोरला नाका बनेको छ।
रसुवागढी नाका पूर्णरुपमा बन्द नहुँदै भदौ १० गते अघि चालु वर्षको साउन र भदौको ९ गतेसम्म मुस्ताङ भन्सार कार्यालयबाट जम्मा ५३ लाख रूपैयाँमात्रै राजस्व संकलन भएको थियो। यस अवधिको चालीस दिनमा कोरला नाकाबाट भित्रिएका १६३ वटा विद्युतीय सवारी (ईभी) गाडी र १३३ वटा मालवस्तु कन्टेनरको मुस्ताङ भन्सार कार्यालयबाट जाँचपास भएको थियो।
मुस्ताङ भन्सारका अनुसार चालु वर्षको साउन र भदौ महिनामा गरी ३ अर्ब ७ करोड ९३ लाख रूपैयाँ राजस्व संकलन भएको छ। प्रमुख चुडालले पहिलो साउन महिनामा २६ करोड ३९ लाख रूपैयाँ राजस्व मुस्ताङ भन्सार कार्यालयमा संकलन भएकोमा दोस्रो भदौ महिनामा २ अर्ब ८१ करोड ५४ लाख रूपैयाँ राजस्व संकलन भएको हो।
मुस्ताङ भन्सारका अनुसार चालु वर्षको पहिलो साउन महिनामा सय वटा विद्युतीय सवारी (ईभी) गाडी (लिजी-न्हेचुङ) कोरलानाका हुँदै नेपाल भित्रिँदा १७ करोड ३४ लाख रूपैयाँ राजस्व संकलन भएको थियो।
यसैगरी चालु वर्षको भदौ महिनामा एक हजार २५३ वटा विद्युतीय सवारीसाधन (ईभी) गाडी नेपाल भित्रिदा १ अर्ब ९३ करोड ९७ लाख रूपैयाँ राजस्व संकलन भएको भन्सार प्रमुख चुडालले बताए। यस्तै चालु वर्षको साउनमा ५७ र भदौ महिनामा ६९७ वटा मालवस्तु कन्टेनर कोरलानाका हुँदै नेपाल भित्रिएका थिए।
मुस्ताङ भन्सार कार्यालयले गत आव २०८२/०८३ को बाह्र महिनामा ६ अर्ब ९२ करोड रूपैयाँ राजस्व जम्मा गरेको थियो। त्यस वर्ष कोरलानाकाबाट तीन हजार २२३ वटा विद्युतीय सवारीसाधन (ईभी) गाडी नेपाल भित्रिएका थिए। रासस