काठमाडौं- आरजु राइस मिल प्रालिले मधेश प्रदेश विशेषगरी सर्लाही, रौतहटबाट करिब १० हजार मेट्रिकटन जिरा मसिनो जातका वर्षे धान खरिद गर्ने भएको छ। देशकै सबैभन्दा बढी धान उत्पादन गर्ने मधेशका किसानलाई उचित मूल्य र सुनिश्चित बजार उपलब्ध गराउने उद्देश्यसहित मिलले धान खरिद योजना अघि सारेको हो।
प्रस्तावित खरिदको कुल मूल्य करिब ३९ करोड रूपैयाँभन्दा बढी हुने मिलले जनाएको छ। आरजु राइस मिलका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले मधेश प्रदेशका मुख्यमन्त्रीलाई पत्र लेख्दै किसानले उत्पादन गरेको धानलाई पूर्वघोषित न्यूनतम समर्थन मूल्यका आधारमा खरिद गर्ने र किसानलाई बजारसँग प्रत्यक्ष जोड्ने पहल अघि सारेका हुन्।
मिलको प्रस्तावअनुसार किसानले न्यूनतम समर्थन मूल्यको वास्तविक लाभ मिल्नेगरी बजार, ढुवानी, संकलन तथा गुणस्तर व्यवस्थापनलाई एकीकृतरूपमा अघि बढाइने जनाइएको छ।
आरजु राइस मिलले किसानबाट पूर्वघोषित न्यूनतम समर्थन मूल्यका आधारमा धान खरिद गरी किसानका लागि निश्चित बजार सिर्जना गर्ने लक्ष्य राखेको छ। मिलले तोकिएको गुणस्तरअनुसार धानको मूल्य निर्धारण गर्ने र गुणस्तर राम्रो भए थप मूल्य प्राप्त गर्न सकिने व्यवस्था प्रस्ताव गरेको छ। यसले किसानलाई उत्पादन बेच्न बजार खोज्दै हिँड्नुपर्ने बाध्यता कम गर्नुका साथै मूल्यमा हुने अनिश्चितता घटाउने अपेक्षा गरिएको छ।
यस पहलबाट किसानलाई मुख्यरूपमा सुनिश्चित बजार, उचित मूल्य, बिचौलियामाथिको कम निर्भरता, कटानीपछिको नोक्सानी न्यूनीकरण तथा सामूहिक रूपमा धान बिक्री गर्ने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ। किसान समूह, किसान उत्पादक संस्था तथा सहकारीमार्फत धान संकलनलाई व्यवस्थित गर्न सकिएमा ढुवानी तथा अन्य लागतसमेत घटाउन सकिने मिलको धारणा छ।
मिलले धान खरिद गर्दा गुणस्तर, तौल, मूल्य तथा भुक्तानी प्रक्रियालाई पारदर्शी राख्ने प्रतिबद्धता जनाएको छ।
प्रदेश सरकारको नीतिगत सहकार्य र निजी क्षेत्रको बजार तथा व्यवस्थापन क्षमता किसानसँग प्रभावकारी रूपमा जोड्न सकिए मधेश प्रदेशको धान खेतीलाई थप व्यावसायिक, प्रतिस्पर्धी र लाभदायी बनाउन महत्वपूर्ण योगदान पुग्ने आरजु राइस मिलको विश्वास छ।