बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्वसूचना प्रणाली

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ७ २०८३
चीनले नेपाललाई हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्वसूचना प्रणाली
एआई निर्मित सांकेतिक तस्बिर।

बहुजोखिम पहिचान, पूर्वसूचना र मौसमसम्बन्धी जोखिम व्यवस्थापनका लागि विकास गरिएको एआईमा आधारित प्रणाली हो।

काठमाडौं- चीनले नेपालको मौसमसम्बन्धी पूर्वसूचना तथा विपद् प्रतिकार्य क्षमता सुधार्न सहयोग पुर्‍याउने उद्देश्यले एआईमा आधारित मौसम पूर्व-सूचना प्रणाली ‘माजु’को नेपालका लागि तयार पारिएको संस्करण हस्तान्तरण गरेको छ।

चीनको मौसम विज्ञान प्रशासन (सीएमए)ले जनाएअनुसार चीन-नेपाल सीमास्थित केरुङ-रसुवा नाकामा गएको पहिरो र त्यसबाट सिर्जित बाढीपछि गत अगस्ट २९ मा नेपालको मौसम विज्ञान विभागलाई माजुको क्लाउड-आधारित परीक्षण संस्करण उपलब्ध गराइएको हो।

सीएमएका अनुसार नेपालका लागि विशेष रूपमा तयार गरिएको माजु संस्करण विकास गर्दा स्थानीय भौगोलिक अवस्था, विपद्का विशेषता, पूर्वाधार तथा उपलब्ध तथ्यांकलाई ध्यानमा राखिएको छ।

चीनले पहिरोपछि नेपाललाई मौसम पूर्वानुमान तथा पूर्व-सूचनासम्बन्धी सहयोग उपलब्ध गराएको थियो। विपद् राहत तथा उद्धारकार्यमा सहयोग पुर्‍याउन उच्च-रिजोल्युसन र द्रुत रूपमा अद्यावधिक हुने मौसम पूर्वानुमान तथा पूर्वसूचना सामग्री उपलब्ध गराइएको सीएमएले जनाएको छ।

सीएमएले उत्तरपश्चिमी चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको राजधानी उरुम्कीमा आयोजित दोस्रो चीन-मध्य एसिया मौसम सहयोग मञ्चमा नेपालका लागि तयार गरिएको माजु संस्करण हस्तान्तरण गरेको हो।

माजु बहुजोखिम पहिचान, पूर्वसूचना र मौसमसम्बन्धी जोखिम व्यवस्थापनका लागि विकास गरिएको एआईमा आधारित प्रणाली हो। यसको नाम समुद्रकी चिनियाँ संरक्षक देवी ‘माजु’बाट राखिएको हो।

सीएमएले सन् २०२६/२०२७ का लागि मध्यएसियाली देशमा माजु प्रणाली लागु गर्ने योजना पनि सार्वजनिक गरेको छ। यसको उद्देश्य चीन र मध्यएसियाली देशबीच मौसमसम्बन्धी सहयोग विस्तार गर्नुका साथै क्षेत्रीय विपद् रोकथाम तथा न्यूनीकरण क्षमता अभिवृद्धि गर्नु रहेको जनाइएको छ।

सीएमएका प्रमुख चेन झेन्लिनका अनुसार माजु हाल सात देशमा प्रयोगमा छ भने ५० भन्दाबढी देशमा यसको क्लाउड-आधारित परीक्षण भइरहेको छ। सीएमएले प्रणालीको अन्तर्राष्ट्रिय प्रयोग विस्तार गर्ने योजना बनाएको उनले बताए।


प्रकाशित : बुधबार, असोज ७ २०८३१०:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend