काठमाडौं- वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले दार्चुलाको महाकाली नगरपालिकामा मनोविकास अभियानको सुरुवात गरेको छ।
मानसिक स्वास्थ्यको प्रवर्द्धन, रोकथाम, प्रारम्भिक पहिचान तथा पालिकाको मानसिक स्वस्थ्य नीति र प्रणालीलाई सुदृढ गर्ने उद्देश्यले आफ्नो सस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत साइकडेस्क फाउन्डेसन र महाकाली नगरपालिकाको सहकार्यमा मनोविकास अभियान सुरुवात गरेको हो।
महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसरको अध्यक्षता तथा दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जिल्ला र स्थानीय सरकारका प्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक, विद्यार्थी तथा अन्य सरोकारवालाहरूको उल्लेखनिय सहभागिता रहेको थियो।
कार्यक्रममा वर्ल्डलिंककी सीएसआर निर्देशक तथा प्रमोटर सेयरहोल्डर, अनुपा भण्डारी जालानले मनोविकास अभियान कुनै एकल कार्यक्रम नभइ व्यक्ति, परिवार, विद्यालय, समुदाय र स्थानीय सरकारलाई जोड्दै पालिकाको मानसिक स्वास्थ्य नीति निर्माण र प्रणालीलाई सुदृढ गर्ने साझा प्रयास रहेको बताए।
वर्ल्डलिंक सीएसआरले विगत पाँच वर्षदेखि विभिन्न जिल्लामा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आइरहेको जनाएको छ। साइकडेस्क फाउन्डेसनसँगको तीन वर्षे साझेदारीअन्तर्गत धनगढी, विराटनगर र पोखरामा आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम र साइड वाक टक कार्यक्रम ३-३ महिना गरेर ९ महिना सञ्चालन गरेका थियो।
साथै, एक वर्षअघि दार्चुलाको महाकाली, बैतडीको मेलौली र काठमाडौको कागेश्वरी ३ वटा पालिकाहरुमा गरिएको मानसिक स्वास्थ्यसम्बन्धी अध्ययनबाट प्राप्त आवश्यकता र सुझावका आधारमा यस वर्षको मनोविकास अभियानको अवधारणा तयार गरिएको वर्ल्डलिंकले जनाएको छ।