बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

कर्पोरेट विश्वमा जलवायु लक्ष्य व्यापार रणनीतिसँग जोडिँदै

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज ४ २०८३
कर्पोरेट विश्वमा जलवायु लक्ष्य व्यापार रणनीतिसँग जोडिँदै

ताप र चिस्यानसँग सम्बन्धित अप्रत्यक्ष उत्सर्जन औसत ११ प्रतिशत घटाएका छन्। उद्योगगत तुलनामा गैरसदस्य कम्पनीको औसत कमी ७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

काठमाडौं- केही वर्षअघिसम्म कम्पनीका जलवायु प्रतिबद्धता वातावरण संरक्षण वा सामाजिक उत्तरदायित्वसँग बढी जोडिन्थे। अहिले भने ठूला कम्पनीहरूले कार्बन उत्सर्जन घटाउने लक्ष्यलाई खरिद, उत्पादन, ढुवानी, ऊर्जा र आपूर्ति शृंखलासम्म विस्तार गर्न थालेका छन्।

सन् २०१९ मा अमेजन र ग्लोबल अप्टिमिज्मले सुरु गरेको द क्लाइमेट प्लेजको २०२६ को प्रतिवेदनले सदस्य कम्पनीहरूमा यस्तो परिवर्तन देखाएको हो। प्रतिवेदनअनुसार कम्पनीहरूले उत्सर्जन घटाउने कामलाई आफ्नो नियमित व्यावसायिक सञ्चालन र दीर्घकालीन रणनीतिमा समेट्दै नयाँ प्रविधि, कार्बनरहित ऊर्जा, विद्युतीय सवारीसाधन, कम उत्सर्जन हुने सामग्री तथा आपूर्तिकर्तासँगको सहकार्यमा लगानी बढाइरहेका छन्।

द क्लाइमेट प्लेजमा अहिले ४९ देश तथा क्षेत्रका ७०५ कम्पनी आबद्ध छन्। ती कम्पनीको संयुक्त वार्षिक आम्दानी ३.८ ट्रिलियन अमेरिकी डलर पुगेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनले यो आकारलाई विश्वको सातौँ ठूलो अर्थतन्त्रसँग तुलना गरेको छ।

जलवायु प्रतिबद्धता र वास्तविक उत्सर्जन घटाउने कामबीच पनि केही सम्बन्ध देखिएको प्रतिवेदनको दाबी छ। सन् २०२१ देखि २०२४ सम्म सदस्य कम्पनीले प्रत्यक्ष उत्सर्जन तथा खरिद गरिएको विद्युत्, ताप र चिस्यानसँग सम्बन्धित अप्रत्यक्ष उत्सर्जन औसत ११ प्रतिशत घटाएका छन्। उद्योगगत तुलनामा गैरसदस्य कम्पनीको औसत कमी ७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

उत्सर्जन घटाउन नवीकरणीय ऊर्जा प्रयोगलाई प्रमुख उपायका रूपमा औंल्याउँदै प्रतिवेदनले इन्धन दहन, औद्योगिक प्रक्रिया र सवारीसाधनजस्ता क्षेत्रमा हुने प्रत्यक्ष उत्सर्जन घटाउन पनि कम्पनीहरूले लगानी बढाइरहेको जनाएको छ।

परिवर्तन कम्पनीभित्र मात्र सीमित छैन। द क्लाइमेट प्लेजका सदस्य कम्पनीले साझा पूर्वाधार, आपूर्ति शृंखला र प्रविधि विकासमा पनि सहकार्य गर्न थालेका छन्। प्रतिवेदनअनुसार ३३ वटा संयुक्त परियोजनामा १२२ सदस्य कम्पनी सहभागी छन्। ती परियोजनामा विद्युतीय राजमार्ग र बन्दरगाह ढुवानीजस्ता क्षेत्र समेटिएका छन्।

यसको प्रभाव अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आबद्ध व्यवसायसम्म पुग्न सक्छ। ठूला बहुराष्ट्रिय कम्पनीले आफ्नै सञ्चालनको उत्सर्जन घटाउनुका साथै आपूर्तिकर्ताबाट हुने उत्सर्जनलाई पनि महत्व दिन थालेकाले भविष्यमा वातावरणीय मापदण्ड पूरा गर्नु अन्तर्राष्ट्रिय बजारमा कारोबार गर्ने कम्पनीका लागि थप महत्वपूर्ण हुन सक्ने देखिन्छ।


प्रकाशित : आइतबार, असोज ४ २०८३१२:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend