बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

लोकप्रिय हुँदै अन्तरदेशीय क्यूआर भुक्तानी

आइतबार, असोज ४ २०८३
लोकप्रिय हुँदै अन्तरदेशीय क्यूआर भुक्तानी

नेपालमा भारतीय रुपैयाँ साटेर नेपाली नगद बोक्नुपर्ने बाध्यता घटेको छ। आफ्नो मोबाइलमा रहेको युपीआई प्रयोग गरेर नेपालमै भुक्तानी गर्न सकिने भएपछि साना रकमको कारोबारसमेत सहज भएको छ।

काठमाडौं- नेपालमा विदेशीले आफ्नो देशको भुक्तानी प्रणाली प्रयोग गरेर सामान तथा सेवा खरिद गर्ने क्रम बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार २०८३ साउनमा अन्तरदेशीय क्यूआर भुक्तानीमार्फत  ८४ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो कारोबार  ३७ करोड ३९ लाख थियो।

एक वर्षमा अन्तरदेशीय क्यूआर भुक्तानीको रकम दोबरभन्दा धेरै बढेको छ। कारोबार संख्या पनि २ लाख ४ हजार ६०६ बाट बढेर ३ लाख १७ हजार ३३२ पुगेको छ। अर्थात् कारोबार संख्या ५५ प्रतिशत बढ्दा कारोबार रकम भने सवा दुई गुणाभन्दा बढी बढेको छ। सहज भुक्तानी प्रणालीले खर्च बढाएको छ। 

नेपालमा अन्तरदेशीय क्यूआर भुक्तानीको अभ्यास भने केही वर्षअघिदेखि सुरु भएको हो। नेपाल राष्ट्र बैंकका अनुसार विदेशी भुक्तानी प्रणालीमार्फत नेपाली व्यापारीका क्यूआरमा भुक्तानी स्वीकार गर्ने व्यवस्था विस्तार हुँदै गएको छ। भारतको युपीआई, चीनका अलिपे र वीच्याट पे जस्ता प्रणालीबाट नेपालमा भुक्तानी गर्न सकिने व्यवस्था छ।

भारतसँगको क्यूआर भुक्तानी भने पछिल्लो समय थप विस्तार भएको छ। भारतीय युपीआई प्रयोगकर्ताले नेपालका क्यूआरमा सिधै भुक्तानी गर्न सक्ने व्यवस्था सन् २०२४ फेब्रुअरीदेखि सुरु भएको हो। यसबाट भारतीय नागरिकले नेपालमा सामान तथा सेवा किन्दा नगद साट्नुपर्ने वा छुट्टै भुक्तानी माध्यम खोज्नुपर्ने झन्झट कम भएको छ।

राष्ट्र बैंकका अनुसार भारतसँग यो सेवा सुरु भएको प्रारम्भिक पाँच महिनामै १ लाख ३४ हजार ७०१ कारोबारबाट करिब ३२ करोड बराबरको भुक्तानी भएको थियो।

अन्तरदेशीय क्यूआर भुक्तानीको पछिल्लो कारोबारमा भारतीय युपीआईको हिस्सा कति छ भन्ने छुट्टै विवरण भने राष्ट्र बैंकको मासिक तथ्यांकमा छैन। त्यसैले २०८३ साउनमा भएको ‍८४ करोड १५ लाखमध्ये कति रकम भारतीय नागरिकले खर्च गरेको हो भन्ने यकिन छैन  तर भारतीय युपीआई प्रयोगकर्ताका लागि नेपालमा क्यूआरबाट भुक्तानी गर्ने सुविधा विस्तार भएपछि यसको प्रयोग बढ्दै गएको तथ्य भने पुराना तथ्यांकले देखाउँछन्।

प्रदेशगत तथ्यांकले पनि यस्तो भुक्तानी केही निश्चित बजारमा बढी केन्द्रित रहेको देखाउँछ। राष्ट्र बैंकको प्रतिवेदनअनुसार अन्तरदेशीय क्यूआर भुक्तानीको सुरुआती चरणमा बागमतीमा ५७ हजार ३३६ र गण्डकीमा २२ हजार २५३ कारोबार भएका थिए। मधेशमा पनि १२ हजार ७९० कारोबार भएको थियो।

बागमतीमा काठमाडौं उपत्यकाको ठूलो व्यापारिक बजार र गण्डकीमा पोखरालगायत क्षेत्रमा विदेशीले क्यूआरबाट भुक्तानी गर्न सक्ने सुविधा विस्तार हुनु यसको प्रयोग बढ्ने आधार बनेको छ। विदेशी ग्राहकले होटल, रेस्टुरेन्ट, पसललगायत ठाउँमा आफ्नै देशको भुक्तानी प्रणालीबाट नेपाली क्यूआरमा पैसा तिर्न सक्ने भएका छन्।

यसको सबैभन्दा प्रत्यक्ष लाभ भारतीय ग्राहकले पाएका छन्। नेपालमा भारतीय रुपैयाँ साटेर नेपाली नगद बोक्नुपर्ने बाध्यता घटेको छ। आफ्नो मोबाइलमा रहेको युपीआई प्रयोग गरेर नेपालमै भुक्तानी गर्न सकिने भएपछि साना रकमको कारोबारसमेत सहज भएको छ।

अन्तरदेशीय क्यूआर भुक्तानी बढ्दै जाँदा यसको प्रभाव पर्यटकको संख्या र आम्दानीमा मात्र सीमित छैन। विदेशी ग्राहकले नेपालमा कसरी पैसा खर्च गर्छन् भन्ने तरिका पनि बदलिँदै गएको छ। नगद वा कार्डमा निर्भर खर्चको केही हिस्सा मोबाइलबाटै नेपाली व्यवसायीसम्म पुग्न थालेको छ।


प्रकाशित : आइतबार, असोज ४ २०८३०९:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend