बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

जेनजी सांसदहरूलाई प्रधानमन्त्रीले भने - राजनीतिलाई 'कमाउने माध्यम' बनाउनुहुँदैन, आम्दानीको छुट्टै व्यावसायिक आधार खडा गर्नुहोस्

शुक्रबार, असोज २ २०८३
जेनजी सांसदहरूलाई प्रधानमन्त्रीले भने - राजनीतिलाई 'कमाउने माध्यम' बनाउनुहुँदैन, आम्दानीको छुट्टै व्यावसायिक आधार खडा गर्नुहोस्

'सांसदको भूमिका सकिएपछि तपाईँहरूलाई अब आम्दानीको बाटो केही पनि छैन भनेर चिन्ता गर्न नपरोस्, त्यसका लागि अहिलेदेखि नै छुट्टै व्यवसाय पनि सुरु गर्नुहोस्', उनले भने।

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूलाई नवीन सोचका साथ आफै उदाहरण बनेर आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरेर काम आग्रह गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित अन्तरक्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै त्योभन्दा अझ अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आह्वान गरे। यसका लागि उनले स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना-प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने र पुराना तथा अव्यवहारिक सोच त्याग्न सुझाव दिए।

साथै, उनले राजनीतिलाई पेसा नबनाइ आम्दानीको छुट्टै व्यावसायिक आधार खडा गर्दै दीर्घकालीनरूपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्नसमेत आग्रह गरे। उनले भने, 'राजनीतिलाई कमाउने माध्यम बनाउनुहुँदैन, त्यसैले सांसदहरू अरु नै व्यवसाय गरेर आत्मनिर्भर बन्नुपर्छ, सांसदको भूमिका सकिएपछि तपाईँहरूलाई अब आम्दानीको बाटो केही पनि छैन भनेर चिन्ता गर्न नपरोस्, त्यसका लागि अहिलेदेखि नै छुट्टै व्यवसाय पनि सुरु गर्नुहोस्।'

अन्तरक्रियामा सहभागी जेनजी उमेरका सांसदहरूले प्रधानमन्त्री शाहको यो आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सिर्जना गर्ने कार्यमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनीहरूले जेनजी आन्दोलनका सहिद र घाइते, जेनजी आन्दोलनका क्रममा पक्राउ परेका व्यक्ति, कानून निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, सूचना तथा प्रविधिका साथै आफ्ना निर्वाचन क्षेत्र केन्द्रित मुद्दाहरू प्रधानमन्त्रीसमक्ष राखेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालका अनुसार प्रधानमन्त्रीले जेनजी सांसदहरूले डिजिटलाइजेसन, ई-गभर्नेन्स, आर्टिफिसियल इन्टेलिजेन्स, खेलकुद, कला तथा विदेशमा रहेका युवाका विषयलाई समेत संसदको एजेण्डा बनाउनुपर्ने धारणा राखेका थिए। प्रधानमन्त्रीले संसदका गतिविधि आफूले नियमित रूपमा नियालिरहेको र जेनजी सांसदहरूबाट नयाँ सोच र फरक एजेण्डाको अपेक्षा रहेको बताएका थिए। 

नेपालमा आईटी व्यवसाय दर्ता र सञ्चालनका लागि सहज वातावरण निर्माण गर्नुपर्ने विषय सांसदहरूले उठाएका थिए। प्रधानमन्त्रीले नेपालमै व्यवसाय दर्ता गर्ने वातावरण बनाउन सरकार तयार रहेको र समस्या आए सरकारसँग सुझाव तथा समन्वय गर्न आग्रह गरेको रास्वपा सांसद केपी खनालले बताए।

प्रधानमन्त्रीले जेनजी पुस्ताका युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका थिए। त्यसका लागि बैंकिङ कर्जा प्रक्रियालाई सहज बनाउने तथा नयाँ व्यवसायलाई प्रोत्साहन गर्ने विषयमा समेत छलफल भएको थियो। 

अन्तरक्रियामा सांसदहरू बब्लु गुप्ता, खिमा विक, पुष्पाकुमारी चौधरी, श्रद्धा कुँवर क्षेत्री, स्मृति सेञ्चुरी, शिव शंकर यादव, केपी खनाल, मनिष खनाल, पुरुषोत्तम शुप्रभात यादव, सुलभ खरेल र प्रशान्त उप्रेती सहभागी थिए।


प्रकाशित : शुक्रबार, असोज २ २०८३१६:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend