बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सडकमा देखिएका समस्या जानकारी दिन ‘सडक सुझाव’ मोबाइल एप, फोटोसहित उजुरी गर्न सकिने

बिहीबार , असोज १ २०८३
सडकमा देखिएका समस्या जानकारी दिन ‘सडक सुझाव’ मोबाइल एप, फोटोसहित उजुरी गर्न सकिने
एआई निर्मित सांकेतिक तस्बिर।

समस्या रिपोर्ट गरिसकेपछि समस्या देखिएको स्थान एपले जीआईएस म्यापिङमार्फत पहिचान गर्नेछ। प्रयोगकर्ताले आवश्यक परे ठेगाना खोजेर स्थानसमेत निर्धारण गर्न सक्ने छन्।

काठमाडौं- सडक डिभिजन काठमाडौंले सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी तत्काल उपलब्ध गराउन सकिने गरी ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा ल्याउने भएको छ।

सडक डिभिजनले काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरुलाई बुधबार साँझ एपबारे ब्रिफिङ गराएको छ।

एपमार्फत सडकमा भएका खाल्डाखुल्डी, सडक क्षति, पानी जम्ने समस्या, ट्राफिक सुरक्षा तथा सडक निर्माणसँग सम्बन्धित समस्या फोटोसहित रिपोर्ट गर्न व्यवस्था रहेको डिभिजन प्रमुख सुवोधकुमार देवकोटाले जानकारी दिए। उक्त एप आज बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेकोसमेत उनले बताए।

‘समस्या देखेर गुनासो मात्र होइन। अब समाधान पनि त्यहीँ एपमार्फत जुट्न सकिन्छ। सबैभन्दा पहिले प्ले स्टोर वा एप स्टोरमा गइ सडक सुझाव एप डाउनलोड गर्ने, एप खोल्नुहोस् र होम स्क्रिनमा रहेको ‘रिपोर्ट अ प्रब्लम’मा क्लिक गरी समस्याको फोटो अपलोड गर्न सकिन्छ। फोटो खिचेको स्थान एपले स्वतः पहिचान गर्दछ। आवश्यक परे ठेगाना खोजी गरी स्थानसमेत निर्धारण गर्न सक्छ। त्यसपछि समस्याको प्रकार छनोट गरी समस्याको गम्भीरताको स्तर छनोट गर्ने काम गर्नुपर्‍यो। सबै विवरण जाँच गरी समिट गर्न सकिन्छ' उनले भने।

'रिपोर्ट सफलतापूर्वक दर्ता भएपछि एउटा रिफरेन्स नम्बर प्राप्त हुन्छ। दर्ता गरिएको रिपोर्टको अवस्था पनि एपमार्फत हेर्न सकिन्छ। प्राप्त रिपोर्टहरूलाई समस्याको आवश्यकता, गम्भीरता र प्राथमिकताका आधारमा मूल्यांकन गरी आवश्यकताअनुसार समाधान तथा व्यवस्थापनको प्रक्रिया अघि बढाइनेछ’ उनले भने। 

विस्तारै यो प्रणालीसँग भक्तपुर र ललितपुरलाई समेत जोडिने उनले बताए।

समस्या रिपोर्ट गरिसकेपछि समस्या देखिएको स्थान एपले जीआईएस म्यापिङमार्फत पहिचान गर्नेछ। प्रयोगकर्ताले आवश्यक परे ठेगाना खोजेर स्थानसमेत निर्धारण गर्न सक्ने छन्। समस्या दर्ता गर्दा फोटो, समस्याको प्रकार, गम्भीरताको स्तर र नजिकको चिनारी स्थान राख्नुपर्ने छ।

काठमाडौं उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन कार्यालय यसअघि नै ‘सडक पोटहोल मर्मत एम्बुलेन्स’ परिचालन गरिसकेको समेत जानकारी दिए। उनले सडकलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले कार्यालयले मर्मत अभियानलाई तीव्रता दिएको दिएकोसमेत बताए। 

स्वयंसेवक परिचालन गर्न सुझाव 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सडकका खाल्डाखुल्डी तथा क्षतिको पहिचान गर्न राइडर तथा स्वयंसेवक परिचालन गर्न सडक डिभिजन काठमाडौंलाई सुझाव दिएका छन्। 

सडक सुझाव एपलाई समस्या बटुल्ने माध्यमका रुपमा मात्र सीमित नराखी सक्रिय रूपमा सडकको अवस्था पहिचान गर्ने प्रणालीका रूपमा विकास गर्नुपर्ने उनले बताए।

कर्मचारीमार्फत नियमित सडक निरीक्षण गर्दा लागत बढ्न सक्ने भन्दै इन्ड्राइभ, पठाओलगायतका राइड सेयरिङ कम्पनीका चालकलाई सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सडक निरीक्षणमा परिचालन गर्न सकिने उनले प्रस्ताव गरे।

सांसद बमले चावहिलदेखि रिङरोडका निश्चित खण्डमा राइडर परिचालन गरी साप्ताहिक रूपमा सडकको अवस्थाबारे तथ्यांक संकलन गरी मर्मत कार्य गर्न सकिने बताए।

रास्वपा सांसद गणेश पराजुलीले एपमार्फत २४ सै घण्टा सडक मर्मत तथा खाल्डाखुल्डी पुर्ने काम सुरु हुनु सकारात्मक भएको बताए। उनले एपमार्फत सडक सुधारको कार्यलाई थप प्रभावकारी बनाउन सांसद, सरकार र नागरिकको साझेदारी आवश्यक रहेको पनि बताए। उनले काठमाडौं उपत्यकाका निर्माणाधीन तथा बिग्रिएका सडकलाई शीघ्र पूर्णता दिनुपर्नेमा जोड दिए। उनले स्थानीय तहको क्षेत्राधिकारभित्र पर्ने सडक मर्मतमा संघीय सरकारले प्रत्यक्ष हस्तक्षेप गर्नुभन्दा स्थानीय सरकारसँग समन्वय गरेर काम गर्नुपर्ने बताए।


प्रकाशित : बिहीबार , असोज १ २०८३१०:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend