मुस्ताङ- मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु भएको छ। सम्मेलनमा ४ सय २१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधि सहभागी छन्।
सातै प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधिसहित दुई हजार बढी अतिथि मुस्ताङ आइपुगेको घरपझोङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए।
सम्मेलनको व्यवस्थापनका लागि पालिकाअन्तर्गतका पाँचै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब र अन्य संघसस्थालाई परिचालन गरिएको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले जानकारी दिए।
उपाध्यक्ष थकालीका अनुसार सम्मेलनमा आउने अतिथिका लागि बिहानको ब्रेक फास्ट, खाना र खाजा सम्मेलनस्थलमा नै आमा समूहको टोलीले व्यवस्थापन गर्नेछ। बेलुकीको खाना र बसोबासका भने गाउँपालिकाले तोकेको होटलमा व्यवस्था मिलाइएको उपाध्यक्ष थकालीले बताए।
सम्मेलनलाई भव्य बनाउन गाउँपालिकाका पाँचै वडाका सडक र बस्तीमा स्थानीय मौलिक कला, संस्कृतिसहितको ध्वजापतङ्गा झुन्ड्याएर सजिसजाउ गरिएको छ।
गाउँपालिकाको मुख्य राजमार्ग सडक तथा भित्री सडकहरुमा सडक बत्ती जडान गरी झिलीमिली पारिएको छ। आगन्तुक अतिथिको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी स्वंयसेवक परिचालन गरिएको छ। खानेपानी र इन्टरनेट, विद्युत् सेवालाई समस्या नहुनेगरी पूर्वतयारी गरिएको छ।
यसैगरी सवारी पार्किङ तथा ट्राफिक व्यवस्थापनलाई सहज पारिएको छ। जोमसोम कभर्डहलमा हुने सम्मलनमा स्टेज, साउन्ड सिस्टम, ब्यानरसहित आवश्यक सजावट गरिएको गाउँपालिकाका सूचना अधिकारी विकास सज्यालले जानकारी दिए।
सम्मेलनस्थलभित्र २८ फिट उचाइको जलवायु परिवर्तनको असरसम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ।
यस्तै, मुस्ताङका कृषि उत्पादनको प्रचारप्रसार गर्ने उद्देश्यका साथ पचासभन्दा बढी स्टल राखिएको गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभयो। दुई दिनसम्म चल्ने सम्मेलनले जलवायु परिवर्तनको असरसम्बन्धी घोषणापत्र जारी गर्नेछ। रासस