बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

चाँदी व्यापारमा 'हिमालयन बुलियन'माथि ठगीको आरोप, १ करोड ३ लाख रुपैयाँ फिर्ता र क्षतिपूर्ति मागसहित मुद्दा

सुनचाँदी तथा हिरा व्यापारमा संलग्न व्यवसायी राकेशकुमार अडुकियासमेत जोडिए

मंगलबार, भदौ ३० २०८३
चाँदी व्यापारमा 'हिमालयन बुलियन'माथि ठगीको आरोप, १ करोड ३ लाख रुपैयाँ फिर्ता र क्षतिपूर्ति मागसहित मुद्दा

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३ (उपभोक्ताको अधिकार), दफा ८ (व्यापारीको दायित्व), दफा १४ (रकम फिर्तासम्बन्धी), दफा २१, ५०, ५१ र ५२ का आधारमा मुद्दा दायर भएको छ।

काठमाडौं- सुनचाँदी तथा हिरा व्यापारका लागि दर्ता भएको हिमालयन बुलियन कम्पनी लिमिटेडको एकपछि अर्को ठगीका विषय अदालतसम्म पुगिरहेका छन्। कम्पनीविरुद्ध पछिल्लो समय रकम फिर्ता र क्षतिपूर्तिको माग गर्दै उपभोक्ता अदालतमा चारवटा मुद्दा परेको छ।

चाँदी किन्न दिएको रकम फिर्ता नगरेको र फिर्ता गर्नुपर्ने भए कमिसन रकम तिर्नुपर्ने हिमालयन बुलियनले भनेपछि त्यसविरुद्धसमेत उपभोक्ता अदालतमा मुद्दा दायर भएको छ। २०८३ साउनमा कौशल फुयालले हिमालयन बुलियनले आफूले चाँदी खरिद गर्न दिएको रकम फिर्ता नदिएको र फिर्ता दिनु परे कमिसन काटिने भनेपछि उपभोक्ता आदालतमा मुद्दा दायर गरेका हुन्।

१७ किलो चाँदी खरिदका रकम भुक्तानी भएको महिनौँ बितिसक्दा पनि सामान उपलब्ध नगराएको र रकम फिर्ता गर्न अस्वीकार गरेको भन्दै उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार १ करोड ३ लाख १३ हजार ९ सय रुपैयाँ र सोहीबराबरको क्षतिपूर्ति माग गर्दै मुद्दा दायर भएको हो।

फुयालले उपभोक्ता अदालतसमक्ष हिमालयन बुलियन कम्पनी र त्यसका सञ्चालक तथा कार्यकारी अधिकृतलाई विपक्षी बनाइ फिरादपत्र दर्ता गराएका हुन्। उक्त मुद्दामा चाँदी खरिदका लागि बुझाएको साँवा रकम १ करोड ३ लाख १३ हजार ९ सय रुपैयाँ विपक्षीहरूबाट भराउन भनिएको छ।

त्यस्तै ब्याज तथा क्षतिपूर्तिबापत रकम रोकेर राखेकाले शारीरिक, मानसिक, आर्थिक र भौतिक क्षतिको मूल्यांकन गरी साँवाबराबरको अतिरिक्त १ करोड ३ लाख १३ हजार ९ सय रुपैयाँ क्षतिपूर्ति र भराउ हुने मितिसम्मको ब्याज दिलाउन माग गरिएको छ। 

कौशल फुयालले १ करोड ३ लाख १३ हजार ९ सय रुपैयाँ २०२६ जनवरी २७ (२०८२ माघ १३ गते) मा हिमालयन बुलियनसँग चाँदी अडर गरेका थिए। फुयालले प्रतिकिलो ६ लाख ६ हजार ७ सय रुपैयाँ दरले १७ किलो चाँदी खरिदका लागि कुल १ करोड ३ लाख १३ हजार ९ सय रुपैयाँ ग्लोबल आईएमई बैंकको चेकमार्फत क्लियरिङ गरी हिमालयन बुलियनको एनआईएमबी बैंकको खातामा रकम जम्मा गरेर ज्ञानेश्वरस्थित कार्यालयमा डिपोजिट स्लिप बुझाइ बिल लिएका थिए। 

हिमालयन बुलियन र कौशल फुयालबीच भुक्तानीपछि २१ देखि २८ कार्यदिनभित्र सामान उपलब्ध गराउने सर्त रहेको थियो। सामान उपलब्ध गराउनुपर्ने अन्तिम समय (२०८२ फागुन १० गते) सम्म थियो। त्यसको महिनौँपछिसम्म हिमालयन बुलियनले सामान पनि नदिएको र पैसा फिर्तासमेत नदिएपछि फुयालले मुद्दा दायर गरेका हुन्। बुझाएको रकम फिर्ता माग्दा कम्पनीले 'आजभोलि' भन्दै रकम फिर्ता नगरी आलटाल गर्दै आएको फिरादपत्रमा उल्लेख छ।

अनुचित व्यापारिक क्रियाकलाप र ठगीको आरोप

फिराद पत्रमा हिमालयन बुलियन कम्पनी र यसका सञ्चालकहरूमाथि निम्न गम्भीर आरोपहरू लगाइएको छ -

एउटै वस्तुको फरक-फरक मूल्य : सन् २०२६ जनवरी २७ (२०८२ माघ १३) का दिन कम्पनीले एउटै वस्तुको दुई फरक मूल्य तोकी सेल्स अर्डर लिएको र प्रिमियम चार्जको नाममा थप ४ प्रतिशत मूल्य जोडेर एकैदिन तीनवटा फरक मूल्यमा चाँदी बिक्री गरी उपभोक्ता ठग्ने काम गरेको।

अवैध 'सर्भिस चार्ज' कट्टाको सर्त : उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १४ अनुसार जम्मा गरेको पूरै रकम फिर्ता पाउनुपर्ने स्पष्ट प्रावधान भए पनि रकम फिर्ता माग्दा जबरजस्ती ४ प्रतिशत 'सर्भिस चार्ज' कट्टा गर्ने धम्की दिएको।

अत्यधिक मूल्य तिर्न दबाब र जफतको धम्की : फोन तथा कार्यालयमा सम्पर्क गर्दा परल मूल्यभन्दा अत्यधिक मूल्यमा सामान खरिद गर्न दबाब दिएको र सो मूल्य नतिरे पूरै रकम जफत गरिदिने धम्की दिने गरेको।

फुयालले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३ (उपभोक्ताको अधिकार), दफा ८ (व्यापारीको दायित्व), दफा १४ (रकम फिर्तासम्बन्धी), दफा २१, ५०, ५१ र ५२ का आधारमा मुद्दा दायर गरेका छन्।

राकेशकुमार अडुकियासमेत संग्लन

हिमालयन बुलियन नेपालमा सुनचाँदी तथा हिरा व्यापारमा संलग्न भारतीय व्यवसायी राकेशकुमार अडुकियासमेतको कम्पनी हो। 

हिमालयन बुलियन कम्पनी लिमिटेडमा अहिले विभिन्न कम्पनी तथा व्यक्ति गरी ७ सय २३ सेयर होल्डर रहेका छन्। जसमा नेपाल मेन्था प्रोडक्ट्स प्रालिको १ करोड १६ लाख रुपैयाँबराबरको १ लाख १६ हजार कित्ता सेयर रहेको छ। मेन्था प्रोडक्ट्स प्रालिमा राकेश अडुकियाको ५० लाख रुपैयाँबराबरको ५० हजार कित्ता सेयर रहेको छ। 

कम्पनीमा सबैभन्दा बढी सेयर समुन्त जाजोदियाको रहेको छ। उनको नाममा १३ लाख ४० हजार ६३ कित्ताबापतको १३ करोड ४० लाख ६ हजार ३ सय रुपैयाँबराबरको सेयर रहेको छ। उनी नै कम्पनीका अध्यक्ष रहेका छन्।

जाजोदिया नेपालमा सुनचाँदी तथा हिरा व्यापारमा संलग्न भारतीय व्यवसायी राकेशकुमार अडुकियाको नातेदार हुन्। अडुकियाले मेन्था प्रोडक्ट्स प्रालिमार्फत त्यसमा लगानी गरेका छन्। 

राकेशकुमार अडुकिया नेपालमा विभिन्न अनुसन्धानको दायरामा परेका व्यक्ति हुन्।  सुन तस्करी प्रकरणदेखि दोहोरो नागरिकता र राहदानी विवादमा उनका विषयहरू बारम्बार आइरहेका छन्। 

यस्तै हिमालयन बुलियनमा हिमालयन मोटर्स कम्पनी लिमिटेडको ३ करोड ५० लाख रुपैयाँ साथै भीमप्रसाद गौतमको ५ करोड रुपैयाँको सेयर छ। यस्तै सिग्मा क्यापिटल प्रालिको पनि ५ करोड रुपैयाँबराबरको सेयर रहेको छ। 


प्रकाशित : मंगलबार, भदौ ३० २०८३१६:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend