बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

कृष्णभीरमा तीन दिनभित्र यातायात सञ्चालन गर्ने तयारी, नयाँ ट्रयाकको काम सकियो

शनिबार, भदौ २७ २०८३
कृष्णभीरमा तीन दिनभित्र यातायात सञ्चालन गर्ने तयारी, नयाँ ट्रयाकको काम सकियो

अहिले नयाँ ट्रयाकलाई ग्रेड डाउन गरी सबग्रेड तयार गर्ने काम भइरहेको छ।

काठमाडौं- त्रिशूली बाढीका कारण सडक भासिएपछि अवरुद्ध रहेको पृथ्वीराजमार्गको कृष्णभीर सडकखण्ड तीन दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

नागढुंगा-मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भासिएको सडकको भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम सम्पन्न भइसकेको छ। अहिले नयाँ ट्रयाकलाई ग्रेड डाउन गरी सबग्रेड तयार गर्ने काम भइरहेको छ।

सडक सञ्चालनमा ल्याउन आवश्यक उपकरण र निर्माण व्यवसायीको टोली परिचालन गरेर काम तीव्र गतिमा अघि बढाइएको अधिकारीले बताइन्। उनका अनुसार कामको आवश्यकताअनुसार दैनिक उपकरणको संख्या घटबढ भइरहेको छ। केही दिन १२ वटासम्म उपकरण परिचालन गरिएको थियो।

शनिबार कटिङको काम लगभग सकिएपछि अहिले ग्रेड सुधारका लागि दुईवटा बुलडोजर र दुईवटा एक्साभेटर प्रयोग भइरहेको उनले जानकारी दिइन्। ग्रेड सुधारको काम सम्पन्न भएपछि रोलर थप गरेर रोलिङको काम सुरु गरिनेछ।

‘कृष्णभीरमा सडक भासिएपछि भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम भइरहेको थियो। ट्रयाक निर्माण सम्पन्न भइसकेको छ भने अहिले ग्रेड सुधारको काम भइरहेको छ। कामका लागि आवश्यकताअनुसार उपकरण परिचालन गरिएको छ। आज दुईवटा बुलडोजर र दुईवटा एक्साभेटर प्रयोग भइरहेका छन्,’ अधिकारीले भनिन्।

सबग्रेड तयार भएपछि ग्राभेल बिछ्याउने कामका लागि थप दुईदेखि तीन दिन लाग्ने अनुमान गरिएको उनले बताइन्। ग्राभेल बिछ्याउने काम सम्पन्न भएपछि कृष्णभीर सडकखण्डमा यातायात सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ।

‘ग्रेड मिलाइसकेपछि रोलर थपेर रोलिङको काम सुरु गरिनेछ। सबग्रेड तयार भएपछि ग्राभेल बिछ्याउन थप दुई-तीन दिन लाग्ने अनुमान छ। त्यसपछि दुई-तीन दिनभित्र कृष्णभीर सडकमा यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ,’ अधिकारीले भनिन्।

त्रिशूली नदीमा आएको बाढीपछि पहिरो जाँदा कृष्णभीर क्षेत्रमा सडक भासिएको थियो। त्यसपछि पुरानो सडकबाट तत्काल यातायात सञ्चालन गर्न कठिन भएपछि सडकको भित्तातर्फबाट नयाँ ट्रयाक निर्माण गरी अस्थायी रूपमा यातायात सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको हो। अहिले नयाँ ट्रयाकको आधार तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ।


प्रकाशित : शनिबार, भदौ २७ २०८३१४:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend