काठमाडौं- भोटेकोशो बाढीको दुई साता नाघिसकेको छ। बाढीको १८औँ दिनसम्म पनि प्रभावितको खोजी, उद्धार, राहत तथा प्रभावित क्षेत्रको पुन:स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग निरन्तर जुटिरहेको छ। सहयोगी दाताहरुले क्षमताअनुसार रकम जम्मा गरिरहेका छन्।
कोषको खातामा १३ अर्ब ५४ करोड ९ लाख ३ हजार ११७ रूपैयाँ जम्मा भइसकेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भदौ २६ गते साँझ ५ बजेपछि मात्रै २८ करोड २० लाख १४ हजार ३६६ रूपैयाँ थपिएको छ।
उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा बैंकमा रहेको छ। सरकारले यसअघि उक्त कोषबाट बाढीपीडितका नाममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रूपैयाँ निकासा गरिसकेको छ।
त्यस्तै, कोषका दुई वटा बैंकका डलर खातामा पनि रकम बढ्ने क्रम जारी छ। भदौ २६ गते साँझ ५ बजेपछि उक्त खातामा १ लाख ५४ हजार ७७० डलर थपिएर कूल २ करोड ३४ लाख ३८ हजार ८४७ अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।