बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकोशी बाढीको १८औँ दिन : क्षतिग्रस्त जलविद्युत आयोजनामा कहाँ पुग्यो खोजी तथा उद्धारको काम? हराएका कति भेटिए?

शनिबार, भदौ २७ २०८३
भोटेकोशी बाढीको १८औँ दिन : क्षतिग्रस्त जलविद्युत आयोजनामा कहाँ पुग्यो खोजी तथा उद्धारको काम? हराएका कति भेटिए?

त्रिशूली थ्री 'बी' मा पनि खोजी जारी छ। शुक्रबारसम्मको खोजी तथा उद्धारका काममा आयोजनाको आवास तथा कार्यालय भवन रहेको क्षेत्रमा उत्खनन गर्दा अहिलेसम्म केही फेला पर्न सकेको छैन।

काठमाडौं- भोटेकोशी बाढीको आज १८औँ दिन पुगिसकेको छ। राहत, उद्धार, खोजी तथा पुन:स्थापनाका काम जारी छन्।

बाढीले क्षति पुर्‍याएका जलविद्युत आयोजनाहरुमा हराइरहेकाहरुको पनि निरन्तर खोजी तथा उद्धार भइरहेको छ। बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली-१ आयोजनामा बिहीबार साँझ ७ शव तालिम प्राप्त सर्च कुकरले पहिचान गरेको छ।

शुक्रबार नेपाली सेना र कम्पनीको सर्भे इन्जिनियरसहितको समूहले अडिट १ को क्षेत्रमा अवलोकन गर्दा पूर्णरुपमा डेब्रिज भरिएको पाइएको कम्पनीले जनाएको छ। यसैगरी, मैलुङ क्याम्प साइटमा मिनि स्काभेटरले उत्खनन कार्य सुरु गरिएको छ भने अडिट ३ मा नेपाली सेना र अष्ट्रेलियाली उद्धार समूहद्वारा सर्च गरिएको छ। आजदेखि यसलाई तीव्रता दिने कम्पनीले जनाएको छ।

बाढी आउनुअघि आयोजनास्थलमा कूल १ हजार ४३३ जना कार्यरत थिए। तीमध्ये हालसम्म ८७८ जनाको उद्धार भएको छ।

२२ मेगावाटको चिलिमे जलविद्युत केन्द्रको विद्युत गृहमा भने पहुँच सडक निर्माणको काम अझै सकिएको छैन, जसकारण मेसिनरी उपकरण विद्युत गृहको पहुँच सुरुङसम्म पुग्न सकेको छैन।

यस्तै, ३७ मेगावाट क्षमताको त्रिशूली थ्री 'बी' मा पनि खोजी जारी छ। शुक्रबारसम्मको खोजी तथा उद्धारका काममा आयोजनाको आवास तथा कार्यालय भवन रहेको क्षेत्रमा उत्खनन गर्दा अहिलेसम्म केही फेला पर्न सकेको छैन। उत्खननका क्रममा बाढीले तीनवटा भवनको जगसहित बगाएर लगेको भेटिएको छ। आज पनि अन्य भवनहरूको स्थानमा समेत उत्खनन गरेर खोजी कार्य जारी जारी राखिएको छ। यो आयोजनाबाट १७८ जना अहिले पनि हराइरहेका छन्।

२० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट २ जनाको शव निकालिए पनि अन्यको अवस्था थाहा हुन सकेको छैन। यो आयोजनाबाट ३९ जना अझै पनि सम्पर्कविहिन छन्। १९ जनाको भने पहिले नै उद्धार भइसकेको छ।

बाढी प्रभावित जलविद्युत् आयोजनाको सुरुङभित्र करिब १२१ जना नागरिक फसेका हुनसक्ने अनुमान गर्दै नेपाली सेनाले खोज तथा उद्धारलाई तीव्रता दिइरहेको छ। परियोजनामा काम गर्नेहरु ९ सयभन्दा बढी सम्पर्कविहीन भएको भएपनि ती सबै सुरुङभित्र भने नरहेको सेनाको भनाइ छ। रसुवागढीमा ५, लाङटाङमा ७, चिलिमेमा ७, अपर त्रिशूली-१ मा करिब ५०, त्रिशुली थ्री ए मा करिब ४२ र अन्य केही गरी १२१ जनाको हाराहारीमा सुरुङमा रहेको अनुमान सेनाको छ। 

बाढीबाट सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी १२ वटा जलविद्युत आयोजना प्रभावित भएका छन्। नेपाली सेनाले सुरुङको ब्रेक थ्रु तथा आयोजना पुन: सञ्चालन नभएसम्म उद्धार तथा खोजीको काम जारी राख्ने जनाएको छ।


प्रकाशित : शनिबार, भदौ २७ २०८३१२:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend