काठमाडौं- रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको यही भदौ १० गतेको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका करिब डेढ लाख नागरिक प्रत्यक्षरूपमा प्रभावित भएको प्रारम्भिक आँकलन गरिएको छ।
विनाशकारी बाढीबाट डेढ लाख नागरिक प्रत्यक्षरूपमा प्रभावित भएको प्रारम्भित आँकलन गरिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव डा. विकास देवकोटाले बागमती प्रदेश सरकार र सरकारका विभिन्न संयन्त्रमार्फत संकलन गरिएको तथ्यांकका आधारमा प्रभावित जनसंख्याको आँकलन गरिएको जानकारी दिए।
प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका २५ जनालाई झाडापाखा लागेको भेटिएको पनि उनले बताए। अन्य स्वास्थ्यम्बन्धी समस्या देखा नपरेको उनले बताए।
सचिव देवकोटाले पछिल्लो विपदबाट स्वास्थ्य क्षेत्रले महत्वपूर्ण पाठ सिकेको भन्दै आगामी दिनमा बन्ने संरचनालाई जलवायु अनुकूल बनाउनुपर्नेमा जोड दिए। उनले भौगोलिक अवस्था र तापक्रमअनुसार भवन निर्माणको अवधारणा अघि बढाउनुपर्ने र मन्त्रालयले त्यससम्बन्धी योजनाको तयारी गरिरहेको बताए।
संरचना निर्माण गर्दा स्वास्थ्यसम्बन्धी समस्या पर्दा सहज रूपमा सेवा लिन सकिने गरी नजिकका स्वास्थ्य सुविधाको अवस्थालाई समेत आधार बनाउनुपर्नेमा उनको जोड छ।
‘अब तापक्रम धेरै भएको ठाउँमा बनाउँदाको घर र चिसोमा बन्ने घरमा हुने छ। अब सबै क्षेत्रले यो विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने हुन्छ। र अब घर निर्माण गर्दा स्वास्थ्य क्षेत्रसम्बन्धी समस्या आउँदा नजिक कस्त प्रकारका फेसिलिटी छन् भन्ने कुरा हेरेर पनि बनाउनुपर्ने हुन्छ। यो मास्टरप्लान बनाइरहेका छौँ। त्यो पूरा भएपछि यो समितिमा ल्याएर भन्ने नै छु’ उनले भने।
पुनर्स्थापना र पुनर्निर्माणका लागि ‘क्लाइमेट रेजिलेन्स स्ट्रक्चर’ सहितको मास्टरप्लान निर्माण गरिरहेको उनले बताए।