काठमाडौं- नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) पदका लागि दरखास्त आह्वान गरिएको छ। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले १० दिनभित्र आवश्यक सम्पूर्ण कागजातसहित दरखास्त दिन सक्नेछन्।
बोर्डको सीईओ पदका लागि स्नातकोत्तरसम्मको पढाइ पूरा भएको, पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको हुनुपर्नेछ।
दरखास्तका साथ आफ्ना व्यक्तिगत तथा प्रमाणित आवश्यक कागजपत्रहरुसँगै पर्यटन बोर्डको प्रभावकारिता अभिवृद्धिका लागि गर्नुपर्ने क्रियाकलापहरू समेटिएको रणनीतिक कार्ययोजना पेस गर्नुपर्नेछ।
यस्तै, उम्मेदवारले आफूले काम गरेको संस्था वा संगठनमा आफ्नो प्रयासमा हासिल गरेका उल्लेख्य उपलब्धिको बारेमा तयार गरिएको प्रतिवेदन, कुनै सार्वजनिक संस्थाको विभागीय जिम्मेवारीमा रहेको अवस्थामा विभागीय स्वीकृति प्राप्त भएको पत्र पनि बुझाउनुपर्ने छ।
इच्छुकले पर्यटन बोर्डको नाममा नबिल बैंक लिमिटेड, तीनधारा शाखामा रहेको खाता नं. ०१०१०१७५००३५३ मा जम्मा गरिएको १५ हजार रूपैयाँको बैंक भौचर पनि आवेदनसाथ पेस गर्नुपर्ने बोर्डले जनाएको छ।
पर्यटन बोर्डको भृकुटीमण्डपस्थित कार्यालय इमेलमार्फत पनि दरखास्त दिन सकिने छ। अनलाइन दरखास्त दिनेले बैंक भौचर र प्रमाणित प्रतिलिपि कागजातहरू प्रस्तुतीकरणको समयमा उपलब्ध गराउनुपर्नेछ।
दरखास्त दिने अन्तिम दिनमा सार्वजनिक बिदा परेमा लगत्तै कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त पेस गर्न सकिनेछ।