काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योगी व्यवसायीहरुलाई पाँच वर्षसम्म कर तथा गैरकर छुटसहित विशेष राहत प्याकेज ल्याउन सरकारँग माग गरेका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ साधारणसभामा बोल्दै उनले बाढीबाट पूर्ण तथा आंशिक रुपमा क्षति भएका भएका उद्योग तथा व्यवसायलाई पुनरुत्थान गर्न सरकारले विशेष नीति ल्याउनुपर्ने बताए।
बाढीका कारण क्षति भएका व्यावसायिक प्रयोजनका सवारी तथा ढुवानी साधनको आयातमा भन्सार महसुल, अन्तःशुल्क, सडक निर्माण दस्तुर, स्वच्छ पूर्वाधार तथा लगानी शुल्कलगायत सबै प्रकारका कर छुट दिनुपर्नेमा उनले जोड दिए।
बाढीमा नष्ट भएका प्लान्ट, मेसिनरी, यन्त्र तथा उपकरण पुनः आयात गर्दा भन्सार बिन्दुमा लाग्ने सबै प्रकारका कर तथा महसुल छुट दिनसमेत उनले माग गरे।
अध्यक्ष श्रेष्ठले बाढीपीडित व्यवसायीलाई सहुलियतपूर्ण कर्जामा समेटी ब्याज अनुदान, बिमा प्रिमियम छुट तथा अन्य अनुदान उपलब्ध गराउनुपर्नेमा पनि जोड दिए। उनले जीवनभर राज्यलाई कर तिरेका व्यवसायी विपद्का कारण सडकमा पुग्दा उनीहरूलाई पुनः व्यवसायमा फर्काउने जिम्मेवारी राज्यले लिनुपर्नेसमेत बताए।
‘बाढीको कारण पूर्ण र आंशिक क्षति भएको व्यावसायिक सम्पत्ति मौज्दात सामानको समेत मिनाहा र लागत कट्टा सम्बन्धी प्रक्रियाहरू सरलीकरण गरी स्टक डिलिट गर्न दिनुपर्ने, बाढीको कारणले प्रत्यक्ष प्रभावित व्यक्ति वा व्यवसायीहरूलाई करजन्य छुट र सुविधा मात्र नभएर सङ्घीय सरकारले लिने गैरकर तथा सेवा शुल्क पनि न्यूनतम पाँच वर्षको लागि छुट दिइनुपर्ने, प्रदेश सरकार तथा स्थानीय तह अन्तर्गतका कर, शुल्क तथा महसुलका प्याकेजमा सवारी र ढुवानी साधनमा प्रदेश सरकारले लगाउने यातायात कर सबै छुट मिनाहा गर्नुपर्ने माग राख्न चाहान्छु’ उनले भने।
राज्यलाई जीवनभर चलायमान बनाउन योगदान दिएका व्यवसायीहरु अहिले असुरक्षित भएको महसुस गरिरहेको पनि उनले बताए।