काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनियताको शपथ लिएका छन्।
प्रधानमन्त्री बालेन शाहले सुनसरी-४ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपककुमार साहको नाम सिफारिस गरेका हुन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्रीको नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। मन्त्री साहले बिहीबार बेलुका राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गरेका छन्।
यसअघि बिहीबार नै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी थिइन्। एलपी ग्यास अभाव भइरहेको विषयमा उनीमाथि प्रश्न उठिरहेका थिए।
मन्त्री यादवले उद्योग समितिको बुधबारको बैठकमा 'उद्योगीलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन' भन्ने अभिव्यक्ति दिएपछि उनको आलोचना भइरहेको थियो। बिहीबार उनको राजीनामा आएसँगै नयाँ मन्त्रीका रूपमा दीपकुमार साहले शपथ लिएका हुन्।
साहले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट मेकानिकल इन्जिनियरिङमा स्नातक र प्राकृतिक स्रोत विकासमा स्नातकोत्तर गरेका छन्।
गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा साहले सुनसरी-४ मा पूर्वमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई हराएका थिए। साह त्यसअघि सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्षसमेत बनेका थिए। चुनावको केही अघि सर्वोदय पार्टी गठन गरेर अध्यक्षसमेत बनेका उनी चुनाव भने रास्वपाबाट लडेका थिए।