काठमाडौं- नयाँ आईफोन सार्वजनिक भएपछि पुरानो मोडलको मूल्य घट्ने पछिल्ला केही वर्षदेखिको एप्पलको परम्परा यसपटक उल्टिएको छ। कम्पनीले आईफोन १८ प्रो श्रृखला र पहिलो फोल्डेबल आईफोन ‘डुओ’ सार्वजनिक गर्दै आईफोन १६, १७ई, १७ र एयरको मूल्यसमेत बढाएको छ।
अमेरिकामा आईफोन १८ प्रोको सुरुवाती मूल्य १ हजार १९९ डलर र १८ प्रो म्याक्सको १ हजार २९९ डलर पुगेको छ। फोल्डेबल आईफोन डुओको मूल्य भने १ हजार ९९९ डलरबाट सुरु हुनेछ।
पुराना मोडलको मूल्य बढ्नु यसपटकको प्रमुख परिवर्तन हो। सामान्यतया नयाँ पुस्ताको आईफोन आएपछि अघिल्लो पुस्ताका मोडल सस्तो हुने गर्थे। यसपटक नयाँ र पुराना दुवै मोडल महँगिएका छन्।
मूल्यवृद्धि देशअनुसार फरक पर्ने देखिएको छ। जस्तो भारतमा उच्च वृद्धि भएको छ २५६ जीबीको आईफोन १७ को मूल्य ८२ हजार ९०० भारतीय रुपैयाँबाट बढेर ९९ हजार ९०० रुपैयाँ पुगेको छ। आईफोन १७ई ६४ हजार ९०० बाट ७९ हजार ९०० रुपैयाँ पुगेको छ।
काउन्टरपोइन्ट रिसर्चका अनुसन्धान निर्देशक तरुण पाठकका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य ८ देखि १० प्रतिशत बढ्दा भारतमा २० देखि ३० प्रतिशतसम्म बढेको छ। यसको कारण मेमोरी चिपको बढ्दो लागतसँगै भारतीय रुपैयाँ कमजोर हुनु रहेको छ। नेपाली मुद्रा पनि भारतीय रुपैयाासँगै स्थिर भएका कारण नेपालको मूल्य पनि सोही अनुपातमा बढ्ने सम्भावना छ।
पहिलो फोल्डेबल आईफोन
मूल्य बढाएको एप्पलले पहिलो पटक फोल्डेबल आईफोन पनि बजारमा ल्याएको छ। ‘आईफोन डुओ’मा ७.६ इन्चको भित्री र ५.४ इन्चको बाहिरी डिस्प्ले छ। फोल्ड गर्दा सामान्य फोनजस्तै प्रयोग गर्न र खोल्दा ठूलो स्क्रिनमा काम गर्न मिल्ने गरी यसको डिजाइन गरिएको कम्पनीले जनाएको छ।
डुओमा ए२० प्रो चिप, भेपर चेम्बर शीतलीकरण प्रणाली र दोहोरो ब्याट्री संरचना राखिएको छ। यसमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरासहित अल्ट्रा-वाइड क्यामेरा छ। फोल्डेबल डिजाइनलाई ध्यानमा राखेर केही नयाँ फोटोग्राफी सुविधा पनि थपिएको एप्पलले जनाएको छ।
फोल्डेबल फोनका लागि आईओएस २७ मा पनि केही परिवर्तन गरिएको छ। एउटै स्क्रिनमा दुईवटा एप चलाउन मिल्ने स्प्लिट भ्यु, सुधारिएको मल्टिटास्किङ र ठूलो स्क्रिनअनुकूल इन्टरफेस त्यसका प्रमुख विशेषता हुन्।
एप्पलले एप्पल इन्टेलिजेन्स र नयाँ सिरी एआईलाई पनि डुओका प्रमुख सुविधाका रूपमा अघि सारेको छ। कम्पनीका अनुसार यसले प्रयोगकर्ताको सन्दर्भ बुझेर सन्देश, इमेल, फोटो र स्क्रिनमा देखिएको सामग्रीका आधारमा काम गर्न सक्छ।
सामसङ तथा हुवावे जस्ता कम्पनीको प्रभुत्व रहेको फोल्डेबल फोनको बजारमा एप्पलको पनि प्रवेशले प्रतिस्पर्धालाई अझै बढाउने देखिएको छ।

चिपको मागले बढाएको लागत
आईफोनको मूल्यवृद्धिको एउटा प्रमुख कारण विश्वव्यापी मेमोरी तथा स्टोरेज चिपको बढ्दो मागलाई मानिएको छ। एआईका लागि ठूला डेटा सेन्टर निर्माण भइरहेकाले उच्च क्षमताका मेमोरी चिपको माग बढेको छ। त्यससँगै चिप उत्पादकहरूले उत्पादन क्षमता एआई सर्भरका लागि बढी छुट्याउन थालेपछि स्मार्टफोन उद्योगमा आपूर्ति दबाब परेको छ।
एप्पलका पूर्वप्रमुख कार्यकारी अधिकृत टिम कुकले कम्पोनेन्टको लागत बढेको अवस्थालाई असाधारण अवस्थाका रूपमा व्याख्या गरेका थिए। एप्पलले यसअघि म्याक र आईप्याडको मूल्य पनि बढाइसकेको छ। गुगल र सामसङले समेत आफ्ना नयाँ प्रिमियम फोन महँगिनुको कारण बढ्दो कम्पोनेन्ट लागतलाई बताएका छन्।
यसपटक भने चिपको लागत बढेको असर नयाँ आईफोनमा मात्र परेको छैन। पुराना मोडलको मूल्यसमेत बढाइएको छ। त्यसैले नयाँ आईफोन किन्न चाहने ग्राहकले मात्र होइन, केही पुरानो मोडल रोज्ने ग्राहकले पनि पहिलेभन्दा बढी रकम तिर्नुपर्ने भएको छ।