काठमाडौं- विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन भारतले नेपाललाई मानवीय सहायता निरन्तर उपलब्ध गराइरहेको जनाएको छ। भारतले बिहीबार नेपालका लागि मानवीय सहायता बोकेको भारतीय वायुसेनाको आठौँ विशेष उडान काठमाडौं आइपुगेको छ।
भारतका अनुसार गत २६ अगस्टदेखि आठवटा विशेष उडानमार्फत नेपालमा १३० टनभन्दा बढी राहत सामग्री पठाइसकिएको छ। उद्धार, राहत तथा फरेन्सिक कार्यमा सहयोग गर्न भारतबाट ५४ जना विशेषज्ञसमेत नेपाल पठाइएको छ।

भारतले नेपाललाई अस्थायी आश्रय, कम्बल, सरसफाइ सामग्री, सौर्य बत्ती र औषधिसहितका नियमित राहत सामग्री उपलब्ध गराएको छ। त्यसबाहेक बाढी तथा सुरुङमा फसेकाको उद्धारका लागि माटो तथा सुरुङ उद्धार सामग्री, माटो उद्धार पोसाक, ग्यास पत्ता लगाउने उपकरण, श्वासप्रश्वास उपकरण र फुलाउन मिल्ने बाटोजस्ता विशेष उपकरणसमेत पठाइएको भारतले जनाएको छ।
त्यस्तै, बेपत्ता तथा मृतकको पहिचानका लागि डीएनए परीक्षणमा आवश्यक पर्ने किट, अभिकर्मक र उपकरण तथा विद्युत् आपूर्तिका लागि पोर्टेबल जेनेरेटर, प्रकाश टावर र पानी निकाल्ने पम्प पनि नेपाललाई उपलब्ध गराइएको छ।
भारतबाट आएको विशेष सुरुङ उद्धार टोलीले नेपाली सेनासँगको समन्वयमा सुरुमा चिलिमे र लाङटाङका दुई स्थानमा खोजी तथा उद्धार कार्य अघि बढाएको थियो। अहिले भने खोजी तथा उद्धारको मुख्य प्रयास चिलिमेमा केन्द्रित रहेको भारतले जनाएको छ।
चिलिमेमा सुरुङको भौगोलिक अवस्था, कठिन पहुँच र सुरुङको ढलानका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। भारतीय सुरुङ उद्धार टोलीले हातैले उत्खनन गर्ने तथा विभिन्न नयाँ प्रविधिको प्रयोग गर्दै खोजी कार्यलाई निरन्तरता दिएको जनाएको छ।

उद्धार कार्यलाई थप तीव्र बनाउन सुरुङसम्म भारी उपकरण तथा डोजरजस्ता मेसिन लैजान सकिने अस्थायी बाटो निर्माण भइरहेको छ। उक्त बाटो निर्माणको काममा पनि उत्साहजनक प्रगति भइरहेको र अबको २ देखि ३ दिनभित्र पूरा हुने अपेक्षा गरिएको भारतले जनाएको छ।
यसैबीच भारतबाट आएको फरेन्सिक टोलीले नेपाली अधिकारीसँगको सहकार्यमा काठमाडौंका दुईवटा प्रयोगशालामा डीएनए नमुनाको परीक्षण तथा विश्लेषण गरिरहेको छ। भारतले उपलब्ध गराएका फरेन्सिक प्रयोगशाला उपकरण, डीएनए किट र अभिकर्मकले नेपालमा जारी पहिचान तथा अनुसन्धानको काममा सहयोग पुग्ने जनाएको छ।
भारतले नेपालका नागरिक तथा सरकारलाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याउँदै उद्धार, राहत र पुनर्लाभका काममा निरन्तर सहयोग गर्ने जनाएको छ।