काठमाडौं- राष्ट्रियसभाका सांसदहरूले भोटेकोशी बाढी प्रभावितलाई राहतसँगै रोजगारी र सहुलियत ऋण दिन माग गरेका छन्
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, पुनःस्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन तथा प्रभावितलाई रोजगारी र सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसद मोहम्मद खालिदले भोटेकोशी बाढीप्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए। प्रभावित नागरिकका लागि रोजगारीको व्यवस्था तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउन आवश्यक रहेको उनको भनाइ छ।
खालिदले मुलुकमा खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएको उल्लेख गर्दै दैनिक करिब एक लाख सिलिन्डरको माग रहेकामा ३० हजार सिलिन्डर मात्र आपूर्ति भइरहेको बताए। दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढिरहेको भन्दै बजार व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने उनले जोड दिए।
सांसद तुलप्रसाद विश्वकर्माले रसुवा बाढीपीडितलाई समयमै राहत उपलब्ध गराउन तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरे। बाढीप्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले प्रभावितको स्वास्थ्य परीक्षण तथा उपचारको उचित व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए।
सांसद ललितजंग शाहीले भोटेकोशी बाढी जलवायु परिवर्तनका कारण उत्पन्न भएको भन्दै जलवायु परिवर्तनमा नेपालको योगदान नगन्य रहे पनि त्यसको असर नेपालले ठूलो मात्रामा भोग्नुपरेको बताए। 'जलवायुजन्य विपद्बाट भएको क्षतिका लागि धनी मुलुकले क्षतिपूर्ति दिनुपर्ने र हानि तथा नोक्सानी कोषबाट नेपाललाई पर्याप्त रकम उपलब्ध गराउनुपर्छ,' उनले भने।
सांसद रेणु चन्दले भोटेकोशी बाढीको विपद् व्यवस्थापनमा केन्द्र र स्थानीय सरकारबीच पर्याप्त समन्वय हुन नसकेकोमा दुःख व्यक्त गरिन्। जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तह भएकाले विपद् व्यवस्थापनमा स्थानीय सरकारलाई पर्याप्त स्रोत, साधन र अधिकार दिनुपर्ने उनको भनाइ छ।
'प्रदेश सरकारले तुइन निर्माणलगायतका माध्यमबाट समेत प्रभावित क्षेत्रमा सहयोग गरेको छ,' उनले भनिन्, 'होल्डिङ सेन्टरमा रहेका विस्थापितलाई लामो समयसम्म राखिराख्नुको सट्टा उचित स्थानमा व्यवस्थापन गर्नुपर्छ। गर्भवती महिला, बालबालिका, अशक्त तथा बिरामीको विशेष हेरचाहको व्यवस्था हुनुपर्छ।'
सांसद किरणबाबु श्रेष्ठले राष्ट्रिय संकटको समयमा सबै नेपाली एकजुट हुनुपर्ने बताए। विपद् प्रभावितको उद्धार तथा सहयोगका लागि राज्यका सबै निकाय र नागरिक एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ छ।
सांसद गीता देवकोटाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा समयमा उद्धार हुन नसक्दा धेरै नागरिकले ज्यान गुमाउनुपरेको बताइन्। विपद्बाट विस्थापित नागरिकलाई समयमै उचित स्थानमा व्यवस्थापन गर्नुपर्ने तथा पहिरोका कारण अवरुद्ध सडक सञ्चालनका लागि तत्काल पहल गर्नुपर्ने उनले बताइन्।
राहत वितरण वैज्ञानिक र आवश्यकताको आधारमा हुनुपर्नेमा जोड दिँदै उनले तत्काल विपद् प्रतिरोधी संरचना निर्माण गर्न, प्रभावितका लागि पुनःस्थापनाको विशेष प्याकेज ल्याउन तथा विपद्बाट प्रभावित नागरिकलाई मनोसामाजिक परामर्श उपलब्ध गराउन सरकारसँग माग गरिन्। रासस