बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

चितवनमा फेला परेका ३६३ शवमध्ये १४ को पहिचान, ७५ जना आफन्तको डीएनए संकलन

बुधबार, भदौ २४ २०८३
चितवनमा फेला परेका ३६३ शवमध्ये १४ को पहिचान, ७५ जना आफन्तको डीएनए संकलन

व्यवस्थापन गरिएका सबै शवको भविष्यमा आफन्तको डीएनएसँग मिलान गर्न मिल्नेगरी डीएनए नमूना सुरक्षित राखिएको छ।

नारायणगढ- चितवनमा फेला परेका शवको व्यवस्थापनसँगै हराइरहेका व्यक्तिका आफन्तको डीएनए नमूना संकलन भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार हालसम्म जिल्लामा कुल ३६३ वटा शव फेला परेका छन्। तीमध्ये अधिकांश शव पहिचान गर्न नसकिने अवस्थामा रहेकाले डीएनए परीक्षण र कानूनी प्रक्रियामार्फत व्यवस्थापन गरिएको छ।

हालसम्म फेला परेका शवमध्ये १४ वटा शवको मात्र सनाखत (पहिचान) हुन सकेको छ। पहिचान खुलेका शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको एसपी पौडेलले जानकारी दिए।

पहिचान खुल्न नसकेका ३४९ वटा शवको सुरक्षित व्यवस्थापन गरिसकिएको उनले बताए। शव व्यवस्थापन कार्य गत १३ भदौदेखि सुरु गरिएको थियो।

व्यवस्थापन गरिएका सबै शवको भविष्यमा आफन्तको डीएनएसँग मिलान गर्न मिल्नेगरी डीएनए नमूना सुरक्षित राखिएको छ। हराइरहेका व्यक्तिको पहिचान खुलाउन प्रहरीले आफन्तको डीएनए नमूना संकलनलाई  प्राथमिकता दिएको छ।

हालसम्म जिल्लामा ७५ जना आफन्तको डीएनए नमूना संकलन गरी विधिविज्ञान प्रयोगशालामा पठाइएको छ। संकलन गरिएका नमुनामध्ये भारतीय नागरिकका आफन्तको डीएनए नमूना पनि रहेको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : बुधबार, भदौ २४ २०८३१४:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend