बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

बुधबार, भदौ २४ २०८३
उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

स्थानीय उखु किसान उद्योगीले गरेको शर्त पूरा गर्नेमा आशंका व्यक्त गर्छन्। अहिलेसम्म उद्योगले चालचुल नगरेको भन्दै चाडबाडको समयमा पैसा पाउने कुरामा आफूहरू सशंकित रहेको उनीहरूको प्रतिक्रिया थियो।

सर्लाही- उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका लागि सधैँको गलपासो बन्दै आएको छ। गत याममा उद्योगलाई उखु बेचेका किसान ६ महिना भइसक्दासम्म पैसा नपाएपछि समस्यामा परेका हुन्। यहाँको धन्कौल गाउँपालिका-२ मा रहेको अन्नपूर्ण चिनी उद्योगले गत याममा मा उखु खरिद गरेको भुक्तानी अझै किसानलाई दिएको छैन।

धन्कौल गाउँपालिका-३ निवासी कैलाश पासवानले उद्योगलाई दिएको ३ सय क्विन्टल उखुको आंशिक रकममात्र पाएको बताए। उनले ५० कट्ठा खेतमा उखु लगाएका छन्। यसमध्ये आफ्नो २० कट्ठा र बाँकी ठेक्कामा लिएको हो। उखु बेचेको पैसा समयमा पाए समयमै ठेक्का बुझाउने उनलाई हतारो छ। कबोल गरेको समयमा ठेक्का रकम नतिरे साहुलाई ब्याज बुझाउनुपर्ने चिन्ता उनले व्यक्त गरे।

'घरको सबै खर्च खेतीबाट आएको पैसाले पुर्याउनु पर्छ', उनले भने, 'बालबच्चाको लालनपालन, शिक्षादिक्षा, चाडपर्व सबै यही उखु बेचेर आएको पैसाबाट टार्नु छ। तर, उद्योगले हरेक वर्ष झुटो आशा देखाउँदै दुःख दिने गरेको छ।'

केही समय पहिलामात्र छोरीको विवाह गरेका कैलाशले गर्जो टार्न उद्योगले पैसा नदिएपछि साहुमहाजनसँग सयकडा तीनले ब्याजमा ऋण लिनुपरेको दुःखेसो पोखे। उनले उद्योगबाट अझै ५६ हजार बढी रकम पाउन बाँकी छ। पाउने रकमको टुंगो नहुँदा आफूहरू उखुखेतीबाट निरास बनेको उनले बताए। उद्योगले पैसा दिनेबेला दिएको दुःख सम्झेर ४ सय क्विन्टल उखु नगदमा बेचेको उनको भनाइ छ।

नगदमा बिचौलियाले ३५ देखि ४० रूपैयाँ कम दाममा किनेर आफ्नो नाममा उद्योगलाई बिक्री गर्छन्। यसबाट किसानले पाउने अनुदानबापतको रकमसमेत दुरुपयोग हुँदै आएको छ।

धन्कौल -२ का पाँचु सहनीको पनि आयआर्जनको एकमात्र उपाय खेतीपाती हो। उनी पनि ठेक्कामा लिएको खेतमा उखु रोप्ने र उद्योगलाई बेच्ने गर्छन्। तर, सुरुमा स्थानीयलाई सुविधा पुग्छ भनेर सञ्चालनमा आएको उद्योगले बारम्बार ठगेको उनको गुनासो छ। यस उद्योगले उनको २०७४ सालमा बिक्री गरेको उखुको केही भुक्तानी अझै दिएको छैन। सोही समयमा उद्योग धरासायी बन्यो।

सुरुका उद्योगपतिले उद्योग नै बेचिदिएपछि किसानले पाउनु दुःख पाएको उनी बताउँछन्। 'माग्न जाँदा २०७४ सालसम्मको भुक्तानी पुरानो मालिकले गर्ने हो भने, पछि विवरण फेला परेन भनेर दिँदै दिएन', उनले भने। त्यसपछि आफूले रौतहट र सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगमा उखु बेचेको उनको भनाइ छ। यस वर्ष उद्योगले मिलगेट क्षेत्र तोकेर अन्यत्र काँटा नराख्ने सहमति गरेपछि बाहिरको उद्योग आएन।

यसपछि आफूहरू मन नहुँदा नहुँदै बाध्य भएर अन्नपूर्णलाई उखु दिनुपरेको उनले जानकारी दिए। उनले यसपटक दिएको झन्डै ५ सय क्विन्टल उखुको भुक्तानी पाउन बाँकी छ। नजिकै हरिवनमा रहेको उद्योगले उखु बिक्री गरेको १५ दिनमा भुक्तानी दिँदा आफूहरूलाई अन्नपूर्णले दुःख दिएको गुनासो गरे। अन्नपूर्ण चिनी उद्योगले सिजन २०८२/८३ मा तीन हजार १८६ जना किसानबाट खरिद गरेको नौ लाख ९३ हजार ७५२.६७ क्विन्टल उखु क्रसिङ गरेको थियो।

उखु खरिदबापत हुन आउने ६१ करोड ६१ लाख २७ हजार ६५५ रूपैयाँमध्ये उद्योगले किसानलाई अझै २२ करोड रूपैयाँ हाराहारीमा भुक्तानी दिन बाँकी देखिएको छ। किसानको उजुरीपछि सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको अध्यक्षतामा गठन गरिएको छानबिन समितिले उद्योगबाट २२ करोड रूपैयाँको हाराहारीमा किसानले भुक्तानी पाउन बाँकी रहेको प्रतिवेदन सार्वजनिक भएको थियो।

यता, उद्योग प्रशासनले भने दैनिक किसानको भुक्तानी गरिरहेको दाबी गरेको छ। उद्योगका प्रशासकीय प्रमुख रमेश श्रीवास्तवले किसानको भुक्तानी बाँकी रहेको स्वीकार गरे। कात्तिक मसान्तसम्म सक्ने योजना रहेको उनले बताएका छन्। उद्योगले किसानको भुक्तानी दसैँअगाडि गरिसक्नेगरी काम गरिरहेको उनको भनाइ छ। तर, बाँकीमध्ये अहिलेसम्म कति रकम किसानको खातामा दाखिला भयो भन्ने तथ्यांक उनीसँग छैन।

उखुको भुक्तानी नपाएका किसानको उजुरीपछि उद्योग मालिक शैलेन्द्र गुप्तालाई प्रहरीले पक्राउ गरेको थियो। जिल्ला अदालत सर्लाही जारी भएको पक्राउ पुर्जीका आधारमा पक्राउ परेका मिल मालिक गुप्तालाई तत्कालीन अवस्थामा उद्योगमा मौज्दात ११ करोड रूपैयाँबराबरको चिनी बिक्री गरी बाँकी रकम बैंकबाट ऋण निकालेर दसैँसम्म किसानको खातामा दाखिला गर्ने शर्तमा रिहा गरिएको थियो।

मिलमा बिक्री हुन बाँकी चिनी बेचेर अपुग रकम बैंकबाट ऋण लिएर किसानको पैसा दिने उद्योगीले बताएको नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष श्यामबाबु रायले जानकारी दिए। सोहीअनुसार आफूहरूले उक्त घटनामा सहजीकरण गरिदिएको अध्यक्ष रायको भनाइ थियो।

स्थानीय उखु किसान उद्योगीले गरेको शर्त पूरा गर्नेमा आशंका व्यक्त गर्छन्। अहिलेसम्म उद्योगले चालचुल नगरेको भन्दै चाडबाडको समयमा पैसा पाउने कुरामा आफूहरू सशंकित रहेको उनीहरूको प्रतिक्रिया थियो। राज्यले रगत पसिना एक गरेर किसानले उत्पादन गरेको फसलको बजार र उपयुक्त मूल्यको दिगो सुनिश्चितता गरिदिनुपर्ने उनीहरूको माग छ।

उखु बिक्री गरेको छ महिना बढी भइसक्दा पनि पैसा नपाउँदा दैनिक घर खर्च धान्न, खेतीबालीका लागि मलखाद तथा कामदारको व्यवस्थापनलगायत काम गर्न समस्या भएको किसानको गुनासो छ।

आफूले रगत पसिना गरेर बेचेको पैसा उद्योगले नदिने, आफू रोग लागेर उपचार गर्न ऋण खोजेर अस्पताल पुग्नुपर्ने जर्जर अवस्था किसानको रहेको अर्का किसान धीरु बर्माले बताए। किसान मारेर देशको विकास नहुने सर्लाहीको बागमती नगरपालिका-११ निवासी नप्लकण्ठ देवकोटाले बताए। रासस


प्रकाशित : बुधबार, भदौ २४ २०८३११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend