काठमाडौं- भोटेकोशी-त्रिशूली नदीतटीय क्षेत्रमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले उद्योग, व्यापार र व्यावसायिक क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
बाढीले नुवाकोटका मात्र साना तथा ठूला गरी करिब एक हजर आठ सयभन्दा बढी उद्योग तथा व्यवसायमा पूर्णरुपमा क्षतिग्रस्त भएको नुवाकोट उद्योग वाणिज्य संघले जानकारी दिएको छ।
बाढीपीडित व्यवसायीहरुले तत्काल राहत तथा पुनरुत्थानका कार्यक्रम ल्याउन सरकारसँग मागसमेत गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालसहितसँगको छलफलमा बाढीपीडित व्यवसायीहरुले पुनः व्यवसाय सञ्चालनको वातारण तत्काल निर्माण गर्न माग गरेका हुन्।
उनीहरुले बाढीले क्षति पुर्याएका सबैजसो उद्योग तथा व्यवसायहरु बैंकमार्फत ऋण लिएर लगानी गरेको कारण थप समस्यामा परेको दु:खेसो पोखेका छन्।
आफूहरूले लिएको ऋणमा सरकारले नवीकरण तथा ऋण मिनाहा गरिदिनुपर्ने माग बाढीपीडित व्यवसायीहरूले राखेका छन्।
‘केही उद्योगीहरु त शून्यमै पुगेको अवस्था छ। क्रसर, टिप्परहरु सबै बगायो। खोलाछेउमा भएका सबै प्रकारका उद्योग तथा व्यवसाय बगाएको छ। उहाँहरुको सबै व्यवसाय नै बैंकहरुमार्फत ऋणमा लगानी गरेको थियो। त्यसकारण सरकारले त्यो ऋणको ब्याज मिनाहा गरिदिनुपर्यो। जसले उद्योग तथा व्यवसायको बीमा गर्नुभएको छ उहाँहरुसँग कागजसमेत बाँकी रहेको छैन। त्यो दाबी गरिएको रकम भुक्तानि गरिदियो भने फेरी सर्भाइभ हुनसक्छौँ भन्ने माग पनि आइरहेको छ' एक व्यवसायीले भने।
अर्का बाढीपीडित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण कम्तीमा तीन वर्षका लागि नवीकरणको व्यवस्था गर्नुपर्ने तथा बीमा दाबीको रकम झन्झटरहित रूपमा तत्काल भुक्तानी गरिदिन पहल गर्नको लागि अध्यक्ष ढकाललाई आग्रह गरे।
‘अब कम्तीमा पनि हामी व्यवसायीले बैंकमार्फत लिएको ऋण तीन वर्षको लागि नवीकरण गरिदिनुपर्यो। इन्स्योरेन्समार्फत पनि बिनाझमेला सहायताको प्रबन्ध मिलाइदिनुपर्यो। यो मागहरु हजुरहरुले राष्ट्र बैंकको गुनासो शाखामा पनि भनिदिनुपर्यो। यदि यो संकटको समयमा सरकार र बैंकहरुले सहयोग गर्नुभयो भने हामी फेरि उठ्छौँ। हामीले निजी क्षेत्रको छुट्टै कोष बनाएर बाढीपीडित व्यवसायीको सहायताको लागि मिलेर अगाडि बढ्नुपर्छ जस्तो लागेको छ’ उनले भने।
त्यसैगरी अर्का व्यवसायीले निजी क्षेत्रका व्यवसायीको समस्या सरकारसम्म पुर्याउन नेपाल उद्योग वाणिज्य महासंघमार्फत पहल गर्न आग्रह गरे। उनले लामो समय विदेशमा काम गरे कमाएको सबै सम्पत्ति व्यवसायमा लगाएको उल्लेख गर्दै बाढीपछि आफूसँग व्यवसाय सञ्चालन गर्ने आधारसमेत नरहेको बताए। उनले बाढीपीडितका लागि सरकारले बनाउने दीर्घकालीन नीतिसँगै तत्काल पुनरुत्थानको कार्यक्रम ल्याउनुपर्ने बताए।
‘लामो समयसम्म विदेशमा दुःख गरेर कमाएको पैसाले स्वदेशमै केही गरौँ भने सानो व्यवसाय सुरु गरेको थिएँ। व्यवसाय विस्तारै उठ्दै थियो। यही समयमा बाढी आइदियो। राज्यले हामी व्यवसायीको लागि दीर्घकालीन रुपमा कस्तो नीति बनाउँछ त्यो त हेर्दै गरौँला। तर तत्काल हामीसँग केही पनि छैन। ठूलो मर्कामा परेका छौँ। अब हामीसँग त खेत, जमिन पनि रहेन। गर्दै आएको व्यवसाय गर्ने हो। यसको लागि राज्यको सहयोग चाहिन्छ’ उनले भने।

बाढीपीडित उद्योगी व्यवसायीहरुसँगको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष ढकालले बाढीबाट प्रभावित निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए।
उनले राजनीतिक दल, सरकार तथा निजी क्षेत्र सबै मिलेर बाढी प्रभावित नागरिकको खोज, उद्धार र राहतको समस्या समाधान गर्नुपर्ने बताए। उनले बाढी प्रभावित उद्योगी व्यवसायीहरुको साथमा महासंघ रहेको उल्लेख गर्दै पुनरुत्थानका लागि पहल गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे।
पूर्वअध्यक्ष ढकालले बाढीपीडित उद्योगी व्यवसायीको ऋण तथा बीमासम्बन्धी समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीसँग पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।
‘हामी जस्तोसुकै समस्यासँग पजि जुधेर माथि उठ्न सक्छौँ। बैंक तथा इन्स्योरेन्सका कुराहरुमा म तपाईंलाई के विश्वास दिलाउन चाहन्छु भने ग्लोबल आइएमई बैंकको तर्फबाट गर्नसक्ने म गरुँला। अनि नेपाल राष्ट्र बैंकका गभर्नरज्यू तथा अर्थमन्त्रीज्यूसँग उद्योगी व्यवसायीको ऋण र इन्स्योरेन्सको सम्बन्धमा केही सहायताको लागि पहल गर्ने विश्वास पनि दिलाउन चाहान्छु। तपाईंहरु एक्लै हुनुहुन्न। हामी सबै तपाईंको साथमा छौँ’ उनले भने।