काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व बैंकका देशीय अर्थशास्त्री अब्दुल गानिउ मिजियावाबीच भेववार्ता भएको छ।
महासंघ सचिवालय टेकुमा भएको भेटवार्तामा पछिल्लो समय रसुवामा आएको विनाशकारी बाढीबाट भएको क्षति, निजी क्षेत्रले भोग्नुपरेका समस्या तथा यसले नेपालको समग्र अर्थतन्त्रमा पार्न सक्ने प्रभावका विषयमा कुराकानी भएको थियो।
भेटमा अध्यक्ष श्रेष्ठले बाढीलाई केवल प्राकृतिक विपद्का रूपमा मात्र नहेरी यसले नेपालको आर्थिक गतिविधिमा पार्न सक्ने व्यापक प्रभावलाई समेत ध्यान दिनुपर्ने बताए।
सरकारको प्रारम्भिक मूल्यांकनअनुसार बाढीबाट करिब ३८७.५ अर्ब रुपैयाँबराबरको आर्थिक क्षति तथा नोक्सानी भएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले पूर्ण क्षतिको विवरण अझै संकलन तथा मूल्यांकनको क्रममा रहेको जानकारी दिए।
'स्थानीय उद्योग वाािण्ज्य संघहरुको सहयोगमा क्षतिको विवरण संकलन गरिरहेका छौं। तर बाढिबाट सिंगो शहर वस्तिहरु बगेको अवस्थामा यथार्थ विवरण संकलनमा समस्या परिरहको छ' उनले भने।
विश्व बैंकका देशीय अर्थशास्त्री अब्दुल गानिउ मिजियावाले बाढीबाट निजी क्षेत्रमा परेको वास्तविक क्षति, उद्योग-व्यवसाय सञ्चालनमा आएको अवरोध, आपूर्ति शृङ्खला, यातायात तथा व्यापारमा परेको असरका साथै उद्योग, पर्यटन र साना तथा मझौला उद्यममा परेको प्रभावबारे जानकारी लिएका थिए।
उनले बाढीबाट भएको क्षतिको यथार्थ विवरण, व्यवसायिक क्षेत्रमा परेको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव र पुनःस्थापनाको अवस्थाबारे थप तथ्य तथा विवरण आवश्यक रहेको उल्लेख गर्दै प्राप्त हुने क्षतिको विस्तृत विवरण र त्यसले आर्थिक गतिविधिमा पारेको प्रभावको विश्लेषणपछि मात्रै बाढीले नेपालको आर्थिक वृद्धिमा पार्ने समग्र असरबारे स्पष्ट निष्कर्षमा पुग्न सकिने उनको धारणा थियो।
छलफलका क्रममा विश्व बैंकका प्रतिनिधिहरूले विपद्का कारण निजी क्षेत्र तथा आम नागरिकले भोग्नुपरेको कठिनाइप्रति सहानुभूति व्यक्त गर्दै प्रभावित व्यवसाय तथा समुदायको पुनःस्थापना र आर्थिक गतिविधिको पुनरुत्थानका लागि आवश्यक सहयोग र सहकार्यका विषयमा समेत चासो व्यक्त गरेका थिए।
अध्यक्ष श्रेष्ठले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका क्षेत्रमा ठूलो क्षति भएको तथा जलविद्युत् आयोजना, प्रसारण पूर्वाधार, सडक, पुल, घर तथा व्यवसायिक सम्पत्तिमा गम्भीर असर परेको जानकारी दिए। उनले निजी क्षेत्रका लागि भौतिक संरचनाको क्षतिसँगै आपूर्ति शृङ्खला, यातायात, विद्युत्, बजार पहुँच तथा व्यापारमा आएको अवरोध ठूलो चुनौती बनेको बताए।
विशेषगरी रसुवागढी व्यापारिक करिडोरमा आएको अवरोधले चीनसँगको व्यापार तथा देशभरको आपूर्ति व्यवस्थामा असर पार्न सक्ने अध्यक्ष श्रेष्ठले बताए। यसबाट प्रभावित क्षेत्रबाहिर रहेका आयातकर्ता, व्यापारी, ढुवानी व्यवसायी तथा उपभोक्ता समेत प्रभावित हुन सक्ने उनले उल्लेख गरे।
साथै सो अवसरमा नेपाल विकास अपडेट-२०२६ का विषयमा छलफल भएको थियो। विश्व बैंकका प्रतिनिधिहरूले निजी क्षेत्रको अनुभव र प्रत्यक्ष तथ्यांक नेपाल विकास अपडेटका लागि महत्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा पनि व्यवसायिक क्षेत्रबाट प्राप्त विवरण र सुझावलाई अध्ययनमा समेट्ने बताएका थिए।
अध्यक्ष श्रेष्ठले नेपाल विकास अपडेट-२०२६ मा बाढीबाट भएको भौतिक क्षतिसँगै उत्पादन, रोजगारी, आम्दानी, व्यापार, लगानी, ऋण तथा निजी क्षेत्रको व्यावसायिक मनोबलमा परेको प्रभावलाई समेत अध्ययन गर्न आग्रह गरेका थिए।