बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकोशी बाढीले सडक बगाएपछि गत्लाङका किसानलाई बजारको चिन्ता

मंगलबार, भदौ २३ २०८३
भोटेकोशी बाढीले सडक बगाएपछि गत्लाङका किसानलाई बजारको चिन्ता

'बन्दागोभी बेच्न नपाए हातमुख जोड्न गाह्रो छ। बाटो निर्माणतर्फ सरकारको ध्यान जाओस्', किसान भन्छन्।

रसुवा- रसुवामा गएको बाढीले सडक सञ्जाल बगाएपछि गत्लाङका किसान चिन्तित भएका छन्।

तरकारीको व्यावसायिक खती गर्दै आएका आमाछोदिङमो गाउँपालिका-३ गत्लाङका करिब ५०० घरधुरीका किसानलाई सडक सञ्जालको अभावमा तयार हुन लागेको बन्दागोभी बेच्न नपाइएला कि भन्ने चिन्ताले सताएको अग्रज कृषक मार लामाले जानकारी दिए।

उनका अनुसार नमूना बस्तीका रूपमा परिचित गत्लाङमा गतवर्ष १ हजार ६५० ट्रक बन्दागोभी बिक्री भएकामा यस वर्ष बढी २ हजार १०० टन उत्पादन अनुमान गरिएको छ।

बन्दागोभी उत्पादनका लागि प्रख्यात सो तामाङ बस्तीको आयआर्जनको स्रोत तरकारी खेती रहेको बताउँदै उनले भने, 'अबको १५-२० दिनभित्र फसल तयार हुन्छ। त्यो बेलासम्म बाटो तयार हुँदैन कि भन्ने चिन्तामा छौँ। बन्दागोभी बेच्न नपाए हातमुख जोड्न गाह्रो छ। बाटो निर्माणतर्फ सरकारको ध्यान जाओस्।'

सो गाउँपालिकाका उपाध्यक्ष चण्डीका तामाङले प्रकृतिले ठगेको रसुवा जिल्लाको उर्वर भूमि गत्लाङमा यस वर्ष बन्दागोभी खेती लोभलाग्दो रहेको बताउँदै बाटो अभावका कारण समयमै फसल बजारसम्म पुर्‍याउन नसक्दा भौके बस्न पर्ने हो कि भन्ने चिन्ता व्यक्त गरिन्।

उनले खाद्यन्न मात्र नभइ नुन-तेल, मरमसला, शिक्षा-स्वास्थ्य, बैंक कर्जालगायत सम्पूर्ण आर्थिक कारोबारको स्रोत रहेको गत्लाङको बन्दागोभी बिकेन भने बाढीसँगै अर्काे विपत्तिको सामना गर्नुपर्ने अवस्था रहेको बताइन्। रासस


प्रकाशित : मंगलबार, भदौ २३ २०८३१८:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend