बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बाढीपहिरोले अवरुद्ध राजमार्ग : हवाईयात्रुको चाप बढेसँगै उडान संख्या थप, भाडामा पनि वृद्धि

मंगलबार, भदौ २३ २०८३
बाढीपहिरोले अवरुद्ध राजमार्ग : हवाईयात्रुको चाप बढेसँगै उडान संख्या थप, भाडामा पनि वृद्धि

राजमार्ग अवरुद्ध भएर पर्यटक बसलगायतका सार्वजनिक सवारीसाधन आवागमनमा प्रभावित भइरहेका बेला हवाई यात्रुको चाप बढेको छ।

काठमाडौं- कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या परेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण तल्लो भाग कटान हुँदा भदौ १३ गतेदेखि पृथ्वी राजमार्ग बन्द भएको छ।

राजमार्ग अवरुद्ध भएर पर्यटक बसलगायतका सार्वजनिक सवारीसाधन आवागमनमा प्रभावित भइरहेका बेला हवाई यात्रुको चाप बढेको छ। कृष्णभीरमा सडक अवरुद्ध भएपछि चितवनबाट मकवानपुर हुँदै काठमाडौं आउने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ। तर वर्षायाममा सडकको अवस्था असहज रहेकाले यात्रुले हवाई यात्रालाई प्राथमिकता दिने गरेका छन्।

पृथ्वी राजमार्ग बन्द हुँदा चितवनको भरतपुर र कास्कीको पोखरा विमानस्थलबाट हवाई यात्रुको चाप बढेको छ। काठमाडौंबाट पोखराका लागि दैनिक ६ उडान भर्दै आएको यती एयरलाइन्सले पृथ्वी राजमार्ग अवरुद्ध भएर यात्रुको चाप बढेसँगै दैनिक उडान सङ्ख्या थप गरेको छ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला कृष्णभीरको पहिरोका कारण बाटो अवरुद्ध हुँदा अधिकाशं यात्रुको रोजाइ हवाइजहाज भएको बताउँछन्। 'भोटेकोशी बाढी अगाडिको तुलनामा त्यसपछिको दिनमा हवाइजहाजमार्फत काठमाडौंबाट पोखरा जाने यात्रुको सङ्ख्यामा ५० प्रतिशत बढेको छ', प्रवक्ता बर्तौला भन्छन्।

यती एयरलाइन्सले बाढी अगाडि दैनिक पोखरा ६ उडान भर्दै आएकोमा त्यसपछि भने उडानको सङ्ख्या दैनिक १० बनाएको प्रवक्ता बर्तौला बताउँछन्। बाढीपछि समग्ररुपमा हवाइको भाडा ४० प्रतिशत बढेको एरलाइन्स कम्पनीहरुले जनाएका छन्। हवाइजहाजमार्फत चितवनको भरतपुरबाट काठमाडौं आउने तथा काठमाडौंबाट भरतपुर जाने यात्रुको सङ्ख्यासमेत बढेको छ। भरतपुरबाट काठमाडौंका लागि बुद्ध एयरका जहाज सञ्चालन हुँदै आएका छन्।

बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा दैनिक पाँच उडान हुँदै आएकोमा सडक असहज बनेसँगै उडान सङ्ख्या दोब्बर बनाइएको छ। हाल काठमाडौंबाट भरतपुर दैनिक ९ देखि ११ उडान हुँदै आएका छन्।

भरतपुरमा चितवनसहित नवलपरासी, गोरखा, तनहुँ, लमजुङ र मकवानपुरबाट समेत यात्रु आउने गरेका छन्। बाढीले क्षति पुर्‍याएको कृष्णभीर सडकखण्डमा भने नयाँ ट्रयाक खोल्ने काम तीव्र गतिमा भइरहेको छ।

मलेखु-मुग्लिङ सडकखण्डका सहायक आवासीय इन्जिनियर अशोक देवकोटा दिनरात नभनी नयाँ ट्रयाक खन्ने काम भइरहेको बताउँछन्। 'हामीले दिनरात नभनी नयाँ बाटो खोल्ने काम गरिरहेका छौँ, नयाँ बाटो चाँडै नै सञ्चालनमा ल्याउने तयारी छ', उनी भन्छन्।

उक्त राजमार्ग नखुल्दा यात्रुले चितवन, हेटौँडा हुँदै दक्षिणकालीको वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको छ। नियमित मार्ग सञ्चालनमा नआउँदा यात्रुले लामो यात्रा, बढेको भाडा र वैकल्पिक मार्गको जोखिम र थप सास्ती खेप्नुपरेको छ। रासस


प्रकाशित : मंगलबार, भदौ २३ २०८३१७:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend