काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सर्वोत्तम सिमेन्ट तथा जगदम्बा सिमेन्टले संयुक्त रूपमा आर्थिक सहयोग गरेका छन्। प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बाढी प्रभावितका लागि १ करोड ११ लाख ११ हजार रूपैयाँ जम्मा गरिएको हो।
कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपाने, सञ्चालक टिकाराम न्यौपाने, पूर्व-सञ्चालक विमलकुमार सावर्थिया, पूर्व-सञ्चालक तेन्जिन लाक्देन, प्रमुख सञ्चालक अधिकृत नवीन प्रकाश अधिकारी तथा कम्पनी सचिव कमलकुमार भारतीले उक्त सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। यस राष्ट्रिय विपद्को कठिन समयमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले संयुक्तरूपमा सहयोग गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उपलब्ध हुने यस रकमले बाढी प्रभावित परिवारहरूको तत्कालीन राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासमा योगदान पुर्याउने कम्पनीको विश्वास छ।