बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

कृष्णभीरको अवरोधले लमजुङ-काठमाडौं यात्रा प्रभावित, समय र खर्चमा वृद्धि

मंगलबार, भदौ २३ २०८३
कृष्णभीरको अवरोधले लमजुङ-काठमाडौं यात्रा प्रभावित, समय र खर्चमा वृद्धि

नियमित मार्ग सञ्चालनमा नआएसम्म लामो यात्रा, बढेको भाडा र वैकल्पिक मार्गको जोखिमका कारण यात्रुले थप सास्ती खेप्नुपर्ने अवस्था छ।

लमजुङ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ-काठमाडौं यात्रा प्रभावित भएको छ।

नियमित मार्ग अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौं जाने सवारीसाधन वैकल्पिक बाटोबाट सञ्चालन भइरहेका छन्। यसअघि करिब पाँच-छ घण्टामा पूरा हुने यात्रा अहिले १२-१३ घण्टासम्म लाग्ने गरेको छ भने यात्रुको खर्चसमेत बढेको छ।

भदौ १४ गते कृष्णभीरमा सडक भासिएपछि बेँसीसहरबाट काठमाडौं चल्ने माइक्रोबस तथा ठूला बस चितवन, हेटौँडा हुँदै दक्षिणकालीको वैकल्पिक मार्गबाट सञ्चालन भइरहेका छन्। 

लामो र घुमाउरो बाटोका कारण यात्रुको समय र खर्च बढ्नुका साथै सवारीसाधन तथा यात्रुको सङ्ख्या घटेको छ।

बेँसीसहर-काठमाडौं माइक्रोबसका चालक मुस्कान राईका अनुसार वैकल्पिक मार्गबाट काठमाडौं पुग्न पहिलेभन्दा धेरै समय लाग्ने गरेको छ। 'बाटो लामो भएकाले समय पनि धेरै लाग्छ', उनले भने।

बेँसीसहर माइक्रो काउन्टरका अनुसार सडक अवरुद्ध हुनुअघि दैनिक ४०-५० वटा माइक्रोबस काठमाडौं जाने गरेकामा अहिले पाँच-सात वटामात्र सञ्चालनमा छन्। यात्रु पनि अत्यावश्यक काम परेका मात्रै जाने गरेका छन्।

सडक अवरुद्ध हुनुअघि डिजेल माइक्रोबसको भाडा ९ सय रूपैयाँ र विद्युतीय माइक्रोबसको ७ सय रूपैयाँ रहेकामा अहिले क्रमशः २ हजार र १ हजार ५ सय रूपैयाँ पुगेको छ। यात्रु तथा सवारीसाधन घटेसँगै चालक तथा व्यवसायीको आम्दानीमा असर परेको छ।

ठूला बसमा पनि यात्रुको सङ्ख्या घटेको छ। पृथ्वी राजमार्ग बस काउन्टरका अनुसार यसअघि बेँसीसहरबाट काठमाडौं दैनिक पाँच-छ वटा ठूला बस छुट्ने गरेकामा अहिले एउटा बसमात्र जाने गरेको छ। वैकल्पिक मार्गअनुसार भाडा फरक पर्ने भएकाले हाल निश्चित भाडा तोकिएको छैन। 

यसअघि सवारीसाधन अनुसार ९ सय रूपैयाँदेखि १ हजार २ सय रूपैयाँसम्म रहेको भाडा अहिले दुई गुणाभन्दा बढी रहेको छ।

सडक अवरोधको असर उपचारका लागि ‘रेफर’ हुने बिरामीको यात्रामा परेको छ। लमजुङ अस्पतालका सूचना अधिकारी अनिल रेग्मीका अनुसार अस्पतालमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं, चितवन र पोखरा रेफर गर्ने गरिएको छ।

काठमाडौं लैजानुपर्ने केही बिरामीलाई एम्बुलेन्समै घुमाउरो बाटोबाट लैजानुपरेको छ भने कतिपयलाई पोखरासम्म एम्बुलेन्समा पुर्‍याएर त्यहाँबाट हेलिकप्टरमार्फत लैजानुपर्ने अवस्था रहेको उनले बताए।

यसले बिरामी र आफन्तलाई झन्झटसँगै उपचार खर्चसमेत बढाएको उनको भनाइ छ। बेँसीसहरकी प्रकृति श्रेष्ठले वैकल्पिक मार्गबाट यात्रा गर्दा समय र खर्च दुवै बढेको बताइन्। उनी भदौ २० गते शनिबार काठमाडौंस्थित काम सकेर बेँसीसहर फर्किएकी थिइन्। काठमाडौं जाँदा माइक्रोमा ९ सय रूपैयाँ तिरेकी उनले फर्किँदा २ हजार रूपैयाँ भाडा तिर्नुपरेको बताइन्। 

'वैकल्पिक बाटो निकै लामो र थकाइलाग्दो रहेछ। वर्षाका कारण बाटो चिप्लो हुने र ठाउँठाउँमा पहिरोको जोखिमसमेत रहेकाले डर लाग्छ', उनले भनिन्।

नियमित मार्ग सञ्चालनमा नआएसम्म लामो यात्रा, बढेको भाडा र वैकल्पिक मार्गको जोखिमका कारण यात्रुले थप सास्ती खेप्नुपर्ने अवस्था छ। रासस


प्रकाशित : मंगलबार, भदौ २३ २०८३१०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend