बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

मुस्ताङमा सबै प्रजातिका स्याउ टिपाइ खुल्ला गरिएसँगै खरिदका लागि किसानको बगैँचामा व्यापारी

सोमबार, भदौ २२ २०८३
मुस्ताङमा सबै प्रजातिका स्याउ टिपाइ खुल्ला गरिएसँगै खरिदका लागि किसानको बगैँचामा व्यापारी

मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिपाइ गर्न पाइने नियम खुल्ला भएसँगै मुस्ताङका स्याउ बगैँचामा धमाधम स्याउ टिपाइ गरी हार्भेस्टको काम भइरहेको छ।

मुस्ताङ- मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न  खुल्ला गरिएको छ। गत भदौ ८ गतेको जिल्लास्तरीय निर्णयअनुसार आजदेखि ढिलो पाक्ने स्याउ उत्पादनको पोस्ट हार्भेस्ट खुल्ला गरिएको हो।

यसअघि मुस्ताङमा छिटो पाक्ने स्याउ भदौ १५ गतेदेखि टिपाइ गर्न पाइने निर्णय भएको थियो। आजदेखि ढिलो पाक्ने स्याउको बगैँचामा टिपाइ गर्न पाइने गरी खुल्ला गरिएको छ। मुस्ताङमा उत्पादन हुने स्याउमध्ये गाला, फुजी र साउने स्याउ छिटो पाक्ने प्रजातिअन्तर्गत पर्छन्। अन्य जातका स्याउ केही ढिलो पाक्ने सूचीअन्तर्गत पर्दछन्।

मुस्ताङी स्याउको ‘ब्रान्ड’लाई जोगाइराख्न जिल्लास्तरबाट स्याउ टिप्ने पाइने कार्यतालिका सार्वजनिक गरिएको हो। 

जिल्ला समन्वय समिति, मुस्ताङको अगुवाइमा सराकोरवाला कार्यालय र मुस्ताङका अगुवा कृषकहरु सम्मिलित जिल्लास्तरीय बैठकले छिटो पाक्ने स्याउ र ढिलो पाक्ने स्याउको टिपाइ गर्न पाइने समय कार्यतालिका निश्चित गरेका छन्। 

समिति प्रमुख माया गुरुङले आजदेखि मुस्ताङका सबै प्रजातिका स्याउ टिपाइ गर्न खुल्ला भएको जानकारी दिए। स्याउको गुणस्तर खस्किन नदिन, उत्पादन वृद्धि गर्न र स्याउमा पर्याप्त मात्रामा गुलियोपना कायम होस् भन्ने अभिप्रायले मुस्ताङमा जिल्लास्तरीय निर्णय गरी स्याउ टिप्ने कार्यतालिका बनाइएको हो।

मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिपाइ गर्न पाइने नियम खुल्ला भएसँगै मुस्ताङका स्याउ बगैँचामा धमाधम स्याउ टिपाइ गरी हार्भेस्टको काम भइरहेको छ। 

एक साताअघि मुस्ताङ आएका धादिङका स्याउ व्यापारी उर्चा तामाङले स्याउ टिपाइ खुल्ला भएका कारण आफूहरु मुस्ताङ आएको बताए। विगत तीन दशकदेखि स्याउको व्यापार गर्दै आइरहेका व्यापारी तामाङले मुस्ताङबाट एक करोड मूल्य बराबरको स्याउ बजार पठाउने तयारी गरेको बताए। 

व्यापारी तामाङजस्तै जिल्लाभित्र र बाहिरका दर्जनौँ सङ्ख्यामा व्यापारी स्याउ खरिद गर्न किसानको बगैँचामा पुगिसकेका छन्। यस वर्ष कोरला नाकाबाट पनि चिनियाँ स्याउ भित्रिने सूचनाले स्याउ बिक्री नहुने पो हो कि भन्ने चिन्ता बढेको स्याउ व्यापारी तामाङले बताए।

मुस्ताङमा गतवर्ष १ अर्ब १० करोड २३ लाख ७० हजार रूपैयाँको स्याउ उत्पादन भएको थियो। जसमध्ये ९० प्रतिशत स्याउ जिल्ला बाहिर निकासी हुँदा ९९ करोड रूपैयाँ जिल्लामा भित्रिएको थियो।

कृषि तथा पशु विकास कार्यालयको गत वर्षको तथ्यांकअनुसार मुस्ताङका पाँच स्थानीय तहमा कुल ८९९ दशमलव १६ हेक्टरमा स्याउ खेती विस्तार भएको छ।

कार्यालय प्रमुख डा. लालमणि अर्यालयका अनुसार स्याउ विस्तार भएको क्षेत्रफलमध्ये ८३७ हेक्टर क्षेत्रफल स्थानीय र ६२ हेक्टर क्षेत्रफलमा उच्च घनत्वको (हाइब्रिड) स्याउ खेती गरिएको छ।

यसैगरी, मुस्ताङमा गरिएको स्याउ खेतीमध्ये ६२७ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटमा उत्पादन हुने गरेको छ। प्रमुख डा अर्यालयका अनुसार मुस्ताङमा ५७२ हेक्टरमा स्थानीय र ५५ हेक्टर क्षेत्रफलमा लगाइएको बोटले उत्पादन दिने गरेको छ। रासस


प्रकाशित : सोमबार, भदौ २२ २०८३१८:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend