काठमाडौं- नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थालाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा राहत वितरण तथा उद्धार कार्यलाई सहयोग पुग्ने गरी भोलि मंगलबारको बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज सूचना जारी गर्दै हालैका दिनमा प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा सहजता ल्याउन आवश्यक बैंकिङ सेवा सञ्चालनको व्यवस्था गर्न अनुरोध गरेको हो।
'रसुवालगायतका जिल्लामा आएको प्राकृतिक विपद्बाट प्रभावितहरुलाई राहत वितरण तथा उद्धार कार्यमा सघाउ पुर्याउने प्रयोजनका लागि मिति २०८३/०५/२३ मा अत्यावश्यक बैंकिङ सेवा जारी हुने व्यवस्था गरी सोको जानकारी उपयुक्त माध्यमबाट सरोकारवालाहरुलाई गराउन' भन्दै राष्ट्र बैंकले सूचना जारी गरेको छ।
सूचनाअनुसार प्रभावित क्षेत्रका सर्वसाधारणलाई वित्तीय सेवा पहुँचमा समस्या नहोस् र राहत तथा उद्धारसम्बन्धी कार्य प्रभावकारी रूपमा अघि बढोस् भन्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थालाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको हो।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई उपयुक्त माध्यमबाट सेवाग्राहीलाई जानकारी गराइ आवश्यक बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ।