बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

धनकुटामा १५१ उद्योग बन्द हुँदा १४८ नयाँ दर्ता

सोमबार, भदौ २२ २०८३
धनकुटामा १५१ उद्योग बन्द हुँदा १४८ नयाँ दर्ता

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योग बन्द हुनेको सङ्ख्या भने झन्डै दोब्बरले घटेको छ। उद्योग दर्ता हुनेको सङ्ख्या भने बढेको छ।

धनकुटा- धनकुटा जिल्लामा पुराना उद्योग बन्द गर्ने र नयाँ उद्योग स्थापना गर्नेहरुको सङ्ख्या घट्दै गएको छ। गतवर्ष १५१ उद्योग बन्द भएका छन् भने १४८ नयाँ उद्योग दर्ता भएका छन्। 

नव युवामा उत्साह र अनुदान लगायतका सेवा पाइने भएकाले उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख माधव बाँस्कोटाले बताए। प्रक्रिया र मापदण्डअनुसार मात्रै छनोट गरी अनुदान वितरण गर्ने गरेकाले अनुदान नपाउने व्यवसायीले उद्योग बन्द गर्ने गरेको उनले बताए।

गत आर्थिक वर्ष २०८२/८३ मा धनकुटामा १५१ उद्योग बन्द भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको तथ्यांकअनुसार जिल्लामा उद्योग बन्द हुनेको सङ्ख्या यस्तो पाइएको हो। जिल्लामा गत आर्थिक वर्षमा १२३ उद्योग बन्द भएका छन्। वाणिज्यतर्फ २८ उद्योग बन्द भएका छन्। गत आर्थिक वर्षमा घरेलु तथा साना उद्योग कार्यालय धनकुटामा १४८ वटा नयाँ उद्योग दर्ता भएका छन्।

जसमा वाणिज्यतर्फ ३७ र प्रशासनतर्फ १११ उद्योग नयाँ दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी अर्जुन गिरीले जानकारी दिए। उनका अनुसार उत्पादकमूलक १५, कृषि तथा वनजन्य ५२, पर्यटन १७, सेवामूलक २२ र सूचना प्रविधिका पाँच गरी १११ वटा नयाँ उद्योग दर्ता भएका हुन्। 

वाणिज्यतर्फ खाद्यान्न र किराना गरी ३७ वटा नयाँ उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका अनुसार प्रशासनतर्फ ५१६, र वाणिज्यतर्फ २४८ गरी जम्मा ७६४ उद्योग नवीकरण भएका छन्। कार्यालयमा हालसम्म चार हजार २९३ उद्योग दर्ता रहेका छन्। कार्यालयमा १ करोड ८५५ पुँजी वृद्धि भएको छ भने ३५ लाख १७ हजार ३९९ रूपैयाँ कर जम्मा भएको कार्यालयले जनाएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योग दर्ता हुनेको सङ्ख्या भने बढेको छ। अघिल्लो आर्थिक वर्षमा १३४ वटा नयाँ उद्योग दर्ता भएका थिए भने गत आर्थिक वर्षमा १४८ वटा नयाँ उद्योग दर्ता भएका छन्।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योग बन्द हुनेको सङ्ख्या भने झन्डै दोब्बरले घटेको छ। अघिल्लो आर्थिक वर्ष धनकुटामा ३३६ उद्योग बन्द भएका थिए भने गत आर्थिक वर्षमा १५१ वटा मात्रै उद्योग बन्द भएका छन्। रासस


प्रकाशित : सोमबार, भदौ २२ २०८३१२:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend