बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

रसुवागढी नाकामै देखिन्छ चिनियाँ प्राथमिकता, अब के होला?

सोमबार, भदौ २२ २०८३
रसुवागढी नाकामै देखिन्छ चिनियाँ प्राथमिकता, अब के होला?
एआई निर्मित सांकेतिक तस्बिर।

पहिरोपछि रसुवागढी नाका आसपासको प्राकृतिक जोखिमको विस्तृत मूल्यांकन गरिने चिनियाँ पक्षको भनाइ छ। त्यसपछि नाकाका सेवा पुनः सञ्चालन गर्ने विषयमा अध्ययन गरिने छ।

काठमाडौं- भोटेकोशीको विनाशकारी बाढीसँगै चीनसँगको व्यापारिक नाका केरुङ-रसुवागढीको भविष्यमाथि प्रश्न उठिरहेको छ। पछिल्लो दुई वर्षमा बाढीको प्रहार खेपेको यो नाकाका बारेमा नेपालमा प्रश्न रहेपनि चीन भने यही नाकालाई प्राथमिकता दिने पक्षमा रहेको देखिन्छ। 

२०७२ को भूकम्पसँगै तातोपानी नाकालाई सीमित पार्दै चीनिले केरुङ-रसुवागढी नकालाई प्राथमिकता दिँदै आएको छ। नेपालतिरको भूगोल कठिन हुनुका साथै पूर्वाधार पनि अनुकूल नहुँदा नहुँदै चीनले भने यही नाकालाई किन प्राथमिकता दिइरहेको छ भनेर नेपाली अधिकारीहरुले जवाफ पाएका छैनन्। 

यही विषयमा एक चिनियाँ अधिकारीले सार्वजनिकरूपमा उक्त नाका चीनको प्राथमिकतामा पर्नुको कारण बताएका छन्।

चिनियाँ सञ्चामाध्यम ग्लोबल टाइम्सले लेखको समाचारअनुसार तिब्बतको सिगात्से सहरका कार्यवाहक मेयर नोर्बु छेरिङले आइतबार आयोजित पत्रकार सम्मेलनमा केरुङ उपत्यका प्राचीनकालदेखि नै चीन र नेपालबीच व्यापार तथा सांस्कृतिक आदानप्रदानको मार्ग रहेको बताए। 

उनका अनुसार भूगोल, यातायातको पहुँच र नेपालसँग सीमा जोडिने अवस्थाका कारण केरुङ हिमालयपार गर्ने प्रमुख स्थलमार्गका रूपमा विकास भएको हो। ताङ (६१८-९०७) र छिङ (१६४४-१९११) राजवंशकालका अभिलेखहरूले पनि तिब्बत र नेपालको सीमावर्ती समुदायबीच यही मार्गबाट आवतजावत हुने गरेको देखाउने उनले बताएका छन्। 

यही मार्ग हुँदै तिब्बत र नेपालबीच मानिस, वस्तु र सन्देशको आवतजावत हुने गरेको पाइन्छ। सन् १९४९ पछि तिब्बतमा चीनको नियन्त्रण स्थापित भएपछि नाकाको भूमिका थप कमजोर भयो। सन् १९५६ को नेपाल-चीन सन्धिपछि पुराना नेपाल-तिब्बत सन्धि खारेज भएपछि यो नाका निष्क्रिय रहेको थियो। 

चीनले सन् १९६१ मा केरुङ प्रवेशद्वार र भन्सार स्थापना गरेको थियो। त्यसपछि सडक र सीमा पूर्वाधार विस्तार भए पनि सन् २०१४ मा केरुङ मार्ग खोलिएको थियो। तातोपानी नाका बन्द भएपछि नै यसलाई खोलिएको थियो। सन् २०१७ देखि भने तेस्रो मुलुकका नागरिकलाई समेत यो नाका प्रयोग गर्न दिन थालिएको थियो। 

नोर्बु छेरिङले पहिरोपछि नाका आसपासको प्राकृतिक जोखिमको विस्तृत मूल्यांकन गरिने बताएका छन्। त्यसपछि नाकाका सेवा पुनः सञ्चालन गर्ने विषयमा अध्ययन गरिने उनको भनाइ छ।

अब के होला?

नेपाल र चीनबीच परम्परागत स्थानीय सीमानाकाहरू १५ वटाभन्दा बढी रहे पनि ती सबै नियमति छैनन्। सीमा आसपासका बासिन्दाका लागिमात्र ती नाका खुल्ने र बन्द हुने भइरहन्छन्। रसुवागढी, तातोपानी, हिल्सा, कोरला, किमाथांंका, ओलाङचुङगोला जस्ता केही द्वीपक्षीय व्यापार नाकाहरूमा पनि विभिन्न समस्याहरु आइरहन्छन्। 

स्थानीय बासिन्दाका लागिमात्रै उपयोग भइरहेका नाकामध्ये यारी-पुराङ हुम्ला जिल्लाको हिल्सानजिकै रहेको नाका हो। यो नाका विशेष गरी मानसरोवर र कैलाश पर्वतको यात्रा गर्ने तीर्थयात्रीहरू र स्थानीय व्यापारका लागि महत्त्वपूर्ण मानिन्छ। त्यसबाहेक पूर्वाधारको अभावले ठूला व्यापार र ढुवानीका लागि यो नाका उपयुक्त छैन। 

अर्कोतर्फ ओलाङचुङगोला-रिउ नाकाले ताप्लेजुङलाई चीनको तिब्बत क्षेत्रसँग जोड्दछ। यो नाका सीमा आसपासका स्थानीयका लागि व्यापार र आवतजावतको मुख्य माध्यम हो। त्यसबाहेक यहाँ पनि आवश्यक ठूला पूर्वाधार छैनन्। 

यसैगरी किमाथांका सङ्खुवासभामा अवस्थित अर्को रणनीतिक व्यापारिक नाका हो। भौगोलिक रूपमा विकट भए पनि यो नाकालाई भविष्यमा नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय लिंकका रूपमा विकास गर्ने योजना रहेको छ। अहिलेका लागि भने यहाँबाट पनि ठूला व्यापारिक गतिविधि सम्भव देखिँदैन। 

पछिल्लो समय रसुवागढी नै नेपाल र चीनबीचको सबैभन्दा प्रमुख र व्यस्त व्यापारिक नाकामध्ये एक थियो। राजधानी काठमाडौंबाट नजिक रहेकाले यसलाई नेपाल-चीन व्यापारको ‘लाइफलाइन’ मानिन्छ। भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण यो नाकाका भौतिक संरचनाहरू र सडकखण्डमा ठूलो क्षति पुगेकोसँगै यो नाकाको भविष्यलाई लिएर प्रश्न उठिरहेको छ। 

सिन्धुपाल्चोकमा रहेको तातोपानी-खासा नाका पनि एक समय चलायमान थियो। ऐतिहासिक रूपमा यो नेपाल र चीन जोड्ने सबैभन्दा पुरानो र मुख्य व्यापारिक नाका हो। २०७२ को भूकम्पपछि लामो समय बन्द रहेको यो नाका पछि पुनः सञ्चालनमा आएको थियो। रसुवा क्षेत्रमा आएको बाढी-पहिरोको केही दिनमै चिनियाँ पक्षले सुरक्षा र मर्मतका कारण तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको जनाएको छ। 

त्यसबाहेक पछिल्लो समय मुस्ताङ कोरला नाकाबाट केही विद्युतीय सवारीसाधन र चिनियाँ सामानहरू आयात भइरहेको छ। रसुवागढी र तातोपानी दुवै नाकाहरू प्राकृतिक विपत्तिका कारण बन्द भएपछि चीनमा रोकिएका नेपाली नागरिक र सवारीसाधनहरूलाई मुस्ताङको कोरला नाकालाई वैकल्पिक प्रवेशद्वारको रूपमा प्रयोग गरी नेपाल भित्र्याउनसमेत थालिएको छ।

भोटेकोशी नदीमा गएको बाढीसँगै सडक-पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामन कोरला नाकाबाट ल्याइँदै छ।

हिमपहिरोसहित ल्हेन्दे खोला हुँदै भोटेकोशीमा गएको अकल्पनीय बाढीले रसुवागढीस्थित दुवैतर्फका सरकारी कार्यालयसहित सडकमार्ग बगाएपछि केरुङका गोदाममा रहेका ४ सय कन्टेनरभन्दा बढी सामन वैकल्पिक सडकमार्ग प्रयोग गरी ढुवानी गर्ने काम सुरु भइसकेको ‘मुसा ट्रान्सपोर्ट’ले जनाएको छ।

सो ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङका अनुसार भोटेकोशी नदीमा गएको बाढीले तहसनहस बगाएका रसुवागढीस्थित भौतिक संरचना र काठमाडौं जोड्ने सडकमार्ग तयार हुन समय लाग्ने देखिएपछि अब कोरला नाका प्रयोग गरी नेपालतर्फ सामन लैजाने काम धमाधम भइरहेको छ। उनको भनाइले पनि कोरला नाकामा रसुवागढीको सडक नबन्दासम्मका लागि चहलपहल थप बढेको देखिन्छ। 


प्रकाशित : सोमबार, भदौ २२ २०८३१२:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend