बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

कक्षा कोठामा हुनुपर्ने पाँच कक्षाका मनिष तीन दिनदेखि ग्यासको लाइनमा

सोमबार, भदौ २२ २०८३
कक्षा कोठामा हुनुपर्ने पाँच कक्षाका मनिष तीन दिनदेखि ग्यासको लाइनमा

घरमा आमाबुबा ज्यालामजदूरी र काममा जानैपर्ने बाध्यता। यदि कोही लाइनमा नबस्ने हो भने चार दिनको पर्खाइ बालुवामा पानी बन्ने खतरा छ।

काठमाडौं- यतिबेला मनिष बस्नेत कक्षा कोठामा हुनुपर्ने हो। तर ग्यासको खाली सिलिन्डर कुरेर सडकको लाममा नै बसिरहेका छन्। उनी शनिबार र आइतबार पनि यसैगरी लाइनमा बसे। ग्यास पाइएको छैन। 

कक्षा पाँचमा पढ्ने उनी काठमाडौंको एउटा साँघुरो गल्लीमा आज बिहानै पनि ग्यास पाइने आशमा लाइनमा लागिरहेका छन्। सडकको पेटीभरि सयौँ राता एलपीजी सिलिन्डरहरू फलामे सिक्री र ताल्चाले एकअर्कामा बाँधिएका छन्। मानौँ कुनै कैदीको लस्कर उभिएको होस्। त्यही लस्करको बीचमा छन् मनिष।

सामान्य दिन हुन्थ्यो भने यतिबेला मनिष विद्यालयको पोशाकमा सजिएर कक्षाकोठाको बेन्चमा साथीहरूसँग गणितका हिसाब जोड्दै वा नेपालीका कविता वाचन गर्दै हुन्थे। तर आज उनको दैनिकी कालोपाटीको अगाडि होइन, सडकमा लामवद्ध ग्यास सिलिन्डरको अगाडि सुरु भएको छ। कारण एउटै छ, घरको चुलो निभेको छ। त्यो चुलो बाल्ने एउटा सिलिन्डर पाउन मनिष गएको शनिबारदेखि सडकको यो अनन्त लाममा बस्न बाध्य छन्।

‘ग्यास छैन। ग्यास पाएन। ग्यास छैन भनेकाले स्कूल नि जान पाएन। एक दिनको छुट्टी लिएर यहाँ आएको छु। अब ग्यास आएन भने फेरि मेरो ग्यासको पछाडिको मान्छेले आफ्नो अगाडि लान्छन्। ग्यासको नि अभाव छ' मनिषले भने, ''शनिबारदेखि बसिरहेको। ग्यास आएको छैन। अब मंगलबारसम्म आउँछ बसिराख्नु भनेको छ।’

मनिषका यी शब्दहरू केवल एउटा बालकको गुनासो मात्र होइनन्। सिंगो राज्य संयन्त्र र नागरिकका आधारभूत आवश्यकता पूरा गर्न नसक्ने नेतृत्वमाथिको प्रश्न हो।

अहिले बालबालिकाले भविष्यको सपना देख्नुपर्ने हो, नयाँ ज्ञान सिक्नुपर्ने हो। तर मनिषले सानै उमेरमा सिकिसकेका छन्, ‘यदि आफ्नो सिलिन्डर नहेरी एकछिन अन्तै गइयो भने पछाडिको मान्छेले आफ्नो सिलिन्डर अगाडि तानिदिन्छ।’

gas (2).jpg

अभाव र असुरक्षाले एउटा कलिलो मनलाई पनि स्वार्थ र प्रतिष्पर्धाको कठोर नियम बुझ्न बाध्य बनाइदिएको छ। शनिबारदेखि सुरु भएको यो पर्खाइ सोमबारसम्म आइपुग्दा मनिषको सहनशीलताको परीक्षा लिइरहेको छ। आइतबार साँझसम्म पनि डिपोको सटर खुलेन। ‘भोलि बिहानै गाडी आउँछ’ भनिएपछि मनिषले आइतबार राति आफ्ना आमाबुबासँग सल्लाह गरे।

घरमा आमाबुबा ज्यालामजदूरी र काममा जानैपर्ने बाध्यता। यदि कोही लाइनमा नबस्ने हो भने चार दिनको पर्खाइ बालुवामा पानी बन्ने खतरा छ। अन्ततः मनिषले विद्यालयमा ‘एक दिनको बिदा’ लेखाउने निधो गरे। तर त्यो ‘एक दिनको बिदा’ अहिले अनिश्चित बनेको छ। एक दिनको बिदा अब चार दिनको गैरहाजिरीमा बदलिँदै छ।

gas (3).jpg

मनिषको कापीमा शिक्षकले दिएका प्रश्नहरू अनुत्तरित छन्, जस्तै अनुत्तरित छन् सरकारी मन्त्री र आयल निगमका हाकिमहरू जसले सिंहदरबारको वातानुकूलित कोठाबाट माइक फुक्दै भन्छन् ‘सबै सामान्य हुँदै छ, कोही लाइन बस्नु पर्दैन।’

सयौँ मिटरसम्म सिलिन्डरलाई सिक्री-ताल्चाले बाँधेर बालबालिकासमेत विद्यालय छाडेर पहरा दिन बाध्य छन्। ग्यास नपाउँदा बालबालिकाको पढाइ छुटिरहेको छ। आज पनि ग्यास आउला वा नआउला, त्यो यकिन छैन। केही थान ग्यासका सिलिन्डर आए पनि मनिषको यो खोसिएको सोमबार कहिल्यै फर्किने छैन। उनको मस्तिष्कमा कोरिएको यो अविश्वासको घाउ कुनै सरकारी वक्तव्यले पुछ्न सक्ने छैन। 


प्रकाशित : सोमबार, भदौ २२ २०८३११:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend