काठमाडौं- बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ। सो सेयर बाँडफाँटपछि कम्पनीले दोस्रो चरणअन्तर्गत सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत बराबर अर्थात २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
कुल निष्कासनमध्ये १० लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि तथा १ लाख ४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो। यी सेयर निष्कासन गरी बाँडफाँट भइसकेका छन्।
त्यस्तै, कम्पनीले कुल निष्कासनमध्ये २० हजार ८०० कित्ता सेयर कर्मचारीहरूका लागि तथा ५२ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरी बाँडफाँट गरिसकेको छ।
अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता साधारण सेयर निष्कासन गरेको छ। यसअनुसार कम्पनीले सर्वसाधारणबाट ८ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको पुँजी संकलन गर्नेछ।
लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन छिटोमा भदौ २५ गते बन्द हुनेछ भने सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा असोज ५ गतेसम्म बिक्री खुला रहनेछ।
आईपीओ निष्कासनका लागि गरिएको क्रेडिट रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड ५१ लाख ७५ हजार २७ रुपैयाँ २० पैसा रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ४७ लाख ५ हजार ८०९ रुपैयाँ ४५ पैसा रहेको कम्पनीले जनाएको छ।
आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि अझै २४ वर्ष बाँकी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ५.७८ वर्ष रहेको छ भने डिस्काउण्टेड लगानी फिर्ता हुने अवधि ८.१५ वर्ष रहेको छ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत समेत आईपीओमा आवेदन दिन सकिनेछ।